एमालेका ११ सय स्वयंसेवक भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौँ , मंसिर ०३ गते । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सहयोग गर्न नेकपा (एमाले) को स्वयंसेवक टोली काठमाडौँबाट प्रभावित क्षेत्र प्रस्थान गरेको छ । गत १७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोट र रुकुम पश्चिमका अधिकांश नागरिक घरबाहिर छन् ।

पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सहयोग गर्न ९एमाले०केन्द्रीय टोली ३ मङ्सिर आइतबार त्यसतर्फ प्रस्थान गरेको हो । पार्टी केन्द्रीय सदस्य किरण पौडेलको संयोजक रहेको सो टोलीलाई शनिवारै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्माण सामग्री हस्तान्तरण गरेर बिदाइ गरेका थिए ।

बिदाइ कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य रघु पन्त, कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरूको उपस्थिति थियो । भूकम्पले १२ जिल्लामा २६ हजार ५२८ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

३५ हजार ३९५ घरमा आंशिक क्षति भएको छ । यो तथ्याङ्क जिल्ला प्रशासन र पालिकाले उद्धार तथा आपत्कालीन राहतपछि सङ्कलन थालेयताको हो । एक सय ५३ जनाको ज्यान जाने गरी १७ कात्तिकको मध्यराति गएको भूकम्पबाट भएको भौतिक क्षतिको तथ्याङ्क सङ्कलनकै क्रममा छ ।

भूकम्प पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सरकारले ठोस कदम चाल्न सकेको छैन । जाजरकोटमा चिसोबाट पाँचजना भूकम्पपीडितको ज्यान गइसकेको छ ।

टोलीमा २५ जना रहने गरी ४० अलग–अलग टोली निर्माण गरिने एमालेले जनाएको छ । ४० टोलीले भूकम्प प्रभावित क्षेत्रका अलग अलग स्थान छनोट गरी पीडितहरूको पुनः स्थापना र घर टहरा पुनर्निर्माण सहयोग गर्नेछ । टोलीले दुई साता काम गर्नेछ । पुनः स्थापना र पुनर्निर्माण नसकिए आवश्यकता अनुसार समय बढाएर सहयोग गर्ने एमालेले जनाएको छ ।

११ सय जना स्वयंसेवकमध्ये लुम्बिनी प्रदेशबाट २ सय, कर्णाली प्रदेशबाट १ सय ५०, सम्पर्क समन्वयबाट १ सय, सुदूरपश्चिम प्रदेशबाट ५०, बागमती प्रदेशबाट ५०, जना हुनेछन् । त्यसै गरी गण्डकी प्रदेशबाट ५०, विशेष प्रदेशबाट, ५०, कोशी प्रदेशबाट ५० र मधेस प्रदेशबाट ५० जना खटिनेछन् ।

टोलीले बढी प्रभावित क्षेत्रमा पुगेर भग्नावशेष हटाउने र आवश्यकता अनुसार घर टहरा निर्माण गर्नेछ । चिसो बढेसँगै दीर्घ रोगी, सुत्केरी तथा गर्भवती महिला, वृद्ध वृद्धा र बालबालिका समस्यामा परेका छन् ।

उनीहरूको पुनः स्थापनालाई केन्द्रित गरेर भग्नावशेष व्यवस्थापन सहित पुन निर्माण अभियान सुरु गरिने संयोजक किरण पौडेलले जानकारी दिए । पौडेलले ११ सय स्वयंसेवकमध्ये जाजरकोटमा ७ सय र रुकुम पश्चिममा ४ सय स्वयंसेवक खटिने बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter