पर्यटन दिवसमा सडक महोत्सव हुने

फडिन्द्र अधिकारी / लेखनाथ, असोज ७ गते । यसपालिको विश्व पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् आगामी बुधबार मनाइँदैछ । दिवसको अवसरमा पर्यटकीय नगर पोखरामा मिनीसडक महोत्सव हुनेभएको छ ।

पोखराका पर्यटन सम्बद्ध सङ्घ, संस्थाको छाता सङ्गठन पोखरा पर्यटन परिषद्ले आइतबार पत्रकार सम्मेलनगरी महोत्सवसहित विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको जनाएको हो ।

गण्डकीको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्धन र पोखरा पर्यटन परिषद्को आयोजनामा ४४ औँ विश्व पर्यटन दिवस मनाउन लागिएको छ ।

रेवान पोखराले आयोजना गर्ने मिनी सडक महोत्सव बाराही चोकदेखि खहरे चोकसम्म साँझ ५ बजेबाट सुरु हुनेछ । परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले महोत्सवमा नेपाल र भारतका विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने बताउनुभयो ।

“पर्यटकलाई फूलमालाले स्वागत गरिने छ । सडकमै खाऔँ, सडकमै रमाऔँ उद्देश्यसाथ आयोजित यस कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटनलाई पोखरा भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने ठानेका छौँ ।”

दिवसको अघिल्लो दिन मंगलबार टान गण्डकीको आयोजनामा मार्गीदेखि पुम्दीकोटसम्म पदयात्रा आयोजना गरिनेभएको छ । पदयात्रामा व्यवसायी, पर्यटन तथा सञ्चारकर्मी सहभागी हुनेछन् ।

दिवसका दिन बुधबार बिहान नाट्टा गण्डकीको आयोजनामा वृक्षारोपण तथा रक्तदान कार्यक्रम हुने जनाइएको छ । सोही दिन पर्यटकीय सङ्घ, संस्थाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा पर्यटन बसपार्कमा पहिलो आउने पर्यटकलाई स्वागत सम्मान गर्ने तयारी गरिएको छ ।

कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तव, भारतीय टुर अपरेटरसमेत सहभागी हुने तय भएको छ । टुरिजम एन्ड ग्रिन इन्भेस्टमेन्ट भन्ने नाराका साथ २४ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । परिषद् अध्यक्ष श्रेष्ठले पृथ्वी राजमार्ग स्तरोन्नतिले सहज नहुँदा र आर्थिक सङ्कटसमेत रहेको अवस्था पिल्सिएको पर्यटन क्षेत्रलाई उकास्न यो दिवसले ऊर्जा थप्ने बताउनुभयो । परिषद्मा पर्यटनसम्बद्ध १४ संस्था आबद्ध छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter