बाँझो जग्गामा सामूहिक किवी खेती

तिलाचन पाण्डे / तम्घास, जेठ २६ गते । गुल्मीमा २३ जना कृषकहरू मिलेर ५४० रोपनी क्षेत्रफलमा सामूहिक किवी खेती गरेका छन् । जिल्लाको काली गण्डकी गाउँपालिका वडा नम्बर एक सिरकोटमा वर्षौँ देखी बाझिएको जग्गालाई सदुपयोग गर्दै ५४० रोपनी क्षेत्रफलमा व्यवसायी रूपमा किवी खेती गरेका हुन् ।

वर्षौँ देखी बाझिएर खेर गइरहेको जग्गालाई सदुपयोग गरी ५४० रोपनी क्षेत्रफलमा छ हजार ७०० बिरुवा रोपण गरी व्यवसायी रूपमा किवी खेती गरिएको उन्नतिशील कृषि फलफूल तथा पशुपक्षी कृषक समूहका अध्यक्ष पदमपानी पाण्डेले बताउनुभयो ।

पहिले सुरुमा किवी खेतीको बारेमा सुनेको मात्रै भए पनि पछि यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उद्देश्यका साथ आफूहरूले समूह नै बनाएर सामूहिक किवी खेतीको सुरुवात गरेको उहाँको भनाई छ ।

वर्षौँदेखि बाँझो रहेको जग्गामा अहिले किवी खेतीले हराभरा भएको र जग्गाको पनि सदुपयोग भएको समूहकी सदस्य तथा कृषक मनकुमारी रानाले बताउनुभयो ।

पछिल्लो समयमा युवा शक्ति विदेश पलायन हुने गरेको र देशमा सम्भावना भए पनि सम्भावनाको

खोजीमा लाग्ने चेष्टा नगरेको समूहका सदस्य तथा कृषक लक्ष्मीपति न्यौपाने बताउनुहुन्छ । आफूहरूले देशका विभिन्न स्थानमा गरिएको किवी खेतीको बारेमा अध्ययन अवलोकन गरी सिरकोटमा पनि सम्भावना देखेर किवी खेती गर्ने आँट लिएको उहाँको भनाई छ । आफूहरूले गरेको किवी खेती हेर्नका लागि विभिन्न स्थानहरूबाट कृषक समूह , सहकारीहरू आउने गरेको र आफूहरूले गर्दै आएको किवी खेतीका बारेमा अनुभव आदान प्रदान गर्दै आएको न्यौपानेले बताउनुभयो ।

युवाहरूलाई विदेश जानुभन्दा पनि स्वदेशको माटोबाटै मनग्य उत्पादन र आम्दानी गर्न सकिने भएकाले अर्काको देशमा जानका लागि रहर नगर्न र स्वदेशमा नै रहेको सम्भावनाको खोजीमा लाग्न उहाँले सुझाव दिनुभयो । पैसा र आम्दानी खाडीमा भन्दा पनि स्वदेशकै झाडीमा रहेको उहाँको दाबी छ ।

किवी खेतीका लागि पहाडी भू भाग भएकाले सिँचाइको समस्या रहेको सो समूहका सदस्य तथा कृषक तिलक राना बताउनुहुन्छ ।

अहिले पहिलो पटक केही बिरुवाहरूले उत्पादन दिन थालेको बताउँदै भविष्यमा आफूहरूको पेन्सन नै किवी हुने उहाँको भनाई छ ।

अहिले उक्त स्थानमा किवी खेतीका लागि पोल निर्माणका साथै ताजा तरकारी र साना सिँचाइ कालागि २८ लाख रुपियाँको काम भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

पछिल्लो समयमा किवी खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

जिल्लामा ६५ हेक्टर क्षेत्रफलमा किवीका बिरुवा लगाइको छ भने २० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएका बिरुवाले उत्पादन दिएको ज्ञान केन्द्रले जनाएको छ ।

२०६४ सालमा भार्सेका कृषकले सङ्खुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरुवात भएको मानिन्छ ।

समुद्री सतहदेखि एक हजार दुई सय मिटर भन्दा माथिको भूभागमा किवी खेती हुने गर्दछ । जिल्लामा एक हजार दुई सय मिटर माथिका भू भाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

जिल्लाको काली गण्डकी, चन्द्रकोट, सत्यवती, मुसिकोट, रेसुङ्गा नगरपालिकालगायत जिल्लाका १२ वटै स्थानीय तहमा खेती गर्न योग्य स्थान छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter