महासमिति बैठकले पार्टीलाई वैचारिक र सङ्गठनात्मक रूपमा सबल बनाएको छ : सभापति देउवा; कांग्रेसलाई पहिलो पार्टी बनाउन लागौँ: प्रदेश सभापति

काठमाडौं, फागुन १० गते। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रूपमा समृद्ध र सङ्गठनात्मक रूपमा सबल बनेको बताउनुभएको छ। बिहीबार पार्टीको महासमिति बैठक समापन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रूपले समृद्ध र सङ्गठनात्मक रूपले सबल भएको सन्देश प्रवाह भएको बताउनुभएको हो।

उहाँले पार्टी अनुशासित, ऊर्जावान् र एकताबद्ध बनाउने सन्देश पनि प्रवाह भएको बताउनुभयो। उहाँले महासमिति बैठकले नेपाल र नेपाली काँग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्त्व राख्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले महासमिति बैठकपछि नेपाली काँग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको बताउनुभयो। सभापति देउवाले काँग्रेस सत्तारुढ गठबन्धनको प्रमुख घटक भएको भन्दै मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन सरकारलाई सहयोग गर्नु मुख्य दायित्व हुने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘महासमितिबाट गरिएका नीतिगत उद्घोष देशमा सकारात्मक तथा अग्रगामी परिवर्तनको आधार बनेका छन्। हामी यो गौरवशाली इतिहासलाई निरन्तरता दिन चाहन्छौँ। देशभित्र मात्रै होइन नेपाली काँग्रेसले गर्ने नीतिगत निर्णयहरू अन्तर्राष्ट्रिय जगतमा पनि ठुलो महत्त्व राख्दछ। नेपाली काँग्रेस देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी हो। हाम्रा नीति, कार्यक्रम र व्यवहार लोकतान्त्रिक मूल्यमान्यता, समय सापेक्ष, दूरदर्शी र जिम्मेवार हुने भएको हुँदा हामीले यो अवसर र गौरव प्राप्त गरेका हौँ। महासमितिको बैठकबाट देश भित्र र बाहिर रहनुभएका सबै नेपाली काँग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको छ भन्ने मैले विश्वास गरेको छु। नेपाली काँग्रेस वर्तमान गठबन्धनको सरकारको प्रमुख घटकको रूपमा मुलुकमा सुशासन, विकास, समृद्धि ल्याउन सरकारलाई निरन्तर सहयोग गर्न राष्ट्रहितमा काम गर्न प्रोत्साहन गर्ने हाम्रो मुख्य दायित्व हो। यो नेपाली कांगेसलाई वैचारिक रूपले समृद्ध, सङ्गठनात्मक रूपले सबल, अनुशासित, ऊर्जावान् र एकताबद्ध बनाउने सन्देश प्रवाह भएको छ। यो बैठक नेपाल र नेपाली काँग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्त्व राख्नेछ भन्ने विश्वास लिएको छु।’

सभापति देउवाले महासमितिमा प्राप्त सुझावहरूलाई आगामी केन्द्रीय समिति बैठकमा छलफल गरी प्रतिवेदनलाई परिमार्जन गरिने पनि बताउनुभयो।

महासमिति बैठकमा प्रदेश सभापतिको सुझाव : कांग्रेसलाई पहिलो पार्टी बनाउन लागौँ

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रदेश सभापतिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत हुनुपर्ने बताउनुभएको छ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा छलफलका लागि विभाजन गरिएका चार समूहबाट आएको सुझाव पेस गर्दै उहाँहरूले विगतमा गठबन्धन गर्दा कांग्रेसले नयाँ मतदातालाई आकर्षित गर्न नसकेको बताउनुभएको हो।

छलफलबाट प्राप्त सुझाव प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले विपक्षीबाट घेराबन्दीमा परेको बेलामा महासमिति सदस्यले पार्टी र देशको चिन्ता र चासोका विषयमा छलफल भएको जानकारी गराउनुभयो। उहाँले कांग्रेसको नेतृत्वमा युद्धरत माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याइएको उल्लेख गर्नुभयो। “कांग्रेस देशको प्रमुख पार्टी भएकाले दस्ताबेजका रूपमा ‘एक नीति र एक लक्ष्य’ बन्नु जरुरी छ”, उहाँले भन्नुभयो।

नेपाली कांग्रेस कोशीका सभापति उद्धव थापाले पार्टीलाई बलियो बनाउने र आगामी निर्वाचनमा पहिलो बन्ने गरी जानुपर्ने विषय उठेको जानकारी गराउनुभयो। पार्टीले युवा आकर्षण बढाउन नसकेको र गठबन्धनको विषयमा अहिले नै निर्णय गर्ने समय नभएको विषय पनि छलफलका क्रममा उठेको उहाँले जानकारी दिनुभयो।

कर्णाली प्रदेश सभापति ललितजंग शाहीले नीति प्रस्ताव सान्दर्भिक भएकाले इमानदार भएर कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो। “छलफलमा उठेका नीति प्रस्ताव अत्यन्तै समयसान्दर्भिक छन्। यसलाई इमानदारितापूर्वक कार्यान्वयनमा जानुपर्ने विषय आएको छ”, उहाँले भन्नुभयो।

गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिन हतार गर्न नहुने शाहीको भनाइ थियो। “गठबन्धन भित्र अघि वा पछि भन्ने कुरा रणनीतिक विषय हो भन्ने धारणा आएको छ। यो तत्कालीन समयले माग गर्ने विषय भएकाले अहिले नै गर्ने वा नगर्ने विषयमा निर्णय गर्न सकिँदैन”, उहाँले भन्नुभयो।

वर्तमान गठबन्धन सर्वसम्मत रूपमा गरिएकाले यसको निरन्तरताका लागि सबै इमान्दारीताका साथ लाग्नुपर्ने सभापति शाहीले बताउनुभयो। केन्द्रीय सदस्य स्वतः महासमिति सदस्य हुने प्रस्ताव खारेज हुनुपर्ने उहाँको भनाइ थियो।

मधेश प्रदेशका सभापति कृष्ण यादवले महासमिति सदस्यले निर्वाचनका समयमा बढ्दो अन्तर्घात घटाउन सके पार्टी बलियो हुँदै जाने भन्दै टिकट वितरणलाई पारदर्शी बनाउनुपर्ने सुझाव प्राप्त भएको जानकारी गराउनुभयो। “टिकट नपाएका साथीहरूले नै अर्को साथीलाई हराउन लागेकाले अन्तर्घात बढेको छ”, उहाँले भन्नुभयो।

कांग्रेसमा युवा पुस्ताको आकर्षण घट्दै गएको विषयमा मधेश प्रदेशका महासमिति सदस्यले छलफलमा उठाउनुभएको यादवले जानकारी खिनुभयो। “महाधिवेशनको फरक दुई÷दुई वर्षको गराउनुपर्दछ। यसले सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ भन्ने आवाज उठेको छ”, उहाँले भन्नुभयो। सभापति यादवले मधेशमा कांग्रेस ठुलो पार्टी भए पनि सरकारको नेतृत्व लिन नसकेको गुनासो पनि आएको बताउनुभयो।

बागमती प्रदेशका सभापति इन्द्र बानियाँले किसानलाई आधुनिक कृषितर्फ प्रोत्साहन गर्नुपर्ने, जनताका दैनिक समस्यालाई समाधानको पहल गर्नुपर्ने, सरकार र पार्टीबिच समन्वय गराउनुपर्ने, शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्नुपर्नेलगायत मागहरू उठेका जानकारी गराउनुभयो।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले केन्द्रदेखि स्थानीय तहसम्म पार्टी संरचनालाई बलियो बनाउनुपर्ने, टिकट वितरणलाई पारदर्शी बनाउनुपर्ने र आगामी निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउनुपर्ने गरी काम गर्नुपर्नेलगायत विषय उठेका जानकारी दिनुभयो।

लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले तीन तहका सरकारले संविधानले दिएको अधिकारका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्नेबारे छलफल भएको बताउनुभयो। “गैरआवासीय नेपालीहरूका लागि आगामी निर्वाचनमा मतदानको व्यवस्था गराउनुपर्ने कुरा उठेको छ। यसलाई व्यवस्थित गर्न कांग्रेसले पहल गर्नुपर्ने सुझाव प्राप्त भएको छ”, उहाँले भन्नुभयो। रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter