लगानी सम्मेलनमा सम्झौताको तयारी

मीनराज भण्डारी / काठमाडौँ, पुस २७ गते । मुक्तिनाथ जानका लागि लगानी बोर्डसमक्ष प्रस्तावित केबलकारको अद्यावधिक विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरिएको छ । उक्त केबलकारको निर्माता मुक्तिनाथ दर्शन प्रालिले बुधबार वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) सँगै अद्यावधिक गरिएको डिपिआर बुझाएपछि बोर्ड र मुक्तिनाथ दर्शनबिच आयोजना लगानी सम्झौता (पिआइए) गर्न बाटो खुलेको जनाएको छ ।

मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुण सुवेदीका अनुसार यसअघि मुक्तिनाथले २०७७ मङ्सिर १५ गते बोर्डलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । उहाँले भन्नुभयो, “यसअघि बोर्डलाई बुझाइएको डिपिआरका आधारमा मन्त्रीपरिषद्को निर्णयबाट इआइएको अनुमति मिलेको थियो । डिपिआर र इआइएको समय लामो भएकाले अहिले पुनः डिपिआरलाई अद्यावधिक गरेर बोर्डसमक्ष बुझाएका छौँ ।”

बोर्डले अद्यावधिक डिपिआर अध्ययन गरी पिआइए सम्झौता हुने र त्यसपछि आयोजना कार्यान्वयनको बाटो खुल्ने उहाँले बताउनुभयो ।

५५ अर्ब १८ करोड रुपियाँ लागतमा निर्माण हुने यो परियोजना अघि बढाउन बोर्डमा इआइए बुझाएको र बोर्डमार्फत वन तथा वातावरण मन्त्रालय हुँदै पुनः बोर्डको बैठकले प्रस्ताव स्वीकृत भए सरकारसँग आयोजना विकास सम्झौता हुने उहाँको भनाइ छ । आगामी लगानी सम्मेलनमा आयोजनाको अन्तिम सम्झौता हुने गरी काम अघि बढेको बताउँदै उहाँले इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्याक्ट र लगानी (इपिसिएफ) मोडलमा बन्ने यस परियोजनामा लगानी गर्न भारतको हैदरबादस्थित के एन्ड आर इन्जिनियरिङ लिमिटेडसँग यसअघि नै लगानीबारे सहमति भइसकेको जानकारी दिनुभयो ।

के एन्ड आरले केबलकार बनाउन भारतीय मुद्रामा लगानी गर्ने प्रारम्भिक समझदारी भएको र मुक्तिनाथले प्रशासनिक र कानुनी प्रव्रिmया पूरा गरेपछि मूल्य निर्धारणका आधारमा पूर्ण सम्झौता हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो “पर्वतको मोदी गाउँपालिकाको सेराफाँटबाट सुरु हुने यस परियोजनामा समझदारी अनुसार कुल रकमको ८० प्रतिशत अर्थात् ४४ अर्ब रुपियाँ के एन्ड आर इन्जिनियरिङले लगानी गर्ने छ । दुई प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा, सात प्रतिशत सर्वसाधारण र ११ प्रतिशत संस्थापकको स्वपुँजी लगानी हुने छ ।”

परियोजना सञ्चालनपछि गण्डकी प्रदेशमा पर्यटकीय गतिविधि बढाउन, संसारको ध्यान नेपालतर्फ आकर्षित गर्न कोसेढुङ्गा साबित हुने बताउँदै उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सहयोग पुग्ने दाबी गर्नुभयो ।

मुक्तिनाथ दर्शन प्रालिका सचिव सुमित्रा पाण्डेले परियोजना शिलान्यास भएको मितिले बढीमा चार वर्षभित्र केबलकार निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोजनालाई आवश्यक पर्ने ९० प्रतिशत जग्गा खरिद प्रव्रिmया भइसकेको र आयोजना स्थलमा कटान हुने रुख गणना सकिएको छ ।”

कालीगण्डकी नदी र मोदी नदीको जलाधार क्षेत्र हुँदै जाने आयोजना पर्वतको सेराफाँटबाट सुरु भएर मुक्तिनाथ मन्दिरनेरको रानीपौवासम्म केबलकार सञ्चालन हुने उहाँले बताउनुभयो ।

आयोजनाले १७७.३८२ हेक्टर वन क्षेत्र प्रयोग गर्नेछ । ८१.०१४ किलोमिटर लामो हुने केबलकार विश्वकै लामो हुने दाबी गरिएको छ । यसका १९ वटा स्टेसनमध्ये छ वटा स्टेसनमा अनिवार्य ओर्लिनुपर्ने, नौ वटा स्टेसनमा चढ्न र ओर्लिन पाइने र अन्य स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुने छ । केबलकारमा ७७६ वटा गोन्डोला राख्न प्रस्ताव गरिएको छ ।

परियोजना एक हजारदेखि तीन हजार सात सय मिटर उचाइसम्म पुग्ने र वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ । यो परियोजना सञ्चालनमा आएपछि १३ मेगावाट बिजुली खपत हुने छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter