सर्वदलीय बैठक : लोकतान्त्रिक गणतन्त्रप्रति सबैको प्रतिबद्धता; चिसोमा जनता जोगाउनुहोस्, व्यवस्था आफै जोगिन्छ: रवि

काठमाडौं, कात्तिक २१ गते । शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल सकिएको छ । सिंहदरबारमा भएको छलफलमा विशेषगरी १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने पार्टी नेताकाबीचमा समसामयीक पछिल्लाे राजनीतिमा देखापरेका ब्यवधानका बारेमा नेताहरुले आ-आफ्नो तर्फबाट धारणा राखेका थिए ।

‘शान्ति, संविधान र व्यवस्थाप्रति जसरी आक्रमण र भड्काउने प्रयास भएको छ त्यसबारेमा सबै दलका नेताहरूले धारणा राख्नुभयो’, बैठकमा सहभागी एमाले सचेतक महेश बर्तौलाले भने, ‘ विशेष गरी व्यवस्था जोगाउने कुरामा सबैको एक मत देखियो ।’

त्यसक्रममा एमालेले भने सरकारको कामकारबाही सन्तोषजनक नरहेको भन्दै सरकारको कार्यशैली परिवर्तन गर्नुपर्ने धारणा राखेको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरूको उपस्थिति रहेको थियो । छलफलमा सहभागी दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नेताहरूले बलियो प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैठकपछि माओवादी नेतृ पम्फा भुसालले परिवर्तनकारी राजनीतिक दलका नेताहरु खासगरी कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुले गणतन्त्र, संघीयता र संविधानप्रति प्रतिबद्ध रहेको धारणा राखेको भन्दै त्यसका लागि अागामी दिनमा एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएकाे बताइन् ।

‘यदाकदा, छिटपुट, पानीको फोकाजस्तो विभिन्न कोणबाट देखा परेका प्रहारहरु छन् तिनको मिलेर प्रतिवाद गर्ने सबैको अभिमत रह्यो’, भुसालको भनाइ छ ।

उनले परिवर्तनको रक्षा र विकास गर्ने कुरामा प्रतिबद्धता जनाएको भन्दै जनतालाई प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा सबैको जोड रहेको बताइन् ।

चिसोमा जनता जोगाउनुहोस्, व्यवस्था आफै जोगिन्छ: रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज बसेको गणतन्त्र पक्षधर पार्टीहरूको बैठकप्रति आक्रोश व्यक्त गरेका छन् । उनले बैठक बसेर व्यवस्थाबारे चिन्ता गर्नुको साटो भूकम्पपीडितलाई राहत दिए व्यवस्था आफै जोगिने बताएका हुन् ।

उनले उद्धार कार्य उत्कृष्ट भए पनि राहत वितरण सही नभएको बताएका छन् । उनले भनेका छन्, ‘आदरणीय “सर्वदलीय हेड सर” हरू यता सुन्नुस् है, आज बैठक गर्ने सबै पार्टी मिलेर भूकम्प पीडितका घरमा पाल र ब्ल्याङ्केट पुराउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्। व्यवस्था आफै जोगिन्छ, परिवर्तन आफै जोगिन्छ।।सुत्केरीहरूको जिउ सुन्निएको छ, अस्थायी शौचालय छैन, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ। जुटाइदिएको पाल,चामल,दाल समयमै बाँड्न नसक्ने अनि चिन्ता व्यवस्थाको, परिवर्तन को?

तपाईँहरूले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ त्यो पनि पुनर्निर्माण सम्मको जिम्मा लिन तयार छ। फेरि पनि भन्छु,व्यवस्था खतरा छैन,भए पनि जोगाउने जनता छन्। तिनको जीवन रक्षा गरिदिनुस् । परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले मेरा आँखा नराम्ररी बिझाए। नोट: उद्धार कार्य उत्कृष्ट थियो तर राहत वितरण कत्ति पनि सही भएन।’

शीर्ष नेताहरुलाई महामन्त्री थापाले भने– राजनीतिबाट विश्राम लिनुहोस्, गणतान्त्रिक व्यवस्था बलियो हुन्छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शीर्ष नेताहरुलाई सक्रिय राजनीतिबाट विश्राम लिएर गणतान्त्रिक व्यवस्थालाई बलियो बनाउन आग्रह गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले शीर्ष नेताले सक्रिय राजनीतिबाट विश्राम लिएमा गणतान्त्रिक व्यवस्थालाई कसैले केही गर्न नसक्ने बताएका हुन् ।

मंगलबार शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो । सो छलफलमा गणतान्त्रिक व्यवस्था जोगाउने विषयमा सबै एक मत भएका थिए ।

शीर्ष नेताहरुको बैठकपछि महामन्त्री थापाले लेखेका छन्,‘यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न तपाईँहरू (शीर्ष नेता)ले निभाउनु भएको भूमिका महत्त्वपूर्ण छ । इतिहासले सधैँ सम्झिने छ । तपाईँहरू फेरि भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनु पर्‍यो । मैले भन्दै आएको छु, फेरि भन्छु–तपाईँ शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो । अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन । यो व्यवस्थालाई बलियो बनाउन तपाईँहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् ।’

महामन्त्री थापाले शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिए गणतन्त्रविरुद्ध उठिरहेका आवाजहरू आफैँ हराउँदै जाने बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter