होमस्टे प्रवर्धनका लागि महोत्सव

अविनाश चौधरी / धनगढी, पुस २० गते । कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको थारु होमस्टे गाउँ भादामा होमस्टे महोत्सव जारी रहेको छ । होमस्टेको प्रचारप्रसार एवम् प्रवर्धनका लागि महोत्सव आयोजना गरिएको हो ।

प्रदेशकै जेठो यो थारु होमस्टे विविध कारणले फष्टाउन सकिरहेको छैन । त्यसकारण होमस्टेको प्रचारप्रसार तथा प्रवर्धन गर्न र थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको सदुपयोग एवम् जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको थारु होमस्टे गाउँभन्दा पर्यटन विकास तथा व्यवस्थापन समितिले जनाएको छ ।

योभन्दा पछि सञ्चालन भएका बर्दियाको डल्ला, नवलपुरको अमलटारी थारु होमस्टेले तुलनात्मक रूपमा फड्को मारे पनि सन् २०११ बाट सञ्चालनमा आएको थारु होमस्टे गाउँ भादा अझै पाहुना अभाव समस्या झेलिरहेको छ ।

महोत्सवको उद्घाटन गर्नुहुँदै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले यस्ता महोत्सव सञ्चालनबाट कला, संस्कृति संरक्षण र पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । होमस्टेको विकास गर्न सकेमा पर्यटक आगमन बढ्न सक्ने उहाँको भनाइ छ ।

महोत्सवमा थारु खानपानका परिकार, थारु सीपकला तथा भेषभूषा, थारु देउथान अवलोकन, लहरमा गाउँको अवलोकन, थारु सङ्ग्रहालयको अवलोकन, काठे पिङलगायत आकर्षणको रूपमा रहेको छ । यसैगरी, महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय थारु कलाकारबाट कार्यक्रम प्रस्तुति भइरहेको आयोजकले जनाएको छ ।

महोत्सवको एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताउनुभयो । होमस्टेमा चहलपहल बढाउन समितिले हरेक वर्ष होमस्टे महोत्सव आयोजना गर्दैआएको छ । पुस २२ गतेसम्म महोत्सव सञ्चालन हुने अध्यक्ष चौधरीले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter