नेपालमा सहायता बढाउन विश्व बैङ्कसँग आग्रह

काठमाडौँ, फागुन २८ गते । विश्व बैङ्कको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्नुभएको छ । आज अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले नेपालमा विश्व बैङ्कको आर्थिक तथा प्राविधिक सहायता बढाउन उहाँसँग आग्रह गर्नुभयो ।

अर्थमन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको उहाँले सचिवालयले जनाएको छ । विश्व बैङ्क नेपालको ठुलो मध्येको एक विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको अर्थमन्त्री पुनले बताउनुभयो । सरकारको खर्च बढाउने, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता दिँदै अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैङ्कको सहयोग जरुरी रहेकामा उहाँले जोड दिनुभयो ।

“कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ । यो चुनौतीपूर्ण अवस्थामा विश्व बैङ्कबाट थप सहयोगको अपेक्षा हामीले गरेका छौँ”, अर्थमन्त्री पुनले भन्नुभयो । सार्वजनिक वित्तका क्षेत्रमा सुधार र खासगरी पुँजीगत खर्च बढाउने गरी आफूले काम गर्ने उहाँको भनाइ छ । विश्व बैङ्कको लगानीमा निर्माण प्रस्ताव गरिएको महत्त्वाकाङ्क्षी माथिल्लो अरुण जलविद्युत आयोजना, प्रदेश तथा स्थानीय सडक पूर्वाधार निर्माण, डिजिटल नेपालसम्बन्धी आयोजनाका काम नेपालले प्राथमिकताका साथ अघि बढाइरहेको मन्त्री पुनले बताउनुभयो ।

अर्थमन्त्री पुनसँगको भेटमा देशीय निर्देशक जार्बोसले विश्व बैङ्कको लगानीमा सञ्चालित आयोजनाको प्रगति सन्तोषजनक बनाउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वयका लागि ध्यानाकर्षण गराउनुभयो । विश्व बैङ्कले निर्माण गर्दै गरेको नयाँ साझेदारी रणनीतिको खाकाबारेसमेत जार्बोसले मन्त्री पुनलाई अवगत गराउनुभयो । उहाँले आगामी जुनमा काठमाडौँमा हुने विश्व बैङ्कअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठकको तयारीबारे पनि मन्त्री पुनलाई जानकारी गराउनुभयो । आइडीएले विकासोन्मुख मुलुकका लागि वित्तीय सहायता, सहुलियतपूर्ण ऋण र अनुदान प्रदान गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter