प्रधानमन्त्री प्रचण्डद्वारा महासचिव गुटेरेसको स्वागतमा रात्रीभोज आयोजना; गुटेरेसद्वारा उच्चस्तरीय भेटवार्ता, सम्पदा अवलोकन

काठमाडौँ, कात्तिक १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा आज सिंहदरवारमा रात्रिभोजको आयोजना गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका महासचिव गुटेरेस रात्रिभोजमा सहभागी हुनुभयो । सो अवसरमा महासचिवको कार्यदलका सदस्यहरु, नेपाल सरकारका मन्त्री, राजनीतिक दलका नेता तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो ।

चार दिनको नेपाल भ्रमणमा आउनुभएका महासचिव गुटेरेसले आज उच्चस्तरको राजनीतिक भेटघाट गर्नुभयो । भोलि सोमबार उहाँ पोखरा, कपिलवस्तु लगायतको ठाउँको भ्रमण गर्ने कार्यालिका रहेको छ ।

महासचिव गुटेरेसद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ ।

महासचिव गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवम् पुरातात्त्विक महत्वका सम्पदाबारे जानकारी दिनुभएको थियो । महासचिव गुटेरेस पाटन दरबार क्षेत्रमा पुग्दा धिमेबाजा र परम्परागत नृत्य प्रस्तुत गरिएको थियो ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घको शान्ति कार्यका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारी सहभागी हुनुहुन्थ्यो । महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार यहाँ आइपुग्नुभएको हो ।

भ्रमणका क्रममा उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणमा आउनुभएको हो । महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ । रासस

राष्ट्रपति पौडेलसमक्ष महासचिव गुटेरेसको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेर महासचिव गुटेरेसले राष्ट्रपति पौडेलसमक्ष शिष्टाचार भेट गर्नुभएको हो ।

राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘लामो समयदेखि नेपालको विकास साझेदारको रूपमा रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्त्वमा राखेको कुरा बताउनुहुँदै संयुक्त राष्ट्रसङ्घ तथा यस अन्तर्गत विशिष्टीकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवम् दिगो विकास लक्ष्य प्राप्तिमा पुर्‍याएको निरन्तर सहयोग र योगदानका लागि धन्यवाद समेत व्यक्त गर्नुभयो ।’’

यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गर्नुभएको थियो ।

चार दिने नेपाल भ्रमणका क्रममा रहनुभएका उहाँले सोमबार र मङ्गलबार पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने र मङ्गलबार संसद्लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter