प्रतिबद्धताअनुसार कर्णालीमा विकासको काम भइरहेको छ : उपप्रधानमन्त्री खड्का

कालीकोट, फागुन १४ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्वाचनका बेला कर्णालीमा भएका चुनावी सभाहरूमा व्यक्त गरेका प्रतिबद्धताहरू पूरा हुँदैगएको बताउनुभएको छ ।

उहाँले निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले कालिकोटमा सम्बोधन गर्नेक्रममा बोलेको कुरामध्ये एउटा काम पूरा भएको बताउनुभयो ।

सोमबार कालिकोटको सुनथराली विमानस्थल उद्घाटन कार्यक्रममा खड्काले प्रतिबद्धताअनुसार नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्ने बताउनुभयो । कालिकोटका नागरिकलाई यातायातमा सहज हुनेगरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बताउनुभयो ।

उहाँले वर्तमान प्रधानमन्त्री र आफूले निर्वाचनका बेला कर्णालीमा गरेका प्रतिबद्धता क्रमशः पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । उपप्रधानमन्त्री खड्काले हरेक बजेटमा कर्णालीलाई प्राथमिकता दिएको भन्दै यहाँको समस्याबारे आफू जानकार रहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा सबै दलहरू एकजुट हुनु पर्नेमा उहाँको जोड छ ।

‘कर्णालीको विकासमा राजनीति गर्न हुँदैन । सबै मिलेर कर्णालीको विकासमा हातेमालो गरौँ । कर्णाली राजमार्ग, भेरी कोरिडोर, मुगुका प्रमुख सडकहरू निर्माण गर्नेदेखि विद्युत् उत्पादनका क्षेत्रका कामहरूमा पनि सबैले हातेमालो भएर लाग्नुपर्छ’ उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले कालिकोटको शिक्षा, स्वास्थ्य, पूर्वाधार र यातायाततर्फको विकासमा सबै दल एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कालिकोटको विकासका लागि केन्द्र सरकारको तर्फबाट पहल गरिरहेको छु, कालिकोटका पर्यटकीय क्षेत्रको विकासका लागि र कर्णाली प्रदेशको विकासका लागि नेपाल सरकारले एक किसिमको खाका तयार गरेको छ ।’

मुलुकमा विमानस्थल कम भए पनि जहाजको सेवा कालिकोटका गरिब जनता, सुत्केरी महिला र बृद्धबृद्धाहरूका लागि सहयोगी हुने बताउनुभयो । उहाँले जहाजमार्फत कालिकोटको पर्यटन, कृषि र अन्य विकासमा सरकारले सहयोग गरिरहेको चर्चा गर्नुभयो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले १०–१५ वर्षमा कर्णालीलाई समृद्ध प्रदेश बनाउन सकिने बताउँदै त्यसका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पर्यटनमन्त्री सुदन किराती, मुख्यमन्त्री राजकुमार शर्मा, पूर्व मुख्यमन्त्री तथा सांसद महेन्द्रबहादुर शाही र पूर्व मुख्यमन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य जीवनबहादुर शाहीलगायतको उपस्थिति थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter