तरकारीले बजार नपाउँदा किसान चिन्तित

सुर्खेत, पुस १९ गते । तरकारीले बजार नपाएपछि सुर्खेतका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आसमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । २७ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका वीरेन्द्रनगर नगरपालिका–१० का प्रेमबहादुर चर्मकारले तरकारीले बजार र मूल्य नपाउँदा बारीमा नै कुहिन थालेको बताउनुभयो । उहाँले २५ कट्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको छ । प्रतिकिलो ५० रुपियाँसम्ममा बेच्दै आएको टमाटर एक्कासि भाउ घटेर प्रतिकिलो २५ रुपियाँ पुगेपछि टिप्नै छाडेको उहाँले बताउनुभयो । छ/सात क्विन्टल टमाटर बारीमै नटिपेर कुहिन सुरु गरेको भन्दै उहाँले बजारको कुनै टुङ्गो नै नहुँदा समस्या भएको जानकारी दिनुभयो । मागभन्दा बढी तरकारी उत्पादन भएपछि तरकारी खपत नहुँदा घाटा हुन थालेको छ ।

भारतबाट ठुलो परिमाणमा तरकारी आयात हुनाले यहाँका किसानको उत्पादनले बजार पाउन नसकेको उहाँको भनाइ छ । “मान्छेले सबैभन्दा सजिलो तरकारी खेती हो भने पनि खेती गर्दाको लगानी, दुःख, कठिनाइ धेरै हुने गर्छ । जुन अरू खेतीमा छैन,” उहाँले भन्नुभयो । उहाँले बारीमा लगाएको काउलीको मूल्य ३० रुपियाँ प्रतिकिलो पनि नपाएको गुनासो गर्नुभयो । बारीमा उत्पादन भएको बन्दा ११ रुपियाँमा बेच्न बाध्य भएको उहाँको भनाइ छ । अघिल्लो सिजनमा काउली प्रतिकिलो १० रुपियाँ र बन्दा प्रतिकिलो सात रुपियाँमा बेचेको भन्दै उहाँले अहिले काट्न ढिला हुँदा बन्दा बारीमै कुहिन थालेको बताउनुभयो । उपभोक्ताले काउली किनेर खाँदा प्रतिकिलो ४० रुपियाँसम्म पर्न गए पनि आफूहरूले बेच्दा घाटा खाएर बेच्नु परेको उहाँको भनाइ छ ।

सरकारले समयमा नै अनुदानमा रासायनिक मल नदिनु, नगरपालिकाले किसानको खेतबारी समय समयमा अवलोकन गरेर परामर्श दिने संस्कारको विकास नहुनुलगायत कारण किसान समस्यामा परेका उहाँले बताउनुभयो । सरकारले न्यूनतम समर्थन मूल्य उपलब्ध नगराउँदा पनि समस्या भइरहेको किसानको गुनासो छ । तरकारी खेतीमा निकै समस्या भएको भन्दै उहाँले जग्गाको भाडा बुझाउन नसक्दा जग्गासमेत छाड्नुपर्ने बाध्यता रहेको बताउनुभयो । चर्मकारले आफ्नो बारीमा उत्पादन भएको काउली, बन्दा, टमाटर, सिमी र मुला बिक्री नभएको जनाउनुभयो । साढे सात लाख रुपियाँबाट व्यवसाय सुरु गर्नुभएका उहाँले व्यवसाय बढाएर १७ लाखसम्म पु¥याउनुभएको छ तर आम्दानी सोचे जस्तो नभएको उहाँको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिका–९ की सुशीला खड्काले जङ्गली जनावरले तरकारी बाली नाश गर्ने बताउनुभयो । उहाँले १२ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ । उहाँको चार कट्ठामा लगाएको काउली, आलु, बन्दा, टमाटर र प्याजसमेत जङ्गली जनावर जरायोले सखाप पारेको छ । खुला बारीमा लगाएको तरकारी उत्पादन राम्रो भए पनि जङ्गली जनावरले हैरानी दिँदा समस्या भइरहेको उहाँले बताउनुभयो । एकातर्फ बजार र मूल्यको समस्या छ भने अर्कोतर्फ जरायोले तरकारी बाली खाइदिने हुँदा समस्या भएको खड्काले बताउनुभयो । रातिको समयमा खुला बारीमा लगाएको तरकारी जरायोले सखाप पारेको छ । वार्षिक दुई लाखसम्म आम्दानी गर्ने भए पनि यो वर्ष जरायोले तरकारी सखाप पारेको उहाँले सुनाउनुभयो । सोही वडाकी टीका वलीले तरकारीको बिक्रीले नै घरखर्च टार्ने गरेको र अहिले आम्दानी नभएपछि मर्कामा परेको बताउनुभयो । उहाँले पनि सात कट्ठा जग्गामा तरकारी खेती गर्नुभएको छ । यतिखेर काउली, बन्दा, मुला, आलु र सागलगायतका तरकारी उहाँको बारीमा छन् । जङ्गली जनावरको हैरानीले तरकारी खेती नै छोड्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । जनावरबाट बचाउन नगरपालिकासँग टनेलको माग गरे पनि सुनुवाइ नभएको उहाँको भनाइ छ ।

यसैबिच सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बजारको अनिश्चितता हटाउँदै कृषिमा लगानी बढाउन जोड दिएको छ । नगरपालिकाले कृषिजन्य वस्तुको बजारीकरणमा देखिएका समस्या समाधान गरी कृषिमा सरकारी तथा निजी क्षेत्रबाट लगानी बढाउनुपर्ने निष्कर्ष निकालेको नगर प्रमुख मोहनमाया ढकालले बताउनुभयो । ‘बजारको अनिश्चितता, कृषि लगानीमा जोखिम’ सम्बन्धी वीरेन्द्रनगरमा भएको संवाद कार्यक्रममा ढकालले यस्तो

बताउनुभएको हो । कृषि तथा पशुजन्य वस्तुको बजारीकरणमा देखिएका समस्या क्रमशः सुधार गर्दै लैजाने पालिकाले योजना बनाएको उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter