देशबाहिर रहेका लाखौँ युवाको भविष्य खोज्दैछु : प्रधानमन्त्री

विराटनगर, भदौ २५ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ ।

सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो सभामा मोर्चाका नेताहरूले जुन विषय राख्नुभएको छ, सरकारप्रति जुन समर्थन र प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यो आफैमा महत्त्वपूर्ण छ। यसले मलाई नयाँ ऊर्जा पैदा भएको छ ।’’

“यसपटक कुरा होइन, काम र एक्सनबाट केही नयाँ गर्न चाहन्छु । जनताका समस्या सम्बोधन गर्न सरकारले जुन मेहेनत गरेको छ, त्यसले हाम्रो इमानदार प्रयासलाई प्रमाणित गरिसकेको छ ।,’’ प्रधानमन्त्रीले भन्नुभयो, “आज देशमा क्रमशः जुन उत्साह पैदा भएको छ । यसले जनतामा भरोसा बढेको छ, देशमा केही हुन्छ भन्ने आशा जागेको छ । यसले निराशालाई चिर्नेछ, समाजवादको आधार तयार पार्न भूमिका खेल्नेछ ।’’

प्रधानमन्त्रीले भन्नुभयो, “यसपटक मेरो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौँ नेपाली युवाहरूप्रति छ । उनीहरूको भविष्यबारे नसोचीकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन । त्यसैले यसपटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसमा गम्भीरतापूर्वक लागेको छु । विदेशमा रहेका लाखौँ युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रक्रिया सुरु गरेका छौँ। केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई कोषमा आबद्ध गर्छौँ ।’’

“युवाहरू देशभित्रै केही गर्न चाहन्छन्, त्यसको वातावरण बनाउने जिम्मेवारी राज्यको हो ।,’’ प्रधानमन्त्रीले भन्नुभयो, “आजबाट विभिन्न १३ देशमा कार्यरत नेपाली राजदूत बोलाएर अन्तरक्रिया सुरु गरेको छु । विदेशमा रहेका नेपाली कामदारहरूका समस्या के छन् र कसरी सम्बोधन गर्ने भन्ने गम्भीर छलफल गर्छौँ ।’’

प्रधानमन्त्रीले भन्नुभयो, “सामाजिक न्याय, सुशासन र समृद्धिबाट नै समाजवादको आधार तयार पार्न सकिन्छ। यसबिचमा मिटरब्याज पीडित किसानलाई न्याय दिइएको छ । नागरिकताविहीन नागरिकले नागरिकता पाएका छन् । भ्रष्टाचार र बेथितिका विरुद्ध कठोर कदम चालिएको छ । भ्रष्टाचार र बेथितिमाथि प्रहार नगरी समाजवादको आधार तयार हुन सक्दैन। सरकार यसमा प्रस्ट छ र दृढतापूर्वक अगाडि बढ्छ ।’’

प्रदेशको नामाकरणबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिन्छ र गरिनुपर्दछ । एकथरि मान्छेहरू सामाजिक सद्भाव खलबल्याउने र जातीय द्वन्द्व भड्काएर परिवर्तनका उपलब्धि उल्टाउने बहाना खोजिरहेका छन् । त्यसमा हामी सतर्क रहनुपर्छ । परिवर्तनका पक्षमा लाखौँ जनतालाई सडकमा ल्याएर प्रतिगमनको हावाहुरी समाप्त पार्नुपर्छ ।’’

“पछिल्लो समय राजनीतिमा कुनै योगदान नभएको, देशप्रति कुनै चिन्ता र सरोकार नभएको, सबैभन्दा अराजक हावाहुरी देखिएको छ । जसले सबैभन्दा बढी गाली गर्न सक्यो, ऊ नै नेताजस्तो देखाइएको छ । अश्लील, अराजक, कुनै योगदान र दृष्टिकोण नभएको शक्ति र प्रवृत्तिले समाज विषाक्त पार्दैछन् । सामाजिक सञ्जालमा हेर्नै नसकिने दृश्य, सुन्नै नसकिने गाली देखिन्छ, समाजका सबैभन्दा खराब पात्र नै नेता बनाउन खोजिँदैछ, यो देशको भविष्यकै निम्ति गम्भीर कुरा हो । तसर्थ हामी सचेत हुनुपर्छ। देशमा असल संस्कार, असल राजनीति र निष्ठा स्थापित गर्ने जिम्मेवारी हाम्रो हो, अरूले गर्दैनन् र सक्दैनन् पनि’’ प्रधानमन्त्रीले भन्नुभयो ।

सन्देश सभामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतले सम्बोधन गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter