विदेशबाट फर्केर नाम र दाम कमाउँदै युवा कृषक

बोमलाल गिरी / नवलपुर, पुस १५ गते । नवलपुरको बुलिङटार गाउँपालिका–४ देउरालीका ३४ वर्षीय लक्ष्य आले मलेसियामा चार वर्ष, कतारमा तीन वर्ष ९ महिना गरी ७ वर्ष ९ महिना विदेशी भूमिमा पसिना बगाउनुभयो ।

विदेशको कमाइ पनि राम्रो थियो । चाडपर्वमा विशेषगरी तिहारको भाइटीकामा इष्टमित्र, आफन्त र परिवारले टीका र मालाले उहाँलाई कज्याइ राख्यो । त्यही सम्झनाले उहाँको मन कुँडियो ।

गाउँघरमा सबैले तिहारमा रमाइलो गर्दैगर्दा उहाँ बिहानै उठेर ड्युटी जानुपर्ने बाध्यता थियो । विदेशी साहुले नेपाली संस्कार र संस्कृति नबुझेकाले चाडपर्वमा बिदा माग्दा पनि नदिएपछि उहाँको मन बरालियो । त्यसपछि विदेश नगई गाउँमै सुरु गर्नुभयो बाख्रा पालन, अदुवा र अम्रिसो खेती ।

लक्ष्यजस्तै कथा सोही ठाउँका ३५ वर्षीय दलबहादुर आलेको पनि छ । पाँच वर्ष संयुक्त अरब इमिरेट्स (युएई) बसेर बिदामा आएका दलबहादुर बिदा सकिएपछि पनि विदेश फर्किनु भएन । युएईको राम्रो कमाइ छाडेर गाउँकै माटोमा काम गरेर परिवार चलाउन कस्सिएका दलबहादुरलाई बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले विदेश बिर्सायो ।

दैनिक बिहान सबेरै उठेर घरबाट लगभग ३५ मिनेटको पैदल दूरीको हु¥यान डाँडामा रहेको उहाँहरूको आफ्नै बाख्रा फर्ममा पुग्ने लक्ष्य र दलबहादुर आलेको दैनिकी यतिबेला कृषि कर्मले भरिएको छ । युएईमा वार्षिक ३ लाखभन्दा बढी नेपाली रुपियाँ कमाउने दलबहादुरले गाउँ फर्किएसँगै बाख्रा मात्र पाल्नु भएन । आफ्नै ७ रोपनी जमिनमा अदुवा लगाउनुभयो, पाखामा अम्रिसो रोप्नुभयो अनि केही बोट सुन्तला हुर्काउनुभयो ।

बिस्तारै बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले आम्दानी दिन सुरु गरेपछि लक्ष्य र दलबहादुरले विदेश बिर्सिनुभयो । उहाँहरूले विदेश मात्र बिर्सिनु भएन, परिवारसँगै साँझ बिहान घरको खाना खाएर गरेको कृषि कर्मबाट आएको आम्दानीले मिठो आत्मसन्तुष्टि मिलेको छ ।

‘विदेशमा लाखौं रुपियाँ कमाए पनि स्वदेशमा आफ्नै परिवारसँगको बसाइ मिठो हुने रहेछ, लक्ष्यले भन्नुभयो, ‘विदेशको लाखलाई स्वदेशको हजारले जित्दोरहेछ, जव आत्मसन्तुष्टि मिल्छ । त्यही आत्मसन्तुष्टि र आत्मसम्मानका लागि फेरि फर्केर विदेश जान मन लागेन ।’

अहिले उहाँको फर्ममा ७० भन्दा धेरै बाख्रा पुगेका छन् । परिवारसँगै बसेर बाख्रा पालन, अदुवा खेती र अम्रिसोबाट भएको आम्दानीले उहाँको मन खुसी भएको छ । ‘७ वर्ष ९ महिना विदेशमा धेरै हण्डर खाएँ, वर्षको २ लाख कमाउन पनि मुस्किल थियो । अहिले परिवारसँगै बसेर वर्षमा ३ देखि ३ लाख ५० हजारसम्म आम्दानी भएको छ, उहाँले भन्नुभयो ।

देउराली बाख्रा फर्म दर्ता गरेर काम सुरु गरेका दलबहादुरले सुरु गरेको व्यावसायिक बाख्रा पालनबाट खोरमा ७५ वटा बाख्रा भएका छन् । बाख्राबाट वार्षिक १ लाख ५० हजार आम्दानी हुदैँआएको र फर्मलाई अझै बिस्तार गर्ने सोच रहेको उहाँले सुनाउनुभयो । त्यस्तै, अदुवा र अम्रिसोबाट वार्षिक एक लाखदेखि एक लाख ५० हजारको हाराहारीमा आम्दानी हुनेगरेको उहाँको भनाइ छ ।

बाख्रा फर्ममा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट प्राविधिक सहयोग पाउने गरेको उहाँहरुले बताउनुभयो । यातायातको सुविधा भएका कारण बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाका लागि व्यापारीहरु गाउँमै पुग्नेगरेको बुलिङटार ४ का वडाध्यक्ष मिनबहादुर आलेले बताउनुभयो । देउरालीका प्राय सबै घरबाट एकजना वैदेशिक रोजगारमा गएको भए पनि लक्ष्य र दलबहादुरको कृषि कर्म अरु युवाका लागि उदाहरणीय बनेको वडा अध्यक्ष आलेको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter