गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब बिगो माग; मेयर निलम्बन

काठमाडौं, जेठ २१ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।
सोमबार अख्तियारले विशेष अदालतमा ५ थान मुद्दा दायर गरेको हो । फरक–फरक शीर्षकमा मुद्दा दर्ताका लागि अख्तियारले सोमबार फाइल पेस गरेको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले बताए ।
नदिजन्य पदार्थको ढुङ्गा, गिटी बालुवासहितका सामाग्रीहरू सरकारी दररेट कम कायम गरी ठेक्का दिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।
राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा दाबी गरिएको छ । अख्तियारले पेस गरेको अभियोगमा कुल एक अर्बभन्दा बढी बिगो माग दाबी गरिएको छ । राजश्व हिनामिनामा बिगो र बिगोको दोब्बर जरिवाना तथा भ्रष्टाचार निवारण ऐन अनुसार कैद पनि गर्न माग गरिएको छ । अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै मेयर महर्जन निलम्बन हुने छन् ।
आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भनी उनीहरूविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बन भए गोदावरीका मेयर
ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएको छ।
आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै उनीहरूविरूद्द विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
विशेषमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर महर्जन र अन्य कर्मचारी पदबाट निलम्बन भएका छन् । भ्रष्टाचार निवारण ऐनको दफा ३३ ले उनीहरू निलम्बनमा परेका हुन् ।
‘कुनै राष्ट्रसेवक दफा २८ को उपदफा १ को खण्ड ग दफा ३० को उपदफा ३ तथा दफा ३१ बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने छ’ ऐनको दफा ३३ मा भनिएको छ।
अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्टै मुद्दा पेश गरेको हो ।