ग्वार्को फ्लाइओभरको काम ७० प्रतिशत

विष्णु पाण्डेय / काठमाडौं, वैशाख २८ गते। ललितपुरमा बन्दै गरेको ग्वार्को फ्लाइओभरको काम ७० प्रतिशत सम्पन्न भएको छ। आयोजना पूरा हुनुपर्ने म्याद सकिएको दुई महिना बित्दा फ्लाइओभरको काम ७० प्रतिशत मात्र सम्पन्न भएको हो।

सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख नरेशमान शाक्यका अनुसार अहिले धमाधम काम भइरहेको छ। ६० जना कामदारले दैनिक १६ घण्टाका दरले काम गरिरहेको उहाँको भनाइ छ।

आयोजनाको काम फागुनमा सकिनुपर्ने भए पनि डिजाइनमा भएको परिवर्तनका कारण काम तोकिएको समयमा सम्पन्न हुन सकेन। तोकिएको काम सम्पन्न नभएपछि कम्पनीले म्याद थपका लागि असोज मसान्तसम्मको समय माग गरेको छ। तर, म्यादको थपको विषयमा अहिले निर्णय भने नभएको उहाँले बताउनुभयो।

अहिले स्लोप बनाउनेलगायतका काम जारी रहेको शाक्यले बताउनुभयो। अब पर्खाल लगाउने, ढलान गर्ने, फिनिसिङ् गर्नेलगायतका काम बाँकी रहेको उहाँको भनाइ छ ।

अहिले कोटेश्वर र सातदोबाटोतर्फको साइड र्‍याम राख्ने काम जारी रहेको शाक्यले बताउनुभयो।

जमिनले भार थेग्न नसक्ने भएर जमिनको क्षमता नै सुधार गरेर बलियो बनाउने काम भने सकिएको छ। जसका लागि जमिनमुनि चार हजार १०२ वटा पायल राखिएको छ।

पुलसम्म पुग्नको लागि आवश्यक पर्ने स्लोपको निर्माण कार्य जेठको अन्तिम सम्पन्न गर्ने योजना रहेको छ। यो १० मिटर माथिसम्म पुर्‍याउनुपर्ने भएकाले समय लाग्ने देखिएको हो।

उहाँले भन्नुभयो, “जमिनदेखि पुलसम्मको स्लोप शून्यदेखि १० मिटरसम्म उठाउनुपर्ने भएकाले यो निर्माण सम्पन्न गर्न जेठसम्म लाग्ने देखिन्छ। माटोको काम मात्र भएकाले पानी परे काम नहुने भएकाले चुनौती छ।”

यो आयोजनाको ठेक्का इन्जिनियरिङ प्रोक्युमेन्ट एण्ड कन्स्ट्रक्सन (इपिसी) मोडलको हो। इपिसी मोडल भनेको ठेकेदार आफैले डिजाइन गर्ने उसैले निर्माण गर्नुपर्ने मोडल हो।

ओभरपासको डिजाइनमा त्रुटि हुँदा केही समय मुख्य निर्माणको काम रोकिएको थियो। ओभरपास निर्माण स्थलको माटो कमजोर भएका कारण पिलरको फाउन्डेसन (जग) जमिनमुनि ३४ मिटर गाड्नुपर्ने थियो।

३४ मिटर तल गाड्नलाई जमिनमुनि केसिङ (ढलान गर्दा राख्ने फर्मा जस्तो) राख्नुपर्नेमा त्यस्तो केसिङ राख्नका लागि आवश्यक उपकरण नेपालदेखि भारतसम्म पनि नपाइएकाले अनुकूल हुने गरी डिजाइन परिवर्तन गरिएको उहाँको भनाइ छ।

यस्तो ओभरपास नेपालमै पहिलो पटक बन्न लागेको हो। यसमा पिलर प्रयोग हुँदैन। स्लोप (भिरालो) पारेर हाइट (उचाई) बनाउने र ओभरहेड ब्रिज रहनेछ।

ग्वार्को चोकबाट पश्चिम अर्थात् बिएन्डबी अस्पतालतर्फबाट चोकसम्म १८५ मिटरको लामो स्लोप बनाइनेछ। त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को स्लोप बनाइने गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख नरेशमान शाक्यले बताउनुभयो।

यसबीचमा ३५ मिटरको ओभरहेड ब्रिज रहन्छ। यसरी कुल ५४० मिटरको ओभरपास निर्माण हुन लागेको हो। स्लोपको चौडा १६ मिटर रहन्छ। ओभरपास चार लेनकै रहन्छ। बीचका लेनमा ओभरपास रहे पनि दायाँबायाँ सर्भिस लेनहरू हालकै अवस्थामा रहनेछन्।

ग्वार्को फ्लाइओभरको काम २०७९ मङ्सिर १६ गतेदेखि निर्माण सुरू गरिएको हो। निर्माण सुरू भएको १६ महिनाभित्र निर्माण सक्ने लक्ष्य थियो।

निर्माणको जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ। यो ओभरपास १७ करोड ६ लाख रुपियाँमा ठेक्का लागेको थियो। निर्माण सकिएको पाँच वर्षसम्म मर्मतसम्भारको काम पनि ठेकेदारले नै गर्नुपर्नेछ। निर्माणको रकम भने १० प्रतिशत मात्र भुक्तानी भएको उहाँको भनाइ छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter