अर्थतन्त्र लयमा फर्किसक्यो : अर्थमन्त्री डा. महत

विष्णुप्रसाद पोखरेल / दमक, माघ २८ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लयमा फर्किसकेको बताउँदै अहिले विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा रहेको बताउनुभएको छ । आर्थिक अवस्था धेरै शिथिल रहेको अवस्थालाई चलायमान बनाउन चुनौती रहेको अवस्थामा आफूहरूले काम गरेको उल्लेख गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

झापाको दमकमा आइतबार दमक उद्योग वाणिज्य सङ्घले लगाएको पाँचौँ दमक महोत्सवको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्रको बाटो बिस्तारै लयमा फर्किसकेको बताउनुभयो ।

अर्थतन्त्रका धेरै समस्याहरू समाधान भएका छन् तर सबै समस्या हल नभएका हुनसक्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘हिजो नेपाल श्रीलङ्का हुन्छ भन्ने हल्ला थियो । अहिले हामीसँग विदेशी पुँजीको सञ्चिति धेरै छ । हामीले वर्ष दिनभन्दा बढी विदेशी सञ्चितिले धान्न सक्छौँ ।’’

बाहिरबाट प्रशस्त मात्रामा पुँजी नेपालको अर्थतन्त्रमा आएको मन्त्री महतले उल्लेख गर्नुभयो । यद्यपि आएको पुँजी चलायमान नभएको उहाँको भनाइ छ ।

मन्त्री महतले कोभिडको समयमा धेरै र सस्तो ऋण प्रवाह भएको जानकारी दिनुहुँदै त्यो उत्पादक क्षेत्रमा लगानी नभएकाले यसको असर देखिएको बताउनुभयो । त्यो समयमा शेयर बजार, जग्गा कारोबार अत्यधिक लगानी भएको तर प्रतिफल ननिस्केको उहाँ बताउनुहुन्छ ।

शेयर बजार र जग्गाको कारोबारमा धेरै शिथिलता आउनुले पनि अर्थतन्त्रमा असर पुगेको उहाँको भनाइ थियो । त्यसपछि राष्ट्र बैङ्कले ऋण प्रवाहमा कडाइ गर्न थालेपछि ब्याजदर बढ्दा फेरि थप जटिलता आएको र यस कारणले नेपालमा आर्थिक मन्दी आएको उहाँको दाबी छ ।

आर्थिक मन्दीको अवस्थामा सहकारी क्षेत्रमा पनि विकृति मौलाएको र यसको असर पनि देखिएको उहाँले बताउनुभयो । मन्त्री महतले अर्बौँको कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्ने संयन्त्र प्रभावकारी नभएको फाइदा लिएर जनताको बचत रकम जथाभाबी रूपमा ऋण प्रवाह भएको पाइएको जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter