विवादका बीच एनआरएनएका पदाधिकारीले लिए शपथ; धाँधलीबाट भएको नेतृत्वलाई स्वीकारीदैन : असन्तुष्ट पक्ष

काठमाडौँ , कार्तिक ०४ गते । विवादका बीच गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिको शपथ ग्रहण सम्पन्न भएको छ । शनिबार राजधानीको होटल सोल्टीमा निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ दिलाएको हो ।

यसअघि निर्वाचनमा धाँधली भएको भन्दै अध्यक्षका प्रत्यासीद्वय आरके शर्मा र महेश श्रेष्ठले निर्वाचन परिणाम अस्वीकार गरेका थिए । शुक्रबार नै श्रेष्ठ र शर्मा पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी दिनुका साथै यसबारे छानबिनका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पनि निवेदन दिएको थियो ।

उनीहरुले अध्यक्ष बद्री केसीले भेरो नामक विद्युतीय भोटिङ मेसिनको दुरुपयोग गरेर निर्वाचन आफ्नो पक्षमा पारेको आरोप लगाएका छन् । निर्वाचनमा केसी अध्यक्षमा विजयी भएका थिए ।
शुक्रबार नै अध्यक्ष कुल आचार्य, बद्री केसी र रविना थापाले विज्ञप्ति जारी गरेर अर्को निर्णय नभएसम्मका लागि शुक्रबार तय भएको सम्पूर्ण कार्यक्रम रद्ध भएको जानकारी दिएका थिए । तर, शनिबार केसी पक्षले कार्यक्रम राखेर शपथ सम्पन्न गरिएको हो ।

शनिबार शपथपछि केसीले निर्वाचन पारदर्शी भएको दाबी गर्दै केही प्राविधिक समस्या उपाध्यक्ष पदको उम्मेदवारको हकमा देखिएको भएपनि त्यसलाई सच्याइसकेको बताए ।
उनले एनआएनए अभियानमा सबैलाई साथमा लिएर अघि बढ्ने भन्दै आफूले सबै एनआरएनएको वास्तविक एकता गर्नका लागि प्रयास गर्ने पनि बताए । आजै नवनिर्वाचित कार्यसमितिको बैठक पनि केन्द्रीय सचिवालय बालुवाटारमा राखिएको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा बद्री केसी, उपाध्यक्षमा विनोद श्रेष्ठ, हेमराज शर्मा, केशव पौडेल, राजु रेग्मी (राज), रामशरण सिम्खडा र रोबिन प्रसाद शेरचन, महासचिवमा गौरीराज जोशी विजयी हुँदा महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा रोशन थापा विजयी भएका छन् ।

यसैगरी उपमहासचिवमा प्रविन गुरुङ र सोम सापकोटा तथा सचिवमा भीम केसी कमल, ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, नवराज रोस्यारा, पारसमणि पोखरेल र स्वतन्त्र प्रताप शाह निर्वाचित भएका छन् । यस्तै महिला सचिवमा राधिका गुरुङ, कोषाध्यक्षमा सुदन कुमार थापा तथा सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सेना, तिलक गैरे र अभिमन्यु बस्नेत निर्वाचित भएका छन् ।

धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न सकिँदैन : एनआरएनए असन्तुष्ट पक्ष

११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्याशी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका छन् । शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो बताएका हुन् ।

उनीहरूले मत परिणाममा भएको त्रुटिबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको बताए । सहमति विपरीत आजै शपथग्रहण गर्नुले धाँधली भएको पुष्टि हुने उनीहरूको आरोप छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार शर्माले आइटी विज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै धाँधली भएको स्पष्ट हुने बताए । उनले धाँधली नभएको भए रातारात शपथ खानुपर्ने अवस्था नरहेको बताए । उनले गैर आवासीय नेपाली संघ निष्पक्ष, साझा र सबल हुनुपर्ने बताए ।

उनले भने, ‘आइटी विज्ञ राखेर निर्णय गरौँला भन्नुभएको थियो, त्यो नभइसकेपछि उहाँहरूले धाँधली गरेर जितेको स्पष्ट हुन्छ । आजै शपथ खानुपर्ने र दुई हप्तापछि खानुपर्नेमा मलाई लाग्दैन दुई हप्तामा ठुलै पहाड पल्टिन्छ । धाँधली नभएको भए रातारात शपथ खानुपर्ने थिएन । उहाँहरू सच्चा हुनुहुँदो रहेनछ । गैर आवासीय नेपाली संघ निष्पक्ष हुनुपर्छ, साझा हुनुपर्छ । सबल हुनुपर्छ ।’

अध्यक्षका अर्का प्रत्याशी महेशकुमार श्रेष्ठले सीमित समूहलाई आधिकारिकता दिन हतारमा शपथ ग्रहण गरेको आरोप लगाए । उनले सीमित समूहले केही पनि गर्न नसक्ने भन्दै उहाँले गैर आवासीय संघ झनै नराम्रो भएको बताए ।

उनले भने, ‘उहाँहरूले सीमित समूहलाई आधिकारिकता दिन गर्नुभएको प्रयत्न हो । यो सामाजिक संस्थामा सबैलाई समेट्नुपर्छ । त्यो प्रयत्न उहाँहरूले गर्नुपर्दथ्यो । सीमित समूहले के गर्न खोज्नुभएको हो ? अध्यक्ष भएर पनि के गर्न सक्नुहुन्छ ? यसले नराम्रो असर पर्छ । यसै पनि अविश्वास थियो । अहिले झनै नराम्रो भएको छ ।’ अध्यक्षका प्रत्याशी श्रेष्ठले पदकै लागि जे पनि गर्न नहुने जिकिर गरे ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter