नेपालमा मल कारखाना खोल्न भारतको चासो

काठमाडौँ , कार्तिक ०१ गते । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा मलेसियन कम्पनी रि–निकोला प्रा.लिले लगानी बोर्डसँग सम्झौता गरेसँगै भारतले पनि यसबारे चासो लिन थालेको छ । असोज १० गते बोर्ड र रि–निकोलाबीच सम्झौता भएको हो ।

यसैबिच भारतको रसायन तथा मल मन्त्रालयका प्रतिनिधि आएर नेपालका विभिन्न पक्षसँग छलफल गरेर फर्केका छन् । असोज २४ गते नेपाल आएका उनीहरू कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्लगायत मलसँग सम्बन्धित अन्य सरोकारवालासँग छलफल गरेका छन् ।

नेपालमा कति मल खपत हुन्छन्, कति उत्पादन गर्ने, यहाँ उत्पादित मल भारत निर्यात गर्न सकिन्छ कि सकिँदैन, कारखाना स्थापना गर्ने ठाउँ लगायतका विषयमा उनीहरूले छलफल गरेको बताइएको छ । कृषि मन्त्रालयका एक जना सहसचिवका अनुसार भारतले नेपाल–भारतको सीमा क्षेत्रमा कारखाना खोल्ने चासो देखाएका छन् ।

तराई–मधेस खासगरी मधेस प्रदेशमा सबभन्दा बढी मल खपत हुन्छ । यसको साथै त्यहाँ समथर भूभाग भएका कारणले त्यहाँ कारखाना खोल्न सजिलो हुने र त्यहाँबाट भारत निर्यात गर्न पनि सजिलो हुने भएकाले तराई मधेसमा कारखाना खोल्न चासो लिएको ती अधिकारीले रातोपाटीलाई बताए ।

उत्पादन गरिएको मल नेपालमा खपत गर्न सकिएन भने अन्य देशमा निर्यात गर्ने सम्भावना कति रहेको छ त्यसको बारेमा पनि उनीहरूले चासो लिएका थिए । नेपालमा मल कारखाना खोल्न सके देशभित्र मात्र नभएर बिहार तथा झरखाण्ड राज्यमा पनि यतैबाट मल पठाउने उनीहरूले योजना बनाएको उनको भनाई छ ।

तर यस विषयमा बारेमा नेपाल पक्ष सहमत हुनुपर्ने देखिएको कृषि मन्त्रालयका ती अधिकारीले बताए । मल कारखाना खोल्ने विषयमा दुवै देशले एउटा संयुक्त कार्यदल बनाउने पनि सहमति गरेका छन् । केही दिनमै कार्यदल बनाएर मल कारखाना खोल्ने विषयलाई तीव्र ढङ्गले अगाडि बढाउने कृषि मन्त्रालयले जनाएको छ ।

नेपालमा ग्यासबाट मल उत्पादन गर्ने सम्भावना रहेको छ । तर, सो ग्यास भारतबाट नै ल्याउनुपर्ने हुन्छ । त्यो कसरी ल्याउने त्यसको बारेमा पनि भारत पक्षले छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले भनेका थिए, ‘नेपालसँग आपसी सहकार्यका लागि हामी तयार छौँ, व्यापार पूर्वाधार, पेट्रोलियम पाइपलाइन र नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि आवश्यक सहयोग गर्न भारत तयार छ ।’ सो प्रतिबद्धता अनुसार भारतले प्रक्रिया सुरु गरेको छ ।

यसअघि पनि भारतीय कम्पनीसँग मल कारखाना खोल्ने विषयमा सम्झौता भएको थियो । २०७१ भदौ १८ गते लगानी बोर्डले युरिया मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न आशयपत्र माग गर्दै सूचना प्रकाशित गरेको थियो । त्यसमा चार वटा देशले प्रस्ताव हालेका थिए ।

त्यसमध्ये बोर्डले भारतीय कम्पनी इन्फ्रास्टक्चर डेभलपमेन्ट कर्पोरेसन (आइडेक) कर्नाटकलाई छनोट गरेको थियो । मल कारखाना स्थापनासँग सम्बन्धित प्राविधिक तथा आर्थिक र वातावरणीय प्रभाव मूल्याङ्कनका लागि आइडेकसँग २०७२ पुसमा सम्झौता भएको थियो । तर हालसम्म अध्ययन प्रतिवेदन बुझाइएको छैन ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter