पर्यटकका लागि पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था

चन्द्र पन्दाक / ताप्लेजुङ, कात्तिक १२ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पर्यटकका लागि पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ । कञ्चनजङ्घासहितका पर्यटकीय गन्तव्यको भ्रमणमा आउने पर्यटकका लागि गाउँपालिकाले आधार शिविर क्षेत्रमा पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था गरेको हो ।

कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी पोर्टेबल अक्सिजन सिलिन्डर र औषधिको व्यवस्था गरिएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरहरू केबीसी, लोनाक, खम्बाचेन, घुन्सा, सेलेले साथै उच्च हिमाली बस्ती ओलाङ्चङगोला र याङ्मामा उक्त व्यवस्था गरिएको छ ।

उच्च क्षेत्रमा अक्सिजनको कमी हुने भएकाले पर्यटकलाई लेक लाग्ने (हाइ अल्टिच्युड) जोखिम बढी हुँदा सो समस्याबाट बच्नलाई पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था गरिएको हो । हाल गाउँपालिकाले सो व्यवस्था गरेसँगै कञ्चनजङ्घा क्षेत्रका भ्रमणमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई राहत पुगेको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ । उहाँकाअनुसार आवश्यक परेमा वा आपत्कालीन अवस्थामा तत्काल सजिलैसँग पोर्टेबल अक्सिजन सिलिन्डर प्रयोग गर्न सकिन्छ ।

अक्सिजनसँगै उच्च भेगमा चिसो र अक्सिजन कमीका कारण टाउको दुख्नेलगायत स्वास्थ्यमा देखा पर्ने समस्याको निदान गर्न वा स्वास्थ्यलाई सन्तुलन राख्नमा सहयोग पुग्नेखालका औषधिसमेतको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । कञ्चनजङ्घासहित जिल्लाका मुख्य पर्यटकीय गन्तव्यहरू फक्ताङ्लुङ गाउँपालिकामा पर्ने हुँदा पालिकाले पर्यटन प्रवर्द्धन साथै भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढाउने उद्देश्यले पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था मिलाएको जनाएको छ ।

यता दसैँ तिहारको मौसमसँगै आजभोलि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । हालसम्म साढे तीन सयको हाराहारीमा विदेशी पर्यटक मात्र भ्रमणमा आइसकेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालय घुन्सा चोकपोष्टका अनुसार कञ्चनजङ्घा भ्रमण गर्न विदेशी पर्यटकहरू आउने क्रम जारी रहेको छ । त्यस्तै आन्तरिक पर्यटकहरू पनि उल्लेख्य सङ्ख्यामा कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आइरहेका घुन्सा चोकपोष्टले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter