पाथीभरा केबलकार तेह्र महिनामा निर्माण गरिसक्छौं : ढकाल

चन्द्र पन्दाक / ताप्लेजुङ, पुस ६ गते। पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणको काम सुरु गरेको तेह्र महिनाभित्र सम्पन्न गरिने बताउनुभएको छ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा प्रस्ताव गरिएको केबलकार निर्माणको काम सुरु गरेको १३ महिनाभित्र सम्पन्न गरी केबलकार सञ्चालनमा ल्याइने अध्यक्ष ढकालले बताउनुभएको हो।

सदरमुकाम फुङ्लिङमा सरोकारवालाको सहभागितामा शुक्रबार आयोजित अन्तरक्रियामा तत्काल निर्माणको काम सुरु गर्ने वातावरण बनाउनका लागि उहाँले सबै पक्षलाई आग्रह पनि गर्नुभयो। पाथीभरा दर्शन केबलकार परियोजनाको काम सुरु गर्ने वातावरण बनेमा तत्काल काम थाल्ने र यसका लागि स्थानीय सरोकारवालाले साथ दिनुपर्ने उहाँले बताउनुभयो।

नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका ढकालले केबलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणसहित सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बताउनुहुँदै अब काम सुरु गर्न मात्र बाँकी रहेको जानकारी दिनुभयो। उहाँले निर्माणको काम थाल्ने वातावरण बनेको अवस्थामा आउँदो फागुनको तेस्रो साता अघि नै परियोजनाको सिलान्यास गरी काम थाल्ने पनि बताउनुभयो।

केबलकार परियोजना निर्माणमा अवरोध गर्दै आएको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले राखेको मागहरु केबलकार कम्पनीसँग सम्बन्धित नभएको बताउनुहुँदै उहाँले केही सम्बन्धित विषयमा आवश्यक छलफल गर्न पनि कम्पनी तयार रहेको बताउनुभयो। सर्वोच्च अदालतमा दर्ता भएको मुद्दासहित सङ्घर्ष समितिको अधिकांश माग कम्पनीसँग सम्बन्धित नभएको उहाँले बताउनुभयो।

अध्यक्ष ढकालले पाथीभरा केबलकार कोशी प्रदेशकै गौरवको परियोजना भएको उल्लेख गर्दै सबैभन्दा बढी लाभ ताप्लेजुङवासीलाई हुने बताउनुभयो। स्थानीयलाई रोजगारीसँगै यहाँको आर्थिक गतिविधि, पर्यटन विकास लगायतमा परियोजनाले ठूलो सहयोग पुग्ने उहाँले दाबी गर्नुभयो। यस्तै स्थानीयले उठाएको सामाजिक उत्तरदायित्व, परियोजनाको शेयर लगायतका सवालहरुमा राज्यको ऐन, नियम र व्यवस्थामा भएअनुसार पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।

अन्तक्र्रियामा सहभागी राजनीतिक दलका प्रतिनिधिलगायत अधिकांशले केबलकार परियोजनाको काम तत्काल सुरु गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमले स्थानीयको मागलाई सम्भव भएसम्म सम्बोधन गरेरै भए पनि पाथीभरामा केबलकार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो। राज्य आफैंले अर्थात तीनै तहको सरकारले लगानी गरेर केबलकार परियोजना निर्माण गर्न नसक्ने बताउनुहुँदै सांसद बोखिमले लगानी गर्न इच्छुक निजी कम्पनीलाई काम गर्ने वातावरणका लागि स्थानीय तयार हुनुपर्ने बताउनुभयो।

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले पनि स्थानीय र सङ्घर्ष समितिले राखेको मागमा समझदारी जुटाएर भए पनि काम गर्नुपर्ने बताउनुभयो। उहाँले आवश्यकताअनुसार निरन्तर छलफलमा बसेर सहमति जुटाई काम थाल्नमा ढिलो गर्न नहुने बताउनुभयो। फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पनि केबलकार परियोजना निर्माण गर्नु जिल्लावासीको हितमा रहेको बताउनुभयो। व्यक्तिगत स्वार्थ र पुरातनवादी सोचमा रहनु नहुने नगर प्रमुख मादेनको तर्क थियो।

यता केबलकार परियोजनाको विरोध गरिरहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले भने कुनै पनि हालतमा केबलकार निर्माण गर्न नहुने बताएको छ। समितिका संयोजक श्री लिङ्खिमले लिम्बू समुदायको आस्थाको केन्द्र र ऐतिहासिकतामाथि गम्भीर असर पुग्नेभन्दै परियोजना कार्यान्वयन गर्न नदिने बताउनुभयो।

उहाँले मुक्कुमलुङमा केबलकार निर्माण गर्न निजी व्यावसायिक कम्पनीलाई दिएको अनुमति, स्वीकृति र सम्झौताहरु खारेज गर्नुपर्ने सङ्घर्ष समितिको माग रहेको बताउनुभयो। त्यस्तै रैथाने याक्थुङ (लिम्बू) तथा स्थानीय समुदायहरुको साँस्कृतिक मुन्धुमी आधारमा बनाइएका संरचनाको संरक्षण गर्दै मुक्कुमलुङको विकास, संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्ने, स्थानीय रैथाने आदिवासी अधिकारवालाहरुको सहमति, नेतृत्व र संलग्नतामा मुक्कुमलुङ क्षेत्र विकास समिति गठन गर्नुपर्नेलगायत पाँचवटा आफ्ना मुख्य मागहरु रहेको उहाँले बताउनुभयो। मागहरु पूरा नभएसम्म केबलकार निर्माणमा अवरोध कायम रहने र सङ्घर्ष जारी राख्ने पनि उहाँले बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter