गोबरसँगै खेल्ने कृषक भन्नुहुन्छ, ‘वर्षमा एक करोडको दुध बेच्छु’

ठाकुरप्रसाद आचार्य / बागलुङ, माघ १८ गते । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यतालाई बागलुङका कृष्णप्रसाद पौडेलले गलत साबित गर्नुभएको छ । पौडेल व्यावसायिक पशुपालनबाट वार्षिक एक करोड रुपियाँभन्दा बढीको दुध बिक्री गर्नुहुन्छ ।

बागलुङ नगरपालिका–४ ओडारचौरका ६० वर्षीय पौडेलले मेहनत गरी स्वदेशमै पनि मनग्य पैसा कमाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । २० वर्षदेखि व्यावसायिक पशुपालन गर्दै आउनुभएका पौडेलको फर्ममा यतिखेर गाई–भैँसी गरी ६५ वटा पशुचौपाया छन् ।

फर्ममा यतिखेर ४० वटा दुहुँना गाई–भैँसीहरूबाट दैनिक दुईसय ८० देखि ३०० लिटरसम्म दुध उत्पादन हुन्छ । उन्नत जातका मुर्रा भैँसी, जर्सी र होलस्टेन गाई पौडेलले पाल्नुभएको छ ।

थोरै रकमबाट थालेको पशुपालनमा अहिले करिब दुई करोड रुपियाँभन्दा बढी लगानी भइसकेको उहाँले जानकारी दिनुभयो । पाँच रोपनी जमिन भाडामा लिएर पौडेलले श्रीकृष्ण गाई भैँसी फर्म उद्योग सञ्चालन गर्नुभएको छ । घाँसका लागि खेत, पाखो र बारी गरी करिब दुईसय रोपनी जग्गा वार्षिक रूपमा चार लाख रुपियाँ भाडा भुक्तानी गर्नेगरी लिनुभएको उहाँले बताउनुभयो ।

गाई–भैँसीलाई आवश्यक पर्ने घाँस उक्त जमिनमा लगाउनुभएको छ । फर्ममा ६ जनालाई रोजगारी दिनुभएको छ । दुध बिक्री गर्न बागलुङ बजारमा उहाँको आफ्नै दुध डेरी पसल छ । पसलबाट प्रतिलिटर एकसय २० देखि एकसय ४० रुपियाँसम्म दुध बिक्री पौडेलले बताउनुभयो ।

उहाँले दुध उपभोक्ताको घर–घरसम्म पनि पुर्‍याउँदै आउनुभएको छ । ६० वर्षको उमेर भए पनि पौडेलको जोसजाँगर युवाजस्तै छ । कामदारसँगै दैनिक रूपमा गाई भैँसीको स्याहारसुसार, दानापानी गोबर फाल्ने काम गर्नुहुन्छ ।

रोजगारीका लागि २० वर्ष भारतको मुम्बईमा बिताउनुभएका पौडेलले २०६१ सालमा स्वदेश फर्केर बजारमा व्यावसायिक पशुपालन गर्न थाल्नुभएको हो । पर्वतको जलजला गाउँपालिका–५ अन्नेचौर निवासी पौडेलको पशुपालन फर्म साबिक धौलागिरिको पहिलो फर्मको रूपमा चिनिन्छ ।

रोजगारीका क्रममा भारतका विभिन्न स्थानमा घुमफिरका क्रममा ठुला पशुपालन फर्मको अवलोकन गरेको र राम्रो आम्दानी समेत हुने जानकारी पाएपछि स्वदेश फर्किएर पशुपालन गर्न थालेको उहाँले बताउनुभयो । ‘मैले भारतमा रोजगारी गर्दा पशुपालन फर्महरू देखे अनि यहाँ बसेर हुँदैन, नेपाल फर्किएर पशुपालन गर्दछु भनेर फर्किएँ’ उहाँले भन्नुभयो ।

पशुपालन व्यवसायबाट कमाएको पैसाले पाँच छोराछोरीलाई राम्रोसँग शिक्षादीक्षा दिएको छु, उहाँले भन्नुभयो, ‘‘म भारतमै बसेर नोकरी गरेको भए आज मेरा छोराछोरीले राम्रोसँग पढ्ने अवसर पाउने थिएनन् । राम्रो विषय पढ्न पैसाको कमी हुनेथियो ।”

दुध बिक्री गरेर कमाएको पैसाले अहिले एउटा छोरा चार्टर एकाउन्टेन बनाएको उहाँले बताउनुभयो । “एउटा छोरी सिभिल इन्जिनियर, अर्को छोरीलाई नर्स पढाएँ, अहिले सबै छोराछोरीले राम्रो जागिर खाने भएका छन्” उहाँले भन्नुभयो ।

लैनोमा गाईले एक पटकमा १० देखि १२ लिटर र भैँसीले ६ देखि ७ लिटरसम्म दुध दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो फर्मबाट अहिले दैनिक रूपमा दुईसय ८० देखि तीनसय लिटरसम्म दुध उत्पादन हुन्छ । दैनिक रूपमा करिब ३० हजार रुपियाँभन्दा बढीको दुध बिक्री हुन्छ ।”

फर्मबाट मासिक रूपमा दशदेखि १२ लाख रुपियाँको दुध बिक्री हुनेगरेको उहाँले जानकारी दिनुभयो । दानापानी र कामदार खर्च गरेर ६ लाख रुपियाँ खर्च हुनेगरेको उहाँको भनाइ छ ।

“विदेशमा गर्ने परिश्रम आफ्नै गाउँघरमा गर्नसके सफलता प्राप्त गर्न सकिन्छ” उहाँले भन्नुभयो, “मैले बिहानदेखि साँझसम्म फर्ममा काम गर्दछु । अहिले ६० वर्षको भए युवाजस्तो जोसजाँगर अझै ममा छ । यो कठिनाइको पेसा हो । यो पेसामा धेरै सङ्घर्ष छ । कतै नडगमगाई काम गर्नुपर्छ । काम सिकेर, म गर्नु सक्छु भन्ने आँट र साहस गरेर यो पेसा गरेमा सफलता मिल्छ ।’’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter