एनसेल खरिद–बिक्री शंकास्पद, सरकारले तत्काल छानबिन गर्नुपर्छः सत्ता गठबन्धन; यस्तो आयो सरकारको धारणा

काठमाडौं, मङ्सिर १९ गते। सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यावस्था अुनकुल खरिद–बिक्री नभएको बताउनुभयो। उहाँले शेयर खरिद–बिक्रीको कुरा शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिनुभएको हो।

उहाँले भन्नुभयो, ‘‘सरकारमा संलग्न राजनीतिक दलका शीर्ष नेताको बैठक बसेको हो। एनसेलको सम्बन्धमा पछिल्लो समयमा एनसेलको शेयर खरिद–बिक्री लगायतका जुन कुरा आएका छन्, यो कुराहरु अत्यन्त ज्यादा गम्भीर छ। जति पनि काम कुरा भएका छन्। त्यो नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने जुन बाध्यात्मक कानुनी व्यवस्था छ, त्यसका अुनकुल भएको छैन। जति पनि गतिविधि भएका छन्, ती शंकास्पद छन्। त्यसमा प्रश्न उठेका छन्।’’

उहाँले यो विषयमा गम्भीर भएको प्रधानमन्त्रीले बताउनुभएकोसमेत उल्लेख गर्नुभएको छ। लेखकले भन्नुभयो, ‘‘यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। यसलाई देशको हित प्रतिकुल कुनै काम हुन नदिने र नेपालको प्रचलित कानुन बमोजिम अध्ययन गर्ने कुरा भएको छ। यो बैठकले पनि प्रधानमन्त्रीले भन्नुभएको कुरा ठिक छ भन्ने निष्कर्षमा पुगेको छ।’’

प्रमुख सचेतक लेखकले एनसेल शेयर खरिदबिक्रीका बारेमा मन्त्रिपरिषद्ले पनि निर्णय गर्ने र सरकारका निकायरुले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार रहेको उल्लेख गर्नुभयो।

बैठकमा एनसेल खरिद बिक्रीको बारेमा सरकारले तत्काल छानबिन गर्नुपर्ने र सूक्ष्म ढंगले यसमा गहिरो अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ। ‘‘यो विषयलाई देश र जनताको हितमा कानुन बमोजिम गर्नुपर्छ भन्ने निष्कर्ष भएको छ। मन्त्रिपरिषद्ले पनि यसमा आवश्यक निर्णय गर्छ। सरकारका निकायले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार छ’’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिद–बिक्रीमा भएको अनियमितताको विषयमा विभागीय मन्त्रीसँग छलफल गर्नुभएको हो । मंगलबार साँझ प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा सहभागी शीर्ष दलका नेता र विभागीय मन्त्रीसँग छलफल गर्नुभएको हो । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाश शरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँगै सरकारमा सहभागी दलका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो ।

एनसेल प्रकरणमा यस्तो आयो सरकारको धारणा

नेपाल सरकारका प्रवक्तासमेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको छ ।

मङ्गलबार साँझ सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘‘दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित समाचारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न सम्माननीय प्रधानमन्त्रीले मिति २०८० मंसिर १८ गते सम्बन्धित निकायलाई निर्देशन दिइसक्नु भएको छ ।’’

नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘‘अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएमा नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउनेछ । नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानुनको पालना गर्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको छ।’’

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter