पतञ्जलीले रूपन्देहीमा आयुर्वेदिक औषधि उद्योग खोल्ने; नेपालका धार्मिक गन्तव्यहरुप्रति भारतीयको आस्था र आकर्षण दुवै छ : आचार्य बालकृष्ण

लुम्बिनी, कार्तिक ०९ गते । भारतको हरिद्वारस्थित पतञ्जली योगपिठले रूपन्देहीमा योग प्रशिक्षण केन्द्र र वेलनेस सेन्टर स्थापना गर्ने भएको छ। पतञ्जलीले रूपन्देहीको धकधईमा एक अर्ब रूपैयाँको लगानीमा आयुर्वेदिक औषधि उद्योग पनि सञ्चालन गर्ने जनाएको छ।

योगपिठका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जडिबुटीको भण्डार रहेको र तिनै जडिबुटीको सदुपयोग गर्दै आयुर्वेदिक औषधि उद्योग सञ्चालन गर्ने जनाएका हुन्।

‘नेपालका हरेक वनजंगल, पहाड, खोला खोल्सीमा जडिबुटीहरूको भण्डार छ। तर ती जडिबुटीको उचित प्रयोग हुन सकेको छैन,’ आचार्य बालकृष्णले भने।

जडिबुटी बिक्रीका लागि कुनै पनि बजारको खोजी गर्नुनपर्ने समेत उनले बताए। ‘जडिबुटी उत्पादन गर्न सके बिक्रीका लागि बजारको खोजी नै गर्नुपर्दैन। नेपालमा जडिबुटीको उत्पादन गरेर विदेशमा निर्यात गर्न सकिन्छ,’ उनले भने।

उद्योग स्थापना भएपछि ५ सय बढीले रोजगारी पाउने र उनीहरू अधिकांश स्थानीय नै हुने उनले बताए। साथै आफैंले जडिबुटी संकलन गर्ने र उद्योगलाई बिक्री गरेर एक हजार जनाभन्दा बढीले अप्रत्यक्ष रूपमा रोजगारी पाउने पनि उनको भनाइ छ।

नेपालका धार्मिक गन्तव्यहरुप्रति भारतीयको आस्था र आकर्षण दुवै छ : आचार्य बालकृष्ण

आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताएका छन् । आज बिहान पाल्पाको बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गर्न पुगेका उनले भने “नेपालका कुनैपनि पर्यटकीय स्थानमा भारतीय नागरिकलाई सहज पहुँच छ, दुइ देशको धार्मिक, सांस्कृतिक समानताका कारण पनि नेपालका धार्मिक गन्तव्यहरुप्रति भारतीयको आस्था र आकर्षण दुवै छ ।”

रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुर जोड्ने लुम्बिनी केबलकारमार्फत् आज बिहान बसन्तपुर पुग्नुभएका उनले त्यहाँस्थित कामाख्या भगवतीको पूजाअर्चना गर्नुभएको थियो । पूजाआजापछि नेपाल र भारतका पत्रकारसँगको अन्तरक्रियामा उनले प्राकृतिक सुन्दरता, आवतजावतको सहजता, भाषिक, धार्मिक, सांस्कृतिक समानताले भारतीय पर्यटकका लागि नेपाल सहज र उत्कृष्ट गन्तव्य रहेको बताए । उनले नेपाल गौतमबुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी, वाल्मिकी ऋषिलगायतको पावन भूमिरहेको भन्दै नेपालमा धार्मिक, सांस्कृतिक तथा मनोरम प्रकृतिका क्षेत्रमा रहेको अद्वितीय पर्यटनको सम्भावनालाई केन्द्रमा राखेर भारतीय पर्यटकलाई यहाँ ल्याउने गरी नेपाल सरकारले कार्यक्रम बनाउनुपर्ने सुझाव दिए ।

उनले धार्मिक पर्यटकीयस्थललाई प्रवद्र्धन गर्न भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर नेपालमा पनि धार्मिक पर्यटकीय सर्किट बनाइ दुवै देशको धार्मिक पर्यटन प्रवद्र्धनको पहल गर्न सुझाव दिए । उनले लुम्बिनी केबलकार नेपालीका लागि मात्र नभइ भारतीय पर्यटकका लागि पनि एक प्रमुख आकर्षक गन्तव्य बन्ने बताउँदै भारतको उत्तर प्रदेशको लुम्बिनी प्रदेशका तराईका जिल्लासँग सीमा जोडिएकाले त्यहाँका नागरिकका लागि लुम्बिनी क्षेत्रमा अवस्थित यो पर्यटकीय पूर्वाधार भारतीय नागरिकको पनि एक महत्वपूर्ण गन्तव्य बन्ने उनको धारणा थियो ।

केबलकारको टप स्टेशन बसन्तपुरमा निर्माण गरिएको कामाख्या भगवती मन्दिर, यहाँको प्राकृतिक सौन्दर्य तथा तराईको गर्मीमा पनि बसन्तपुरमा पाइने शीतल वातावरण भारतीय पर्यटकको प्रमुख आकर्षण रहेका उनको भनाइ थियो । आयुर्वेद शिरोमणी आचार्यले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनसके पर्यटक आगमन बढ्नसक्ने बताए । भारतको पतञ्जली योगपीठले नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन प्रवद्र्धन गरेको उनको भनाइ छ । उनले ४० वर्षपछि पहिलो पटक गृहजिल्ला स्याङजामा दसैँ पर्व मनाउन अवसर मिलेको बताउँदै दसैँ या अरु चाडपर्वका अवसरमा आफन्त परिवार समक्ष पुग्ने परम्परा सनातन संस्कृति र वैदिक परम्पराको राम्रो संस्कार रहेको बताए ।

उनले नवरात्रमा देवस्थानहरुमा चढाइने पशुबलि जस्ता हाम्रा सदियौँदेखिका परम्परागत, संस्कृतिलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्ने पनि बताए । “हाम्रा पूर्वजले परम्परा सुरु गरे होलान्, त्यतिबेलाको अवस्थामा पक्कै पनि ती संस्कारको आफ्नै महत्व थियो होला”, उनले भने,“आज समय परिवर्तन भएको छ, त्यही हिसाबले संस्कारलाई पनि परिस्कृत गर्नु आवश्यक छ ।”उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि धार्मिक, सांस्कृतिक समानतासहित प्रगाढ रहिआएकाले यसलाई कसैले तोड्न नसक्ने बताए ।

सो अवसरमा लुम्बिनी केबलकारका निर्देशक रुद्र पौडेलले नेपालीसँगै भारतका नागरिकलाई लक्षित गरेर बसन्तपुरमा पाँचतारे होटेल निर्माणाधीन रहेको जानकारी दिए । सो होटलसहित केबलकारमा रु पाँच अर्ब लगानी हुने जानकारी पनि उनले दिए । सञ्चालनको पाँच महिनामै बसन्तपुरको कामाख्यादेवी मन्दिर भारतको उत्तर प्रदेशका पर्यटकको लागि आकर्षक धार्मिक गन्तव्य बनिसकेको र यहाँ आएका भारतीय पर्यटकलाई नेपालका अरु धार्मिक गन्तव्यमा पु¥याउन सकिने गरी केबलकार सर्किट निर्माण गरी प्रचारप्रसारको काम थालिने निर्देशक पौडेलले जानकारी दिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter