अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भीर नभएको सांसदहरुको आरोप; विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च; तीन महिनामा ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । सांसदहरुले मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैंठकमा बोल्दै अधिकांश सांसदहरुले सरकारलाई यस्तो आरोप लगाएका हुन् । सांसदहरुले अर्थतन्त्रमा देखिएको समस्या र चुनौतीलाई समाधान गरी चलायमान बनाउनुपर्ने विषयमा सरकार गम्भीर नभएको बताए । उनीहरुले अर्थतन्त्र गम्भीर मोडमा पुग्दा समेत अर्थमन्त्री लगायत सरकारका सबै मन्त्रीहरु विदेश भ्रमणमा व्यस्त रहेको बताए । सांसदहरुले सरकारले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मकदेखि पनि अर्थतन्त्रमा संकट रहेको बताएका छन् ।

त्यस्तै सांसदहरुले सरकारमा बस्ने प्रधानमन्त्री र अर्थमन्त्री बीचमा नै अर्थतन्त्रका विषयमा एक रुपता नदेखिएको बताए । उनीहरुले सरकारले निर्माण व्यवसायीहरुलाई गर्नु पर्ने भुक्तानी समेत दिन नसक्नु अर्थतन्त्र मन्दीमा गएको संकेत रहेको उल्लेख गरे ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रीले अर्थतन्त्रमा सुधार हुँदै आएको र जथाभाबी बोल्दा मनोबल कमजोर हुन्छ भने पनि अहिले मन्तव्य सुधार गर्नेभन्दा पनि अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको बताए । उनले मानिसहरुको मन्तव्य सकारात्मक भए पनि मुलुकको अर्थतन्त्र सकारात्मक नभएको बताए । उनले अर्थतन्त्रका बारेमा सकारात्मक कुरा गर्दैमा तथ्य नलुक्ने बताए । उनले अर्थतन्त्रका विषयमा अर्थमन्त्री र प्रधानमन्त्रीकै फरक–फरक कुरा आउने गरेका बताए । उनले प्रधानमन्त्री नेपालमा अर्थतन्त्र समस्या छ भन्ने तर त्यही सकारका विभागीय अर्थमन्त्री बेलायत पुगेर राम्रो छ भन्ने कुरामा कसको कुरा पत्याउनु ? भन्दै प्रश्न गरे ।

पूर्वअर्थमन्त्री पौडेलले प्रधानमन्त्री समस्याग्रस्त भएको अर्थतन्त्र सुधार गर्न तिहारपछि गोलमेच सम्मेलन गर्छु भन्नु अर्थमन्त्री र प्रधानमन्त्रीबीच भेट नभएको जस्तो लागेको उल्लेख गरे । उनले अर्थमन्त्री र प्रधानमन्त्रीबीच भेट नभएको हो भने मन्त्री र प्रधानमन्त्री भेट्न अर्थ समितिले सिफारिस गरेर पठाउने भन्दै व्यंग्य गरे । उनले प्रधानमन्त्री गोलमेच सम्मेलन गर्छु भन्दै हिँड्ने गरेको र अर्थमन्त्री लगानी सम्मेलन गर्ने सरकारका फरक–फरक कार्यक्रम गर्न लागेको देखिएको बताए । उनले विद्युतीय सवारीका कारण राजस्व घट्यो भनेर सरकारले पार नपाउने भन्दै आगामी दिनमा विद्युतीय गाडीको आयात बढाउने नीति लिन सुझाव दिए ।

बैठकमा बोल्दै कांग्रेस सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले सबै विषय सकारात्मक हुँदा पनि अर्थतन्त्र संकटमा परेको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्याको जवाफ अर्थमन्त्रीले मात्रै नभएर समग्र सबैले दिन नसके मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताए । उनले पछिल्लो समय नेपालको कमजोर आर्थिक वृद्धिदर, बढ्दो मूल्य वृद्धि रहेको बताए । उनले मुलुकको अर्थतन्त्र आत्मनिर्भर हुनुपर्छ भने पनि आत्मनिर्भर अर्थतन्त्रमा जान नसकेको बताए ।

पूर्वअर्थमन्त्री कार्कीले देश विकासमा सबैको ध्यान जानुपर्ने समय भएपनि त्यस्तो नभएको गुनासो गरे । उनले अहिले ऋण बढ्दै गएको तर त्यसले उत्पादन दिन्छ कि दिँदैन भन्नेमा ध्यान नदिइएको बताए । उनले साना तथा मझौला उद्योगमा विश्वासको अभाव रहेको बताए । उनले नेपाल आउने पर्यटकबाट उठ्ने पैसाभन्दा नेपाली विद्यार्थी विदेश पढ्न जाँदा लाग्ने खर्च बढेको भन्दै सरकार यसतर्फ सचेत रहनुपर्ने बताए ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले सरकारले ग्रिन अर्थतन्त्रलाई प्राथमिकता लिए अर्थनीति सुधार गर्न आवश्यक रहेको बताए । उनले बजेट कार्यान्वयन गर्ने विषयमा अर्थमन्त्रीसँग अति बढी अपेक्षा भएपनि विगतका मन्त्रीको जस्तै अवस्था देखिएको बताए । उनले अर्थतन्त्रका बारेमा जानेको अर्थमन्त्रीले ल्याएका बजेटमा दिएको केही उधारो समर्थन फिर्ता गर्नुपर्ने अवस्था देखिएका बताए । उनले भूकम्पले पारेको क्षेतीलाई हलुका रुपमा हेर्नु नहुने बताए । उनले नियमनकारी निकायहरु बीमा प्राधिकरण र धितोपत्र बोर्डले डरलाग्दो सेटिङमा देश गाँजिएको खबर बाहिर आएको बताए ।

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार असोजसम्ममा विदेशी मुद्राको सञ्चिति १६ खर्ब ४३ अर्ब रूपैयाँ पुगेको हो। यसअघि कोभिड कालिन समयमा यस्तै सञ्चितिमा रेकर्ड बनेको थियो।

२०७८ मंसिरमा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब रूपैयाँ पुगेको थियो। डलरको आधारमा भने यस्तो सञ्चिति २०७७ चैत यताको उच्च हो।

डलरमा यस्तो सञ्चिति हाल १२ अर्ब ३३ करोड डलर रहेको छ। २०७७ चैतमा १२ अर्ब ३६ करोड थियो। अहिले नेपाली मुद्राको तुलनामा डलरको भाउ उच्च रहेकोले पनि रूपैयाँको आधारमा पनि यस्तो सञ्चिति हालसम्मकै उच्च पुग्न सहयोग पुगेको हो।

हाल भइरहेको वस्तु तथा सेवा आयात अनुसार यस्तो सञ्चितिले मुलुकको १० महिना ९ दिन आयात धान्छ।

रेमिटेन्समा वृद्धि हुँदा, पर्यटक आगमनमा भइरहेको वृद्धि र आयातको वृद्धिदर खुम्चिएकोले पनि विदेशी मुद्राको सञ्चितिमा वृद्धि भएको हो।

तीन महिनामा ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको पहिलो त्रैमासको वित्तीय रिपोर्ट अनुसार पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३०.० प्रतिशतले वृद्धि भई खर्ब ६५ अर्ब ३४ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४९ हजार २९७ रहेको समेत बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ४७ हजार ९३२ र ५७ हजार ८६१ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई ४ खर्ब ४ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter