१२ वर्ष वैदेशिक रोजगारीपछि गाउँ फर्केर गाइपालन

स्याङजा, कात्तिक ११ गते । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गाका ४७ वर्षीय रुक्मागत न्यौपानेले मलेसिया, कतार, दुबई, भारत लगायतका मुलुकमा १२ वर्ष बिताए । विदेशको कमाइबाट सन्तुष्ट हुन नसकेपछि उनी स्वदेशमै स्वरोजगार बन्ने सोचका साथ गाउँ फर्किए । न्यौपानेले गाउँ फर्किएपछि चार साथीहरुको सहकार्यमा भैँसीपालन व्यवसाय सुरु गरे ।
उत्तरवाहिनी पशुपालन फार्ममार्फत पाँच वर्षअघि १५ वटा मुर्रा जातका भैँसीबाट व्यवसाय सुरु गरेका न्यौपानेको फार्ममा अहिले भने होलिस्टेन र जर्सी जातका १५ गाई छन् । गोठ र आवाससहित ३० रोपनी क्षेत्रफलमा फैलिएको फार्म संयुक्त रुपमा ३२ लाखको लगानीबाट सुरु गरिएको थियो । विविध कारणले सहकार्य गरेका साथीहरुले एक वर्ष नहुदै व्यवसायबाट हात झिकेपछि न्यौपानेले एक्लैले फार्म सञ्चालन गरे ।
‘सुरुका दुई वर्ष संयुक्त रुपमा भैँसीपालन गरेका थियौँ, भैँसीपालनमा समस्या धेरै देखियो, फार्मको पूर्ण अधिकार मसँग आएपछि गाइ पाल्न सुरु गरेको हुँ”, उनले भने, ‘अहिले फार्ममा छवटा दुहुना, तीनवटा ब्याउने र सात बाच्छाबाच्छी छन् ।’ उनले गाइपालनका लागि नेपियर, जौघाँस, मकैघाँसलगायत उन्नत जातका घाँससमेत लगाएका छन् ।
एउटा गाईले दैनिक सात देखि १५ लिटरसम्म दूध दिने गरेको उनले बताए । दैनिक ५० लिटर दूध उत्पादन गर्दै आएका उनले स्थानीय बजार र तुल्सीभञ्ज्याङ साना किसान दुग्ध सङ्कलन केन्द्रमा दूध बिक्री गर्दै आएका छन् ।
‘दूध बिक्रीबाट मासिक एक लाखदेखि डेढ लाखसम्मको कारोबार हुन्छ, खर्च कटाउँदा रु ४०–५० हजार जति बचत हुन्छ’, न्यौपानेले भने, ‘विदेशमा जस्तो कमाई नभए पनि परिवारको साथमा स्वदेशमै स्वरोजगार बन्न पाउँदा खुसी छु ।’ उनले गल्याङ नगरपालिकाले दिएको दूधमा प्रतिलिटर रु १५ अनुदान कार्यक्रमले हौसला मिलेको बताए ।
‘जिल्ला भेटेरिनरीबाट र नगरपालिकाबाट चाँपकटरसहित हालसम्म छ लाखभन्दा बढीको अनुदान पाएको छु’, न्यौपानेले भने, ‘सरकारी निकायबाट राम्रो सेवासुविधा पाएको छु ।” उनले गएको आर्थिक वर्षमा रु एक लाखको हाराहारीमा नगरपालिकाबाट प्रतिलिटर १५ रुपैयाँ अनुदान अन्तर्गतको रकम पाएका थिए ।
न्यौपानेको गाइ फार्ममा हाल तीनजनाले रोजगारी पाएका छन् । श्रीमती र छोरा व्यवसाय टिकाउनका लागि दरिलो सहारा बनेको उनको भनाइ छ । ‘म बजार जाँदा श्रीमतीले घाँसपानी र कुँडोको काम गरिदिँदा सहज बनेको छ’, न्यौपानेले भने, ‘लम्पी स्किन रोगले सताए पनि गाइपालनमा खासै समस्या देखिएको छैन, बजार राम्रो भएकाले गाइपालनलाई अझ व्यवस्थित र विस्तार गर्दै लैजाने सोच बनेको छ ।’
श्रीमती कमलाले विदेश छाडेर गाउँमै श्रीमानसँग काम गर्न पाउँदा खुसी मिलेको बताइन् । ‘उहाँ विदेशमा हुँदा कहिले के हुने हो भन्ने चिन्ता हुन्थ्यो, चाडपर्वमा सबैलाई न्यास्रो लाग्थ्यो’, कमलाले भनिन्, ‘अहिलेसँगै हुँदा मलाई पनि धेरै सहारा मिलेको छ, सुखदुःखमा सँगै हुन पाएका छौं ।’ उनले गाइपालन व्यावसायबाट आत्म सन्तुष्टि मिलेको बताइन् ।
नगरपालिकाका पशु शाखाप्रमुख सुशील अर्यालले नगरपालिकाले नगरभित्रका पशुलाई निःशुल्क बीमा, दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान, ब्याजमा चार प्रतिशत अनुदान, साइजेलमा अनुदान, मल बनाउने तालिम, घाँसको बीउ, बेर्ना, निःशुल्क उपचार तथा प्राविधिक सेवा लगायतका सहयोग गरेको बताए । रासस