भजन शिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौँ , फागुन १४ गते । भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको संगीतकार चेतन सापकोटाले रातोपाटीलाई जानकारी दिए ।
आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य बिगत लामो समयदेखि विमारी रहेका थिए । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् ।
नेपाली सुगम संगीतमा उनको विशिष्ट स्थान छ । आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने सापकोटाले जानकारी दिए ।
१९९९ सालमा धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए। उनका ‘हजार सपनाहरूको, जति चोट दिन्छौं, मुटु जलिरहेछ’ लगायत गीत चर्चित छन्। २०४६ साल दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।