महिलालाई नौमती बाजा बजाउने तालिम

लीलाराज खड्का / बिर्तामोड, माघ २५ गते । शिवसताक्षी नगरपालिकाले नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि महिलालाई नौमती बाजा बजाउने तालिम सुरु गरेको छ ।

झापामा पछिल्लो पटक कन्काई नगरपालिका र बिर्तामोड क्षेत्रका महिलाले तालिम लिएर व्यावसायिक रूपमै नौमती बाजा बजाउन सुरु गरेसँगै शिवसताक्षी नगरपालिकाले समेत यस प्रकारको तालिमको सुरुवात गरेको हो ।

नयाँ पुस्तामा नौमती बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने मानिसहरूको समेत अभाव भइरहेका बेला शिवसताक्षी नगरपालिकाबाट नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि स्थानीय महिलालाई नौमती बाजा प्रशिक्षणको तालिम सञ्चालन गरिएको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले बताउनुभयो ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख मेगाहाङ्ग थोप्राले आधुनिक बाजाको प्रभावले नेपाल र नेपालीको मौलिकता ओझेलमा परिरहेको महसुस गरी मौलिक बाजाको प्रशिक्षणमार्फत सांस्कृतिक जगेर्ना गर्न नगरपालिकाले तालिमको आयोजना गरेको बताउनुभयो । पछिल्लो समय नौमती बाजा कुनै एउटा समुदायले मात्र बजाउने प्रचलन हट्दै सबै समुदायले यसको संरक्षण र प्रयोग गर्न थालेकाले यसको व्यावसायिकतासँगै नौमती बाजाको संरक्षण हुनेमा आफ्नो विश्वास रहेको नगरप्रमुखको भनाइ छ ।

कला संस्कृतिको जगेर्नामा सबै जाति र समुदाय लिङ्गको दायित्व बराबरी हुनेभएकाले समेत महिलालक्षित तालिमको आयोजना गरिएको शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले बताउनुभयो ।

महिलासँग उपमेयर कार्यक्रम अन्तर्गत गृहिणी महिलालाई आवश्यक ज्ञान सीप र प्रविधि समेत प्रदान गरी नेपाली मौलिकताको जगेर्ना गर्दै आर्थिक विकासमा महिलाको योगदान निर्दिष्ट गरी स्वावलम्बी बनाउने उद्देश्यकासाथ यो कार्यक्रम वार्षिक कार्यक्रममा समावेश गरिएको नगर उपप्रमुख नगरमाया कार्कीले जानकारी गराउनुभयो ।

कार्यक्रममा नगरपालिकाको २ लाख ५० हजार र सहभागीबाट ६५ हजार लागत सहभागितासहित २० जना सहभागीलाई १५ दिवसीय प्रशिक्षण प्रदान सुरु गरिएको छ । तालिम पश्चात् एक सेट नौमती बाजा समेत प्रदान गरिने जनाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter