टेलिकमको अप्टिकल फाइबर ७४ जिल्लामा पुग्यो

काठमाडौँ, पुस २५ गते । नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटिटिएच ७४ जिल्लामा पुगेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयबाटै रुकुमपूर्वको रूकुमकोट र रुकुमपश्चिमको मुसीकोटमा एफटिटिएच नेटवर्क वितरणको भर्चुअल सुरुवात गरेसँगै रुकुमपूर्व र रुकुमपश्चिमका सदरमुकाममा एकैसाथ अप्टिकल फाइबर सेवा आरम्भ भएको छ । यसबाट ग्राहकले द्रूतस्तरको इन्टरनेट, फोन र टेलिभिजन हेर्ने सुवधा प्राप्त गर्नेछन् ।

रुकुमपश्चिमको चौरजहारी र आठबिसकोटमा यसअघि नै एफटिटिएच सेवा विस्तार गरिएको भए पनि रुकुमपूर्व भने यो सेवा विस्तार हुने नयाँ जिल्लाको रूपमा थपिएको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो– ‘‘योसँगै आजदेखि देशका ७४ जिल्लामा नेपाल टेलिकमको एफटिटिएच सेवा पुगेको घोषणा गर्न पाउँदा गौरव महसुस भएको छ । बाँकी तीन जिल्लामा पनि जतिसक्दो चाँडो सेवा पुर्‍याउन नेपाल टेलिकमलाई आग्रह गर्न चाहन्छु ।’’

अब कर्णालीका हुम्ला, मुगु र डोल्पामा अप्टिकल फाइबर पुग्न बाँकी छ । नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्र थप दुई जिल्ला मुगु र डोल्पामा एफटिटिएच सेवाको पहुँच विस्तार गर्ने योजना वार्षिक कार्यक्रममै राखेको जानकारी दिँदै मन्त्री शर्माले यो कामलाई शीघ्र रूपमा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘ ‘एकातिर ७७ वटै जिल्लामा सेवा विस्तारका लागि लाग्नुपर्ने छ भने अर्कोतिर जिल्ला सदरमुकाबाट पालिका र वडा तहसम्म सेवा विस्तारका लागि ध्यान दिनुपर्ने आवश्यकता छ ।’’

सल्यानबाट करिब एक सय किलोमिटर अप्टिकल फाइबर तानेर मुसीकोटहुँदै रुकुमकोटसम्म पुर्‍याएर दुवै जिल्लाका सदरमुकाममा एकैसाथ आजदेखि सेवा आरम्भ गर्न सफल भएकोमा नेपाल टेलिकम तथा यस कार्यमा निरन्तर खट्ने कर्मचारी र प्राविधिकहरूलाई धन्यवाद दिँदै मन्त्री शर्माले द्रुत क्षमताको इन्टरनेट सेवा प्राप्त गर्न सफल भएकोमा दुवै जिल्लाका बासिन्दालाई बधाई ज्ञापन पनि गर्नुभयो ।

सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले पछिल्लो समयमा भूकम्पबाट प्रभावित रुकुमपश्चिम, जाजरकोटलगायत १९ जिल्लामा नमुना सेवा पुर्‍याउने जिल्लाको रूपमा अभियान थालिएको जानकारी दिनुभयो ।

रुकुम,रोल्पा नेपालमा गणतन्त्र स्थापनाका लागि बलिदान गर्ने अग्रणी जिल्ला भएको उल्लेख गर्दै उहाँले हिजो जनताले बलिदान गरेर आजको राजनीतिक उपलब्धि प्राप्त भएकाले अब त्यस क्षेत्रका जनताको सेवालाई सरकारले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिनुभयो ।

रुकुमको जीवनरेखाको रूपमा रहने गरी मध्यपहाडी लोकमार्ग विस्तार भएपछि यी जिल्लाको भूभागलाई समेट्ने करिब १२४ किलोमिटर खण्ड राष्ट्रिय राजमार्गसँग जोडिएको उल्लेख गर्दै मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएकै बेलामा तत्कालीन सरकारले मध्यपहाडी लोकमार्ग आर्थिक वर्ष २०६४र०६५ देखि यो रूपान्तरणकारी योजनाको रूपमा अघि सारेको स्मरण गर्नुभयो ।

‘‘राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्गको सबै खण्डमा अप्टिकल फाइवर पुर्‍याएर मध्यपहाडी लोकमार्गलाई सूचना महामार्गको रूपमा स्थापित गर्ने सरकारको लक्ष्य रहेको छ । मन्त्री शर्माले भन्नुभयो– ‘‘यसबाट त्यसको क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक लगायतका समग्र क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास लिएको छु ।’’

रुकुमपूर्व र पश्चिम दुवै दुर्गम क्षेत्रका जिल्ला भएकाले पूर्वाधारको क्षेत्रमा गर्नुपर्ने धेरै कार्य बाँकी रहेको औँल्याउँदै उहाँले यसका लागि विकासका प्राथमिकता निर्धारण गरी तिनै तहका जनप्रतिनिधि र पदाधिकारी तथा कर्मचारीहरूको आपसी समन्वयात्मक पहलकदमीबाट उपलब्धि हासिल गर्न सकिने धारणा राख्नुभयो । रुकुमपूर्वका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीले सदरमुकामसम्म द्रुत गतिको इन्टरनेट पुर्‍याएकोमा धन्यवाद ज्ञापन गर्दै यो सेवालाई गाउँगाउँसम्म विस्तार गरिदिन आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समिति अध्यक्ष कृष्णबहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा टेलिकमका निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडीले कम्पनीका सेवा प्रवाहको बारेमा जानकारी गराउनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter