गाउँ रित्तिने क्रम बढेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त

अमरराज नहर्की / तनहुँ, पुस २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले गाउँगाउँमा विकास र सुविधा पुगेको बताउनुभएको छ । राष्ट्रपति पौडेलले रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा गाउँमा पुगेको विकास र सुविधाको उपभोग गर्ने व्यक्ति कोही नहुने हुन् कि भन्ने चिन्ता लागेको बताउनुभयो ।

शुक्रबार तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका आफूहरू आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौँतारिने अवस्था रहेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अबका दुई–चार वर्षमा सबै गाउँमा कालोपत्रे सडक पुर्‍याउन हामी लागेका छौँ तर समस्या त्यही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने हुन कि हैनन् ? विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौँतारिने हाम्रो हालत छ ।

राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रम शक्तिको पलायन भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले यहाँ पढ्ने र पढाउने दुवैथरि मेरा प्रशंसाका पात्र हुनुहुन्छ । यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो सहर गएर उतै बस्नुभयो । गाउँको समस्या यही हो ।

राष्ट्रपति पौडेलले आफूले पहिलो चोटि चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाँडोमा उभिएर “गाउँबाट अस्थिर भएको मनलाई गाउँमा नै आधुनिक सेवा र सुविधा ल्याएर गाउँमा नै बसौँ बसौँ बनाउँछु’’ भनेको स्मरण गर्नुभयो । आफूले ग्रामीण स्वावलम्बनअन्तर्गत मोटर गाडी र स्वास्थ्य चौकी अनि सातौँ विद्युतीकरणको खाका लिएर त्यहाँ पुगेको र अहिले सबै गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार पुगेको बताउनुभयो । उहाँले गाउँ गाउँमा सबै विकास र सुविधा पुगे पनि गाउँ रित्तिने क्रम नटुटेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि दोस्रो पटक गृह जिल्ला पुग्नुभएको राष्ट्रपति पौडेलले आफूले बैदी–छिपछिपेको डाँडा र मादी सेती काली किनारमा उभिएर देशको समृद्धिका मुख्य आधार–कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको र यसका लागि पहिलो खाँचो सुशासनको भएको बताउँदै आएको स्मरण गर्नुहुँदै आफू त्यही एजेण्डामा आज पनि उभिएको स्पष्ट पार्नुभयो ।

उहाँले हामीले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी रहेको र अबको शिक्षा पनि यिनै विषयमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘हाम्रो राष्ट्रसँग जुन मलिलो माटो छ, स्वच्छ जलवायु छ, बायो डाइभर्सिटी छ । त्यसलाई हामीले चिन्न सकेनौँ । हामी फोस्रा नारामा बढी बहकियौँ । कुन उचाइ र कुन पाटोमा के उब्जनी हुन्छ ? त्यो ठम्याएर खेती गरौँ । जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गरौँ ।’’

उहाँले हाम्रो संस्कृति र हाम्रो प्रकृतिको कोरीबाटी गरेर पर्यटन पूर्वाधारहरूको विकास गरे गाउँमै रोजगारी र आम्दानी आउने बताउनुभयो । पौडेलले भन्नुभयो, ‘‘हिमालबाट उर्लेर बग्ने हाम्रा नदीनालाबाट हजारौँ मेघावाट ऊर्जा उत्पादन गरी छिमेकमा समेत बिक्री गरौँ, हामी यहीबाट धनी हुन्छौँ । आफ्नो परिवार तड्पाएर विदेशतिर भौँतारिन पर्दैन । आफ्नै नाभीको कस्तुरी सुगन्ध खोज्दै भिरभिरै लतारिनु पर्दैन । आफैँले आफैँलाई चिनौँ–गाउँमुखी बनौँ– नेपालमुखी बनौँ, हाम्रो स्कुलमा पढाउने यही नै हो असली राष्ट्रवाद ।’’

राष्ट्रपति पौडेलले शिक्षा ज्ञान, चेतना र देशको सर्वाङ्गीण विकासको आधारशीला भएको बताउनुहुँदै शिक्षाको साथसाथै जीवनको आदर्श उच्च बनाउने र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने नैतिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘सिपबिना तथा आचरणबिनाको नागरिकबाट देश संवृद्ध हुन सक्दैन । सामुदायिक विद्यालयहरूको शैक्षिकस्तर वृद्धि गरी सिपवान र शीलवान नागरिक बनाउनेतर्फ हामी सबैको ध्यान जानुपर्छ ।’’ सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरूपको शिक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरूपको शिक्षा प्रदान गर्नेतर्फ अगाडि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter