सहिदहरूको विवरण सच्याउने मन्त्री परिषद्को निर्णय; ट्रंक र डेडिकेटेड लाइनको विवाद सुल्झाउन समिति

काठमाडौँ, पुस २४ गते । नेपाल सरकार मन्त्री परिषदबाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्याइने भएको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरूको विवरण सच्याउने, नेपाल राजपत्रमा प्रकाशन हुन छूट सहिदहरूको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले राष्ट्रिय विकास परिषदमा नेपाल सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी र व्यक्तिहरू मध्येबाट २५ जना सदस्यहरू मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पेस गरेको राजीनामा स्वीकृत गर्ने र रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने तथा रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरेको छ ।

ट्रंक र डेडिकेटेड लाइनको विवाद सुल्झाउन सरकारले बनायो समिति

सरकारले ट्रंक र डेडिकेटेड लाइनको विवाद सुल्झाउन पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन गरेको छ । ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतका अनुसार मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन गरेको हो ।

मन्त्रीपरिषद् बैठकले पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको मन्त्री बस्नेतले रातोपाटीलाई जानकारी दिए । समितिमा उद्योग मन्त्रालयका सहसचिव र ऊर्जा मन्त्रालयका सह–सचिव समेत सदस्य छन् ।

वर्षौंअघिको ट्रंक र डेडिकेटेड महसुलको विवाद यतिबेला उत्कर्षमा छ । २०७२ सालदेखिको महसुल विवादमा नेपाल विद्युत् प्राधिकरणले २०७५ सालमा बिलिङ गरेको थियो । त्यसयता निरन्तर लम्बिरहेको महसुल विवादको बक्यौता बढेर २२ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

यही पुसको पहिलो सातादेखि विद्युत् प्राधिकरणले धमाधम उद्योगको विद्युत् लाइन काट्दै आएको थियो । विद्युत् महसुल विवाद लम्बिएपछि प्राधिकरणले हालसम्म २४ उद्योगको लाइन काटिसकेको छ । अब मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार उद्योगको लाइन समेत जोडिनेछ ।

उद्योगीहरुले निरन्तररुपमा पूर्वन्यायधिसको नेतृत्वमा उच्चस्तरीय समिति बनाउनुपर्ने बताउँदै आएका थिए । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भेटेर उच्चस्तरीय समिति बनाउनुपर्ने र त्यसको नेतृत्व पूर्वन्यायधिसले गर्नुपर्ने माग राख्दै आइरहेका थिए ।

रिलायन्स स्पिनिङ मिल्सका पवन गोल्यानले समेत पूर्वन्यायधिसको नेतृत्वमा समिति चाहिने बताएका थिए । उनले रातोपाटीसँग कुरा गर्दै पूर्वन्यायधिसको नेतृत्वमा समिति चाहिने र समितिले गर्ने निर्णय नै अन्तिम हुनुपर्ने माग राख्दै आएका थिए ।

यसबाहेक, उद्योगीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री शक्तिबहादुर बस्नेतलाई समेत भेटेका थिए । उद्योगीको निरन्तर लविइङपछि र प्राधिकरण र उद्योगीको निरन्तर टसलपछि अन्तिममा समिति नै गठन गर्ने निर्णयमा मन्त्रीपरिषद् पुगेको हो ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ भने आफूसँग उद्योगको बक्यौता रकम उठाउनुबाहेकको विकल्प नै नरहेको बताउँदै आएका छन् । उनका अनुसार वर्षौदेखिको विवादित विषयकारुपमा रहेको महसुल विवादलाई किनारा लगाउनै पर्ने स्थितिमा आफू रहेको बताउँदै आएका छन् । आज बसेको पूर्वाधार विकास समितिमा उद्योगको बक्यौता उठाउनुको विकल्प नरहेको बताएका थिए ।

मन्त्रीपरिषद्ले नै शक्तिशाली समिति गठन गरेपछि भने कुलमानमाथि दबाब कम हुन सक्छ । हिजोमात्रै प्रधानमन्त्री दाहालले उद्योग पनि चल्ने र बक्यौतापनि उठ्ने गरी अघि बढ्नुपर्ने बताएका थिए । उनले बक्यौता छाड्न नसकिने र उद्योग चल्नबाट पनि रोक्न नहुने बताएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter