थारु खानाको स्वाद चखाउँदै, मनग्य पैसा कमाउँदै

अविनाश चौधरी / धनगढी, पुस १० गते । थारु समुदायमा प्रचलित खानाका परिकारबाट राम्रो आम्दानी हुन थालेको छ । होटल व्यवसाय गर्नेहरूले परम्परागत थारु खानाबाट गतिलो आयआर्जन गर्न थालेका हुन् ।

ढिक्री, घोङ्घी, गँगटा, झिङ्गे माछा, बङ्गुरको मासु, अन्दिक भात लगायतका परिकार थारु समुदायको मौलिक परिकार हो । मेला, महोत्सवमा यस्तो परिकार गजबले बिक्नेगरेको छ ।

पहिलो पटक चाख्न चाहनेदेखि लिएर स्वाद लिदैं आएकाहरू थारु खानाका लागि पैसा तिर्नेगरेका छन् । प्रायः सबैजसो मान्छेले थारु परिकार मन पराउने गरेको १२ वर्षदेखि यसकै व्यापारमा संलग्न टीकापुरकी पुनम चौधरीले बताउनुभयो ।

उहाँले मेला, महोत्सवमा थारु खानाको परिकार बेचेर दैनिक १५ देखि २० हजार रुपियाँ आम्दानी हुनेगरेको बताउनुभयो । त्यस्तै, लम्कीचुहा नगरपालिका–७ चाँगाबारीकी अनिता कुश्मीले परम्परागत थारु खानाको परिकार बिक्री गर्न थालेको डेढ दशक भइसक्यो ।

मेला, महोत्सवमा यसको व्यापार गरेर आफूले दैनिक १० देखि १२ हजार रुपियाँ कमाउनेगरेको अनिताले बताउनुभयो । “कुनै कुनै दिन अलि बढी पनि बिक्री हुन्छ” उहाँले भन्नुभयो ।

गोदावरी नगरपालिका –५ गेटीकी आरती दहितलाई पनि धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा थारु परिकार बिक्री गर्न भ्याइ नभ्याई भएको थियो । मौलिक पहिरनमा चिटिक्क सजिएकी उहाँले १२ दिनमा डेढ लाखसम्मको कारोबार गर्नुभयो । आरतीले भन्नुभयो, “यस्तो व्यापारले आफ्नो संस्कृति, संस्कार पनि झल्किन्छ । धेरथोर कमाइ पनि हुन्छ ।”

थारु खानाको परिकार कुनै नौलो होइन । थारु समुदायको घरमा दैनिक छाक टार्न वा चाडपर्वविशेषमा पाक्ने परिकार नै हुन् । तर, यस्ता खानाका पारखीहरूले मेला, महोत्सवमा पैसा हाल्न पछि नपर्ने गरेकाले परम्परागत खानाको व्यापार राम्रो हुनेगरेको छ ।

थारु खानाको परिकार स्वादिलो र अर्ग्यानिक रहने गरेकाले धेरैले यस्ता परिकार मन पराउने गरेको कैलारी गाउँपालिका –६ गदरियाका सिद्धार्थ सोनीको तर्क छ । आफू गैरथारु भए पनि तीन वर्षदेखि थारु खानाका परिकारको व्यापार गरिरहेको उहाँले सुनाउनुभयो ।

“यसभन्दा अगाडि म भारतको गोवामा सेफको काम गर्थे” सोनीले भन्नुभयो, “उताबाट फर्केपछि यही काम गरिरहेको छु ।” उहाँका अनुसार मेला, महोत्सवमा होटल राखेमा दैनिक १५ देखि २० हजार आम्दानी हुने गर्दछ । थारु चेली भित्र्याएका सोनीले थारु संस्कृति, संस्कार र खानाको परिकारलाई नजिकबाट नियाल्नु भएको छ । बसोबास थारु गाउँमै रहेकाले यस्ता परिकार बनाउन अभ्यस्त पनि हुनुहुन्छ, उहाँ ।

परम्परागत खानाको परिकारप्रति पछिल्लो समय विदेशी पर्यटकसहित विभिन्न समुदायका व्यक्तिको आकर्षण बढ्दैगएको छ । व्यापार गर्न जान्नेले परम्परागत खानाबाटै कमाइरहेको थारु बुद्धिजीवी ठाकुर करियाप्रधानले बताउनुभयो । “आयआर्जनको रूपमा मात्र नभई कला, संस्कृति प्रवर्धनको हिसाबले पनि यो राम्रो काम हो” उहाँले भन्नुभयो ।

विगतमा होमस्टेमा यस्तो परिकारको व्यापार सीमित देखिन्थ्यो । अचेल थारु परिकारमात्र बिक्री गर्न होटल पनि खुल्न थालेका छन् । धनगढीमा वीरेन्द्र दहित र बसन्ती चौधरीले थारु परिकारमात्रै बिक्री गर्नेगरी ‘दहिटान घर’ होटल सञ्चालन गर्नुभएको छ । उहाँहरूको होटलमा पाइने परिकारसँग रमाउन थारुदेखि गैरथारु पुग्नेगरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter