सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा नै समाजवादको यात्रा : प्रधानमन्त्री

काठमाडौं, फागुन ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा समाजवादको यात्रा भएको बताउनुभएको छ ।

तेइसौं मजदुर बलिदान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरेर मात्र समाजवादको आधार तयार हुने बताउनुभयो । “गरीब एवम् किसानको हकअधिकार स्थापित नहुँदासम्म समाजवाद आउन सक्दैन, सबैले आफ्नो क्षमताअनुसारको काम गर्ने कामअनुसारको दाम पाउने अवस्था आउनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “त्यसकारण सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा एकअर्कामा अभिन्न रुपले जोडिएका अवयव हुन्, समाजवादको आधार तयार पार्ने कुरा हो ।”

मजदुर–किसानको एकता एवम् सही विचार र नेतृत्वको बलमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हाम्रा सहिद, बेपत्तायोद्धाको त्याग र बलिदान खेर गयो कि भनेर सोच्न हुन्न, समावेशिता एवम् महिलाको प्रतिनिधित्व छ, उत्पीडित जाति, जनजाति एवम् मधेशी र मुस्लिमले जेजति अधिकार पाएका छन्, त्यो महान सहिद र बेपत्ताको त्याग र बलिदानबाटै प्राप्त भएको हो ।”

समाजवादी क्रान्तिको नेतृत्व मजदुर–किसानकै हुने भएकाले अबको आन्दोलनमा उहाँहरूको भूमिका बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मजुरलाई अझ राम्रोसँग सङ्गठित हुने र विचारमा अझ बढी स्पष्टता हासिल गर्न सुझाव दिनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिक्रियावादीले धावा बोल्न खोजेको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो ।

शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले सबै सहिद तथा बेपत्ता परिवारले राज्यको तर्फबाट पाउनुपर्ने परिपूरण एवम् सम्मान पाउन नसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालिन न्यायसम्बन्धी ऐन संसद्ले पारित गरेपछि बलिदानप्रति गर्व हुने विश्वास व्यक्त गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter