पृथ्वी जयन्तीमा राप्रपाको जलपान, प्रधानमन्त्री प्रचण्डसहित शीर्षनेता उपस्थित; नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्नुपर्छ: कमल थापा

काठमाडौं, पुस २७ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको चियापान समारोहमा शीर्षनेताले उपस्थिति जनाउनुभएको छ।

शुक्रबार पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित चयापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरुको उपस्थिति थियो।

कार्यक्रममा राप्रपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो। बिहान ११ बजे भृकुटीमण्डपबाट र्‍याली निकालेर सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेर पुनः भृकुटीमण्डपमा पुगेपछि चियापान कार्यक्रम सुरु भएको थियो।

राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा वर्षेनी विभिन्न दलका नेताहरू लगायतलाई निम्त्याएर जलपान समारोह गर्दै आएको छ।

अध्यक्ष लिङ्देनले काठमाडौं र जिल्ला-जिल्लामा पनि कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाइएको बताए।

‘गत वर्षभन्दा पनि व्यापक रूपमा पृथ्वी जयन्ती मनाइएको छ। पार्टीका नेताहरूलाई खटाएर देशैभर कार्यक्रम भएका छन्,’ उनले भने, ‘कार्यक्रममा प्रधानमन्त्री, सभामुख, पूर्वप्रधानमन्त्रीहरू, दलका नेताहरू, कुटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी हुनुभयो, धन्यवाद दिन चाहन्छु।’

राप्रपाले उठाइरहेका मुद्दा पार्टी विशेषको मात्र नभई राष्ट्रिय एकतासँग जोडिएका विषय भएको बिस्तारै पुष्टि भइरहेको र दलहरूले स्वीकार गरिरहेको दाबी अध्यक्ष लिङ्देनको छ।

उनले कविता प्रतियोगितामा सहभागी भएकाहरूलाई पनि धन्यवाद दिएका छन्।

नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्नुपर्छ: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदान कुनै संस्था वा राजनीतिक व्यवस्थासँग मात्रै सम्बन्धित नभएकाले त्यस रूपमा हेर्न नहुने बताएका छन् । थापाले राष्ट्र निर्माता शाहको जन्म जयन्तीलाई राजकीय रूपमा मनाउन र उनको तस्बिर नेपाली नोटमा अंकित गर्न सरकारसँग माग गरे ।

२०३ औं पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रवार पार्टीले काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरे । उनले कसैलाई पनि निषेध नगर्ने खालको राजनीतिक प्रणालीको विकास गर्न सकेमात्रै मुलुकमा शान्ति, राजनीतिक स्थायित्व र आर्थिक विकास सम्भव हुने धारणा राखे ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरु बीचको वृहत् मोर्चा बनाएर मात्रै मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्न सकिने बताए ।

‘जहाँसम्म हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने कुरा छ । यो केवल राप्रपा वा राप्रपा नेपाल मात्रै मिलेर पनि हुँदैन । यो त सबै राष्ट्रवादी, प्रजातान्त्रिक, देशभक्त शक्तिहरूको बिचमा एकता र एउटा वृहत् मोर्चाको आवश्यकता पर्दछ ’, उनले भने, ‘ पृथ्वीनारायण शाहको योगदान कुनै राजनीतिक व्यवस्था वा संस्थासँग मात्रै सम्बन्धित छैन । यो वास्तविकतालाई बुझेर सिंगो राज्यले नै पृथ्वीनारायण शाहको योगदानको संस्मरण गर्नुपर्दछ । राष्ट्र निर्माताको सम्मान गर्दै नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्ने र साथसाथै केवल सार्वजनिक बिदा दिने मात्रै होइन, भव्य रूपमा राष्ट्रिय एकता दिवस सरकारी स्तरबाटै पनि मनाइनुपर्दछ भन्ने मेरो आग्रह छ ।’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter