विश्वकप खेल्न पाउनु भाग्यमानी ठान्छु : कप्तान रोहित; क्रिकेटको डेढ करोड नगद पुरस्कार निकासा

काठमाडौं, कात्तिक १७ गते । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताउनुभएको छ ।

शुक्रबार मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराउँदै जारी आइसिसी विश्वकप छनोट (एसिया क्वालिफायर) को फाइलनमा यात्रा तय गरेसँगै नेपाल सन् २०१४ पछि पहिलो पटक ट्वान्टी–२० विश्वकपमा स्थान बनाउन भयो । त्यो सफलतापछि कप्तान रोहितले सोमपाल कामी र विनोद भण्डारीबाहेक सबै सन् २०१४ कै विश्वकप हेरेर नै हुर्किएको उल्लेख गर्दै यस पटक आपैmँ विश्वकप खेल्न पाउनु भाग्यमानी महशुस भएको बताउनु भयो ।

टस हारेपछि डर लागे पनि बलिङमा सबैले राम्रो योगदान दिएको उल्लेख गर्नुभयो । युएईको महत्वपूर्ण ब्याटर मोहम्मद वासिमलाई छिट्टै आउट गर्ने योजना रहेको र सोहीअनुरूप सोमपालले उनलाई पवेलियन फर्काउन सक्नु ठूलो सफलता रहेको धारणा राख्नुभयो । त्यसपछि सन्दीप लामिछाने, कुशल मल्ल र गुल्सन झाले बलिङमा राम्रो योगदान दिएपछि युएईलाई कम योगफलमा रोक्नु पनि अर्को महत्त्वपूर्ण पक्ष रहेको बताउनु भयो ।

ब्याटिङमा पनि कुशल भुर्तेलले राम्रो सुरुवात दिलाउनु र आसिफ शेखले लामो इनिङसम्म उत्कृष्ट रहेको कप्तान रोहित बताउनु भयो । दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेका नेपालका एक मात्र खेलाडी सोमपालले पछिल्लो संस्करणभन्दा यस पटक धेरै उत्साहित रहेको धारणा राख्नुभयो । जसरी पनि ट्वान्टी–२० विश्वकप खेल्नुपर्छ भन्ने आफूहरूको लक्ष्य पूरा भएको पनि उहाँले बताउनु भयो ।

ओपनर आसिफ शेखले विश्वकप खेल्न लक्ष्य पूरा भएको बताउनु भयो । उहाँले ठूलो खेलमा केही गर्छु भन्ने रहेको र त्यसैले अन्तिमसम्म इनिङ खेल्छु भन्ने योजना अनुरूप सफल भएको बताउनु भयो । साथै नेपालका बलरले युएईलाई थोरै योगफलमा रोक्नु पनि जितको महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्नुभयो । प्रशिक्षक मोन्टी देसाईले टिमलाई एक बनाएर अगाडि बढाएको उल्लेख गर्दै आसिफले यो सफलताको श्रेय प्रशिक्षकलाई दिनुभयो ।

क्रिकेटको डेढ करोड नगद पुरस्कार निकासा

विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार तीन प्रतियोगिताको पूर्व घोषित एक करोड ५७ लाख ५० हजार रुपियाँ पुरस्कार निकासा भएको जानकारी दिनुभयो ।

गत बैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु–१९ पुरुष सीडब्लुसी– एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी सीडब्लुसी लिग– २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो ।

सदस्य–सचिव घिसिङले पुरस्कार पाउने खेलाडीलगायतलाई बधाइ दिनुहुँदै पुरस्कारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई धन्यवाद दिनुभयो ।

सदस्य–सचिव घिसिङले शुक्रबार मूलपानीमा भएको ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा युएइलाई आठ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि स्थान सुरक्षित गर्न सफल नेपाली टोलीलाई बधाइ पनि दिँदै फाइनलमा सफलताका लागि शुभकामना समेत दिनु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter