माओवादीको विधान सम्मेलन फागुन १, २ र ३ गते हुने; आगामी वर्षको बजेट जनताको निगरानीमा बन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, पुस २८ गते। नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन फागुनको पहिलो हप्ता हुने भएको छ।

शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले सो सम्मेलन फागुन १, २ र ३ गते गर्ने औपचारिक निर्णय गरेको हो। सम्मेलनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड पनि तय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो।

बैठकले राष्ट्रिय सभा निर्वाचनको तयारीको लागि पार्टीको तर्फबाट पनि समन्वय समिति बनाएको छ। पार्टी प्रवक्ता सापकोटाकाअनुसार माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउने निर्णय पनि गरेको छ। त्यसैगरी पार्टी स्थायी कमिटीको अर्को बैठक माघ २६ गते बोलाउने निर्णय पनि बैठकले गरेको छ।

प्रवक्ता सापकोटाले भन्नुभयो, ‘‘सबैभन्दा मुख्य एजेण्डा विधान सम्मेलन हो। विधान सम्मेलनको बारेमा फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय भयो। त्यसका लागि प्रतिनिधिहरु छान्ने मापदण्ड तय गरिएको छ। यसको अतिरिक्त अर्को स्थायी समिति बैठक माघको २६ गते बस्ने निर्णय गरिएको छ। पार्टीले राष्ट्रिय सभा निर्वाचनको तयारीका लागि समन्वय समिति बनाएको छ। त्यसले तयारी गर्ने भन्ने निर्णय भएको छ। अर्को पार्टी एकताको विषयमा छलफल भएको थियो। पार्टी एकताको विषयमा पार्टी एकता संयोजन समिति हाम्रै पार्टी अध्यक्षको नेतृत्वमा बनाउने भन्ने निर्णय भएको छ।’’

माओवादी केन्द्रले पार्टीको हालै सम्पन्न पार्टीको विशेष रुपान्तरण अभियानले पार्टीका नेता, कार्यकर्ताको मूल्यांकनको वस्तुवादी आधार तयार पारेको प्रारम्भिक विश्लेषण गर्दै त्यसको विस्तृत छलफल आगामी माघ २६ गते बोलाइएको स्थायी कमिटी बैठकमा गर्ने निर्णय पनि गरेको छ।

आगामी वर्षको बजेट जनताको निगरानीमा बन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताउनुभएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट आम नेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गरिने बताउनुभएको हो।

नेपाली जनताको निगरानी, हस्तक्षेपकारी भूमिकाको आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने कुरा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले बैठकमा जोड दिनुभएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रधानमन्त्री प्रचण्डले बैठकमा विगतमा भन्दा बढी आर्थिक विकासमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको थियो। त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले कूटनीतिक क्षेत्रमा पनि सरकारले महत्त्वपूर्ण उपलब्धि हात पारेको दाबी गर्नुभएको पनि प्रवक्ता सापकोटाले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘अन्तर्राष्ट्रिय कूटनीतिमा पनि महत्त्वपूर्ण उपलब्धि भएका छन्। त्यसमध्ये पनि आज अध्यक्षले धेरै राम्रोसित जोड दिएर ब्रिफिङ गरेको कुरा आर्थिक विकास नै हो। आर्थिक विकासमा अहिलेसम्म भएको कुरामा चाहिँ तीन वटा कुरामा बढी जोड दिएर भन्नुभएको छ। अबको बजेट बनाउँदा पहिलो कुरा त सरकारमै छलफल गरिन्छ। बजेट बनाउँदा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको स्तरसम्म उठाइन्छ। त्यसो भएपछि जनताको के चाहना छ ? जनताले के चाहेका छन् ? भन्ने कुरा पनि हुन्छ। अहिले बजेट निर्माणका लागि मन्त्रालयमा सिलिङ बन्दैछ। त्यो सिलिङ बनाउने क्रमसँगै अहिले सबैसँग छलफल गरिन्छ। त्यो सिलिङ बनाउने कुरामा पनि आमुल परिवर्तन गर्ने उहाँको भनाइ छ। उहाँको शब्दमै मैले भन्नुपर्दा इतिहासमै अहिले यो पहिलो पटक आर्थिक विकासमा सर्वाधिक जोड दिइएको छ।’’

प्रधानमन्त्री प्रचण्डले बजेटको सिलिङ तय गर्दा पनि विगतको भन्दा उन्नत स्तरले गर्ने जानकारी पार्टीका नेताहरुलाई गराउनुभएको माओवादी केन्द्रले जनाएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter