हामीलाई सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ : राष्ट्रपति

राधा लुइँटेल/नारायण तुम्बापो / पाँंचथर, फागुन २ गते । राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताउनुभएको छ ।

पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा बुधबार आयोजना गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव–२०८० को उदघाट्न गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । “हामी विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्य, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहन्छौं”, पौडेलले भन्नुभयो, “यस्तो राष्ट्र जो कसैलाई निषेध गरेर हैन, सबैलाई समान दर्जा, अधिकार र स्वामित्व दिएर बन्छ । सबैलाई एकताबद्ध गरेर बन्छ । सबैलाई बराबरी सम्मान दिएर बन्छ । आपसमा निषेध, घृणा, द्वन्द्व र अविश्वासको हैन, सम्मान, एकता, सहिष्णुता र सद्भावको विकास गर्न सकेमात्र हामी सबै सबल हुनेछौं ।”

उहाँले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः किराँत सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने पनि उल्लेख गर्नुभयो ।

“हामी वेद, मुन्धुम र त्रिपिटकले दिएको अनमोल ज्ञानको ज्योतिले प्रदीप्त छ छौं” पौडेलले भन्नुभयो, “यो भूमि हाम्रा विभूति महागुरु फाल्गुनन्दको भूमि हो र महागुरु फाल्गुनन्दले आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत संस्कृतिको उत्थान तथा संरक्षणको लागि यही साधना र सङ्घर्ष गर्नुभएको थियो । उहाँको योगदानले हाम्रो समाज र सभ्यतालाई ठूलो योगदान पुगेको छ । उहाँले स्थापना गर्नुभको ‘सत्य धर्म मुचुल्का’ को नीति र धर्म सन्देशले हामीलाई मार्गदर्शन गरिरहनेछ ।”

उहाँले अगाडि भन्नुभयो, “यी सबै हाम्रा हुन् । यी साझा सभ्यता र संस्कृतिले हामीलाई समन्वय, सामञ्जस्य, एकता, सद्भाव र उदारता सिकाएका छन् । किनभने यी एक जातिका वा धर्मका स्रोत होइनन् । वेद हामी सबैको हो । मुन्धुम हामी सबैको हो । त्रिपिटक हामी सबैको हो । हामी अनेक जात, संस्कृति, सम्प्रदायमा छौं । तर सबै हामी नै हौं र ती सबैको एकता, समभाव र सहअस्तित्व नै हाम्रो मुख्य परिचय हो ।”

राष्ट्रपति पौडेलले हामी सबै भएकैले सप्तरङ्गी र पूर्ण भएको पनि बताउनुभयो । “हामी सबै छौं, त्यसैले सप्तरङ्गी छौं, बगैँचाजस्तो । हामी अनेक रङमा छौं, त्यसैले हाम्रो सभ्यता इन्द्रेणीझैं सुन्दर छ । इन्द्रेणीको एउटा रङ निकाल्ने हो भने जसरी त्यो इन्द्रेणी इन्द्रेणी हुँदैन, त्यस्तै हाम्रो साझा र एकताबद्ध सभ्यताबाट एउटा रङ निकाल्ने हो भने, हाम्रो सभ्यता अधुरो हुन्छ”, राष्ट्रपति पौडलेको भनाइ थियो, “त्यसैले मलाई लाग्छ, हामी सबै छाैं, त्यसैले पूर्ण छौं । त्यसैले नेपाल पूर्ण छ । यही नै हाम्रो पहिचान हो । यही नै हाम्रो सभ्यता हो । यही नै हाम्रो भव्यतम संस्कृति हो ।”

यो कुरालाई स्वीकार गरेपछि मात्र हामी एक मौलिक, सबल, समावेशी र अग्रगामी राज्यनिर्माण गर्न सक्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले यही मूल आदर्श र मर्मलाई आत्मसात् गरेको छ ।”

यो अर्थमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई समावेशी, उदार, एकताबद्ध र समन्वयात्मक हुन आह्वान गरिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “म संविधानको त्यही मर्म र भावनाबाट अघि बढ्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अपिल गर्न चाहन्छु ।”

राष्ट्रपति पौडेलले देशको समृद्धिका मुख्य आधार – कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको बताउँदै भन्नुभयो, “त्यसका लागि पहिलो खाँचो सुशासनको छ । म त्यही एजेण्डामा आज पनि उभिएको छु । र, हामीले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी छ । यीनै विषयमा हाम्रो शिक्षा केन्द्रित हुनुपर्छ ।”

उहाँले हाम्रो राष्ट्रसँग जुन मलिलो माटो छ, स्वच्छ जलवायु छ, वायो डाइभर्सिटी छ त्यसलाई हामीले चिन्न नसकेको बताउँंदै भन्नुभयो, “हामी फोस्रा नारामा बढी बहकियौं । कुन उचाइ र कुन पाटोमा के उब्जनी हुन्छ रु त्यो ठम्याएर खेती गरौं । जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गरौं ।”

“हाम्रो संस्कृति र हाम्रो प्रकृतिको कोरीबाटी गरेर पर्यटन पूर्वाधारहरूको विकास गरौं । गाऊँमै रोजगारी र आम्दानी आउँछ । बसाइसराइँ रोक्न र जिल्लामै गुणस्तरीय उच्च शिक्षा दिलाउनका लागि पाँचथर बहुमुखी क्याम्पसले बहुधार्मिक र आध्यात्मिक महोत्सवको आयोजना गरेर प्रशंसनीय कार्य गरेको छ”, उहाँले भन्नुभयो ।

सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरुपको शिक्षा नीति, पाठय्क्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको शिक्षा प्रदान गर्नेतर्फ अबका हाम्रा कदमहरू केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पाँचथर बहुमुखी क्याम्पसको आयोजनामा बुधबारदेखि सुरु भएको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव फागुन ९ गतेसम्म सञ्चालन हुनेछ । वाचनप्रवीण दीनबन्धु पोखरेलको प्रमुख वाचकत्वमा सञ्चालन हुने महोत्सवमा किराँत मुन्धुममा डाक्टर चन्द्रकुमार सेर्मा र बौद्व दर्शनमा फुर्तेम्बा सेर्पाले प्रवचन दिनुहुने अयोजक पाँचथर बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter