नेपाली दक्ष जनशक्ति उत्पादनमा कोरियाले सहयोग गर्ने

काठमाडौँ , कात्तिक २३ गते । दक्षिण कोरियाले नेपाली श्रमिकहरूलाई दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गर्ने भएको छ । विश्वबजारमा नेपाली श्रमिकको माग बढिरहेका बेला दक्षिण कोरियाले दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्न लागेको हो ।

त्यसका लागि व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र दक्षिण कोरियाको ग्लोबल इन्स्ट्च्युट फर ट्रान्सफेरिङ स्किल्स (गिफ्टस) बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

दक्षिण कोरियाको एचआरडीअन्तर्गत रहेको गिफ्ट्सका कार्यकारी निर्देशक बियोङ वुक ली र प्रतिष्ठानका कार्यकारी निर्देशक उमाकान्त आचार्यबिच हस्ताक्षर भएको छ ।

हस्ताक्षर भएसँगै कोरियाले दक्ष जनशक्ति उत्पादनमा आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ । त्यसका लागि नेपालमा रहेको प्रतिष्ठानलाई अत्याधुनिक प्रविधियुक्त बनाउन सहयोग गर्नेछ ।

ईपीएस कोरिया शाखाका निर्देशक गुरूदत्त सुवेदीले कोरियाको गिफ्टजस्तो सक्षम, सवल र अत्याधुनिक प्रविधियुक्त र सुविधासम्पन्न बनाउन कोरियाले सहयोग गर्ने बताए ।

समझदारी पत्रमा हस्ताक्षर भएसँगै थप एक्सन प्लान बनाएर अघि बढ्ने उनको भनाई छ । यो तालिमबाट कोरिया जाने नेपालीहरूको लागि मात्र नभएर स्वदेशमै समेत स्वरोजगार बन्न चाहनेको लागि महत्त्वपूर्ण हुने उनको भनाई छ ।

‘कोरिया जाने मात्र नभई सबै नेपालीहरूले यसका लागि मौका पाउनेछन् । उक्त कार्यअन्तर्गत विभिन्न खालका तालिम प्रदान गर्ने, सीप परीक्षण गर्ने, प्रमाणपत्र प्रदान गर्ने लगायतका काम हुनेछ,’ उनले भने ।

अन्य तालिम प्रतिष्ठान तथा तालिम केन्द्रहरूलाई समेत यो प्रतिष्ठानहरूले अनुमति दिने, अनुगमन गर्ने जस्ता कार्य गर्नेछ । त्यसका लागि मन्त्रिपरिषद्को आज बिहीबार बसेको बैठकले राष्ट्रिय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश, २०८० परिमार्जनसहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसले अब प्रतिष्ठानलाई राष्ट्रिय स्तरको व्यावसायिक प्रशिक्षण प्रतिष्ठान गर्ने बाटो खुलेको छ । कोरियाले सहयोग गर्ने भएपछि यो प्रतिष्ठानबाट हुने काम निकै प्रभावकारी हुने सरकारको अपेक्षा रहेको छ ।

तालिमका लागि कतिपय विषयमा कोरियाबाट समेत प्रशिक्षक बोलाउन सकिने छ । यी तालिमहरू निःशुल्क, सशुल्क दुवै हुनेछन् ।

प्रतिष्ठानले हाल सामान्य खालका तालिम प्रदान गर्दै आएको छ । अब यसलाई थप व्यवस्थित गरेर अत्याधुनिक सुविधासम्पन्न बनाउन लागिएको निर्देशक सुवेदीले बताए ।

कोरियाको श्रम बजारसँगै नेपालको श्रम बजार तथा अन्य गन्तव्य मुलुकलाई आवश्यक पर्ने खालको श्रमशक्ति उत्पादन गरिने उनको भनाई छ । यसबाट प्रदान तालिमबाट वैदेशिक रोजगारीमा जानको लागि समेत सहज हुने र नेपालमै पनि रोजगारको लागि सहज हुने सुवेदीको भनाई छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक उमाकान्त आचार्यले नेपालीहरूलाई रोजगारीको लागि दक्षिण कोरिया सबैभन्दा बेस्ट रहेको भन्दै उनले थप सीप सिकाएर कोरियासँग अन्य देशमा समेत नेपालीहरूलाई काम गर्न सहज हुने बताए ।

गिफ्ट्सका कार्यकारी निर्देशक बियोङ वुक लीले नेपालीहरू कोरियाली रोजगारदाताले धेरै रूचाएकोमा पर्ने गरेको बताए । अझ धेरै कामदार पठाउनको लागि नेपाल सरकारलाई कोरिया थप सहयोग गर्न तयार रहेको उनको भनाई छ ।

अब नेपाली श्रमिकहरू कोरिया पुगेर मात्र नभई नेपाल फर्किएपछि समेत राम्रो काम गर्न सक्ने गरी तालिम प्रदान गर्न सहयोग गर्ने उनको भनाई थियो । आगामी दिनमा समेत कोरिया सरकार र नेपाल र नेपालीका लागि थुप्रै क्षेत्रमा सहयोग गर्न तयार रहेको उनले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यो कार्यक्रमले नेपालीको सीप क्षमता बढाउने आफू विश्वस्त रहेको बताए । कोरियामा काम गर्दै आएका नेपाली श्रमिकहरू मानसिक तथा अन्य समस्याबाट पीडित रहेको बताउँदै त्यसका लागि यस्तो खालको तालिमबाट राहत मिल्ने उनको धारणा छ ।

कोरिया नेपाली श्रमिकहरूको लागि सामाजिक सुरक्षाको दृष्टिकोणले समेत राम्रो रहेको सचिव भण्डारीले बताए । कोरियाको विकास, सूचना प्रविधि संसारकै लागि अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै नेपाली श्रमिकहरूले समेत कोरियाबाट धेरै कुरा सिक्ने मौका पाउने बताए ।

नेपाल र कोरिया सरकारबिच सन् २००७ मा ईपीएस प्रणालीबाट नेपाली कामदारहरू पठाउने एउटा सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा सन् २००८ देखि नेपाली कामदारहरू कोरिया जान थालेका हुन् ।

सन् २०२१ को नोभेम्बरमा नेपाल र कोरियाले ईपीएस प्रणालीसम्बन्धी सम्झौता नवीकरण गरेका थिए । हाल कोरियाले वार्षिक रूपमा औसत ८ हजार नेपालीलाई विभिन्न क्षेत्रमा रोजगारीलाई लग्दै आएको छ ।

कोरियाले नेपाली श्रमिकलाई रोजगारीको अवसर दिने मात्र नभएर हाल आएर नेपालमै सीप दिनसमेत तयार भएको हो ।

सरकारले केही समयपछि दक्ष जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने नीति ल्याउँदैछ । त्यसका लागि प्रतिष्ठानलाई राष्ट्रियस्तरको सीप प्रशिक्षण केन्द्र बनाउन लागेको हो । त्यहीमार्फत् नेपालमा मात्र नभई विश्वबजारलाई आवश्यक पर्ने श्रम शक्ति उत्पादन गर्ने नीति सरकारको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter