पचपन्न रुपियाँबाट सुरु; कृषिबाटै करोडपति

सुनसरी / फागुन २७ गते । कृष क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राई भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्नुहुन्छ ।

कृषिबाटै नाम र दाम कमाउनु भएको उहाँ भन्नुहुन्छ, “अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावनै सम्भावना छ”, सोताङ अग्र्यानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बङ्गुरदेखि गाईसम्म पालन गर्नु भएका राईले यसैबाट वार्षिक करोडौंको कारोबार गर्दै आउनुभएको छ । कृषिबाटै उहाँले करोडौँको जग्गा जमिन जोड्नुभएको छ, भव्य घर बनाउनुभएको छ । कृषिबाट उहाँ आफूले मात्र कमाउनुभएको छैन, अरुलाई पनि रोजगारी दिनुभएको छ ।

कृषिकर्मबाटै उहाँले धरानमा अढाई बिघा जग्गा जोड्नुभएको छ भने बराहक्षेत्रमा करिब १५ बिघा किनिसक्नु भएको छ । ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाउनुभएको छ भने कतै ठूलो मात्रामा सयौं प्रजातिका फूलको नर्सरी बनाउनुभएको छ । उहाँको गोठमा ५५ वटा गाई छन् । ती गाईबाट उत्पादन भएको दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गर्नुहुन्छ ।

त्यस्तै उहाँको खोरमा अहिले १० वटा बङ्गुरका माउ छन् । तिनबाट उत्पादन भएका बच्चा बेच्नुहुन्छ भने मासुका लागि पालिएका बङ्गुर पनि बेच्नुहुन्छ । उहाँले कुखुरा, हाँसलगायतका पंक्षीहरु पनि पाल्नुभएको छ । उहाँले माटो बिना साग फलाउन सकिने हाइड्रोफोनिक प्रविधिबाट सागको खेती गर्नुभएको छ भने त्यससँगै माछा पनि पाल्नुभएको छ ।

उहाँको सोताङ अर्गानिक कृषि फर्ममा राईका बुवा, आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन् । त्यसबाहेक उहाँले १६ जनालाई रोजगारी दिनुभएको छ । हालसम्म कृषिक्षेत्रमा उहाँको लगानी नै करोडौँ पुगिसकेको छ । उहाँले धरान–७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरिरहनुभएको छ । त्यसबाहेक घरमै किन्न आउनेहरु पनि उत्तिकै हुन्छन् । तरकारी, फलफूल तथा पशुपालनबाट मासिक रु. १२ लाखको हाराहारीमा कमाइ भइरहेको उहाँ बताउनुहुन्छ ।

पचपन्न रुपियाँबाट सुरु

अहिले करोडौँको लगानी पुगेको राईको कृषि फर्मको सुरुआत भने जम्मा ५५ रुपियाँ लगानीबाट भएको थियो । उहाँ भन्नुहुन्छ, “सुरुमा ५५ रुपियाँ लगानी गरेर कृषि क्षेत्रमा लागेको थिएँ, त्यही फैलिँदै अहिले करोडौंको भएको हो ।”

सामान्य आर्थिक अवस्थाको कृष्णको परिवारसँग पहिला जम्मा छ कट्ठा जग्गा मात्र थियो । त्यसैमा बाबुले परम्परागत कृषि कर्म गर्दै आउनुभएको थियो । खासै राम्रो उब्जनी हुँदैनथ्यो । त्यसबाट जीवन धान्न नै मुस्किल पर्ने अवस्था थियो । करिब २६ वर्षअघि कृष्णले स्कुलबाट फर्किने क्रममा बाटोमा एक जना मान्छेले काँक्राको बीउ किनिरहेको देख्नुभयो । त्यसपछि बीउ बेच्नेसँग सोधखोज गर्दा राम्रो फल्ने काँक्राको बीउ हो भन्ने जानकारी पाउनुभयो । “त्यसपछि मैले पनि १० रुपियाँमा १८ वटा काँक्राको बीउ किनेर ल्याएँ”, उहाँ सम्झिनुहुन्छ, “त्यो बीउलाई मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो । त्यसबाट फलेका काँक्रा बिक्री गर्दा पाँच सय ५० रुपियाँ कमाएँ । त्यहीँबाट कृषिमा सम्भावना रहेछ भन्ने बुझेर लागिपरेको हुँ ।”

कृषिलाई परम्परागतबाट आधुनिक तरिकाले अघि बढाउने सोंच भएपनि तालिमको अवसर थिएन । उहाँका लागि त्यसबेला रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारण हुने कृषि कार्यक्रम नै तालिम बने । ती कार्यक्रम नियमित सुन्ने र हेर्ने गर्न थाल्नुभयो । पत्रपत्रिकामा कृषिका समाचार देख्नेबित्तिकै पढ्न थाल्नुभयो । उहाँ भन्नुहुन्छ, “कसैले खेतीपातीका विषयमा कुरा गरेको सुनें भने ध्यान दिएर सुन्थें, कतै पत्रपत्रिकामा कृषिका बारे लेखिएको भेटे, घरमा ल्याएर मज्जाले पढ्थें । मेरा गुरुहरु तिनै थिए ।”

खेती र पशुपालन गर्दा समस्या नआउने कुरै भएन, उहाँले पनि धेरै रोग र विभिन्न समस्या भोग्नुभयो तर समस्यासँग कहिल्यै हार मान्नुभएन । यसरी सिक्दै अघि बढाएको कृषि कर्म अहिले उहाँ अरुलाई पनि सिकाउनुहुन्छ । उहाँले केही वर्षअघि वसन्तटारमा रु. ८५ लाख लगानी गरेर आधुनिक कृषि तालिम केन्द्रका लागि भवन निर्माण गर्नुभएको छ । कृषिसम्बन्धी विभिन्न तालिम यसैमा सञ्चालन गर्नुहुन्छ । उहाँको कृषि फर्ममा अध्ययन भ्रमणमा टाढादेखिका कृषकहरु पनि आउने गरेका छन् । उहाँ भन्नुहुन्छ, ‘‘अहिले खेतीपाती र पशुपालन गर्ने तरिका मात्र होइन, आफ्ना उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण पनि दिंदै आएको छु ।’’

अर्गानिक गाउँ

धरान उपमहानगरपालिका–४ मा पर्ने वसन्तटार गाउँ अर्गानिक खेतीका लागि चर्चित छ । यो गाउँमा कृषिलाई व्यवसायीकरण गर्नमा कृष्णकै ठूलो योगदान छ । उहाँकै प्रेरणाले गाउँभर अहिले कृषि फर्महरु खुलेका छन् । कृषिबारे बुझ्न आउनेहरुका लागि यो गाउँ पाठशाला जस्तै बनेको छ ।

कृष्णले आफ्नो खेतबारी मात्र होइन पूरा गाउँलाई नै अर्र्गानिक बनाउन निक्कै मिहिनेत गर्नुपरेको थियो । अन्य गाउँलेले जस्तै कृष्णले पनि सुरुका वर्षमा धेरै उत्पादन हुने लोभमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग गर्नु भएको थियो । तर केही वर्षमा माटोको उर्वरा शक्ति हराएर उब्जनी घट्न थाल्यो । त्यसपछि उहाँले किन यस्तो भयो ? भनेर कारण खोज्नुभयो । धेरैतिर बुझ्दा थाहा भयो, रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वरा शक्ति नै हराउने रहेछ ।

बारीमा रासायनिक मल र विषादी प्रयोग गरेर आफैंले गल्ति गरेको महसुस गरी उहाँले त्यसलाई सुधार्ने बाचा गर्नु भयो । तर बिग्रिएको माटो सुधार गर्नु त्यति सजिलो काम थिएन । त्यसका लागि निक्कै मिहिनेत गर्नु परेको उहाँको अनुभव छ । माटो सुधार्नका लागि त्यसपछि कृष्णले आफैं जैविक मल उत्पादन गर्न थाल्नुभयो । जैविक वनस्पतीकै विषादी बनाउनुभयो । जैविक मल र विषादी बनाउने काम अहिले पनि गरिरहनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘‘रासायनिक मल र विषादी हाल्नु हुन्न भन्ने बुझेपछि म अर्गानिक खेतीकाे अभियन्ता बनेको हुँ ।’’

अर्गानिक खेती गर्नका लागि आफ्नो बारीमा मात्र रासायनिक मल र विषादी प्रयोग नगरेर हुने अवस्था थिएन । उहाँ भन्नुहुन्छ, ‘‘मैले मेरो बारीमा त रासायनिक मल र विषादी प्रयोग गरिनँ तर गाउँमा अरुले प्रयोग गरेपछि त्यसको असर मेरो बालीमा पनि पर्ने रहेछ । त्यसो हुँदा अर्गानिक खेती गर्न सम्भव नदेखिएपछि अरुलाई पनि बुझाउने कोसिस गरें र सफल पनि भएँ ।’’

अहिले उहाँको पाइला पछ्याउँदै वसन्तटार गाउँका एक सय ५० घरघुरीले अर्र्गानिक खेती गर्छन् । त्यसमध्ये ५५ घरको मुख्य आम्दानीको स्रोत अर्र्गानिक कृषि नै रहेको उहाँ बताउनुहुन्छ । वसन्तटार अहिले कृषि अभियन्ताहरुका लागि सिकाइको थलो बनेको छ । कृषिबाट राम्रो आम्दानी गर्नुका साथै अरुका लागि प्रेरणाका स्रोत बन्नुभएका कृष्णलाई विभिन्न सङ्घसंस्थाले सम्मान गरेका छन् । परिवारसहित कृषिमै रमाइरहनुभएका राई भन्नुहुन्छ, “कृषिमा अलि मेहनत आवश्यक पर्छ तर सम्भावनै छैन भन्ने कुरा गलत हो । पलायन हुनुभन्दा युवाहरुले आफ्नै ठाउँमा पसिना बगाए देश समृद्ध बन्छ, कसैले पनि परिवार पाल्न विदेश भौंतारिनुपर्ने अवस्था आउँदैन ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter