देशलाई सङ्कटबाट निकाल्न कांग्रेस र एमाले मिल्नुपर्छ : नेता कोइराला

सिराज खान / नेपालगन्ज, वैशाख २२ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देश अत्यन्तै सङ्कटको अवस्थामा रहेको बताउँदै नेपाली कांग्रेस र एमाले मिल्नुको विकल्प नरहेको बताउनुभएको छ।

शनिबार बाँकेको कोहलपुरमा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ र प्रदेश सभा ‘क’ र ‘ख’ को दोस्रो सम्मेलनको उद्घाटन गर्दै नेता कोइरालाले सो बताउनुभयो ।

नेता कोइरालाले सरकार फेरिएसँगै नीति पनि फेरिने अवस्थाले मुलुकमा सुशासन र समृद्धि तथा राजनीतिक स्थायित्व नहुँदा मुलुक आर्थिक अवस्थाबाट समेत कमजोर बन्दै गएको बताउँदै मुलुकको यो अवस्था फेर्नका लागि दुई ठुला शक्ति काँग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताउनुभयो ।

उहाँले अहिलेको अवस्था चिर्न निर्वाचन प्रणाली फेर्नु पर्नेमा विशेष जोड दिनुभयो । ‘अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कसैको पनि बहुमत पुग्ने अवस्था हुँदैन जबसम्म बहुमत पुग्दैन सरकार बनाउन असम्भव छ’, उहाँले भन्नुभयो, ‘काँग्रेस र एमाले मिल्ने हो भने करिब दुई तिहाइ पुग्छ र निर्वाचन प्रणाली फेर्न सकिन्छ । त्यसका लागि पनि दुई शक्ति एक हुनु जरुरी छ ।’

सहकारी ठगीको विषय संसदमा प्रवेश पाइसकेकाले संसदीय छानबिन समिति नबनेसम्म काँग्रेसले आफ्नो अडानबाट पछि नहट्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।

अबको चुनावमा गठबन्धन नहुने भएकाले एक ढिक्का हुन कांग्रेस कार्यकर्तालाई नेता कोइरालाले निर्देशन दिनुभयो।

उहाँले पार्टीको आन्तरिक प्रतिस्पर्धामा गुटउपगुट हुनु स्वाभाविक भए पनि आमनिर्वाचनमा टिकट जसले पाएपनि उसलाई जिताउनु सम्पूर्ण कार्यकर्ताको दायित्व भएको बताउनुभयो।

नेपाली कांग्रेस सहमहामन्त्री किशोरसिंह राठोरले मुलुकको वृहत्तरहितका लागि काँग्रेस बाहेक अरू पार्टीको कल्पना गर्न नसकिने बताउनुभयो । यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेसलाई बलियो बनाउन सङ्गठनका गतिविधिलाई चलायमान बनाउनुपर्ने बताउनुभयो ।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा खराब व्यक्तिलाई पुरस्कृत गर्ने प्रवृत्ति हाबी भइरहेको भन्दै त्यसलाई नीतिगत रूपमै निरुत्साहित गरिनुपर्नेमा जोड दिनुभयो।

काँग्रेस क्षेत्रीय सभापति पोषण केसीको अध्यक्षतामा भएको दोस्रो सम्मेलनमा काँग्रेस केन्द्रीय सदस्यहरू सञ्जय गौतम, गोपाल दहित, मधु आचार्यलगायतले धारणा राख्नुभएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter