अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र एक मत

काठमाडौँ, मङ्सिर १५ गते । मुलुकको अर्थतन्त्र सुधारका लागि सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । सरकार र निजी क्षेत्रबिच सहकार्य हुँदा मात्र देशको अर्थतन्त्र सुधार्न सकिने विश्वास लिइएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिक साधारण सभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अर्थतन्त्र सुधारका लागि सबै निकायबिच समन्वय र सहकार्यको आवश्यकता औँल्याइएको हो ।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रका समस्या देखाएर केही स्वार्थ समूहले अवाञ्छित फाइदा उठाउन खोजिरहेको बताउनुभयो । अहिलेको व्यवस्थाप्रति स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको भए पनि त्यसविरुद्ध सरकार जिम्मेवारीका साथ प्रस्तुत हुने उहाँको भनाइ छ ।

अर्थतन्त्र सुधारमा स्वयम् प्रधानमन्त्रीले गम्भीर पहल लिएको भन्दै उहाँले चाँडै अर्थतन्त्र लयमा फर्किने दाबीसमेत गर्नुभयो । सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको, पुँजीबजारले गति लिएको र घरजग्गा व्यवसाय लयमा फर्किएको उहाँको भनाइ छ ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका समस्याको कारण अर्को निकायलाई देखाएर कसैले पनि आफू पन्छिन नहुने बताउनुभयो । मौद्रिक नीतिमार्फत मात्रै अर्थतन्त्र सुधार गर्न नसकिने पनि गभर्नर अधिकारीको भनाइ छ । “बैङ्क वित्तीय संस्थाको खराब कर्जा केही बढेको छ । अन्यथा उनीहरूको नियमन र अनुगमनमा राष्ट्र बैङ्क जिम्मेवारीका साथ लागेको छ”, गभर्नर अधिकारीले भन्नुभयो, “अहिले जसले काम नगरे पनि मौद्रिक नीतिले गर्न दिएन भनेर आरोप लगाइने गरेको छ । काम कोही पनि नगर्ने तर दोष मौद्रिक नीतिलाई दिएर मात्र उम्कने प्रवृत्ति छ ।”

कुनै बैङ्क तथा वित्तीय संस्थाले ऋणीसँग बढी ब्याज लिएको भए राष्ट्र बैङ्कलाई जानकारी गराउन पनि गभर्नर अधिकारीले अनुरोध गर्नुभयो । बैङ्कले बढी ब्याज लिएको पाए राष्ट्र बैङ्कले फिर्ता गराउने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो । गभर्नर अधिकारीले गत आर्थिक वर्षमा बैङ्क वित्तीय संस्थाले बढी लिएको चार अर्ब ७६ करोड बराबर ब्याज फिर्ता गराएकोसमेत स्मरण गराउनुभयो ।

बजेटमा भएका कुरालाई राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत सहयोग गर्ने पनि गभर्नर अधिकारीले स्पष्ट पार्नुभयो । बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले अहिले कर्जाको ब्याजदर एक प्रतिशतले घटेको बताउनुभयो । त्यस्तै, बैङ्कको आधारदर (बेसरेट) एकल अङ्कमा रहेको जानकारी गराउनुहुँदै उहाँले ब्याजदर अझै घट्दै जानेसमेत बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले सरकार र राष्ट्र बैङ्कले अर्थतन्त्र समस्यामा छ भनेर स्वीकार गर्नुपर्ने बताउनुभयो । अर्थतन्त्र समस्यामा छ भनेर स्विकार्न सके मात्र समाधानका उपाय खोज्न सकिने उहाँको भनाइ छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालमा झन्झटिलोको प्रक्रियाका कारण लगानी भित्रन नसकेको उल्लेख गर्नुहुँदै साना र मझौला उद्योग प्रवर्द्धनमा जोड दिइनुपर्ने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter