फेवाताल मापदण्डका संरचना तत्कालै हटाउन उच्च अदालतको आदेश

पोखरा, जेठ २७ गते । पोखरास्थित फेवातालको मापदण्डभित्रका संरचना तत्कालै हटाउन र कुनै पनि भौतिक संरचना निर्माण हुन नदिन उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । अधिवक्ता मनोज घर्तीमगरले दायर गरेको रिटमा आइतबार निर्णय सुनाउँदै उच्च अदालतले तालको निर्धारित मापदण्डभित्र यसअघि बनेका सबै संरचना हटाउन र मध्यवर्ती क्षेत्रको सुन्दरीकरण गर्न समयसीमा तोकिदिएको हो ।

‘फेवातालको पानीको स्रोतको रूपमा रहेका मुहानहरू, त्यसको बहाव क्षेत्र र समग्र जलाधार क्षेत्र समेतमा कुनै पनि भारी यान्त्रिक उपकरणको प्रयोगलाई पूर्ण नियन्त्रण गर्ने र सिमसार क्षेत्रको संरक्षणका लागि त्यसको प्राकृतिक संरचना, स्वरूप तथा अवस्थिति नखलबलिने र यथावत् कायम रहने किसिमबाट मात्र उपयोग गर्न पाउने गरी नीतिगत निर्णय गरी सो क्षेत्रमा बसोबास गर्ने, व्यवसाय गर्ने र कृषिजन्य कार्य गर्ने सबैलाई सो को जानकारी दिई त्यसको निरन्तर निगरानी र अनुगमन गर्ने प्रबन्ध मिलाउनू,’ आदेशमा भनिएको छ ।

फेवातालमा आश्रित जलचरहरूको संरक्षणको सुनिश्चितताका लागि फेवातालको जलाधार क्षेत्र र फेवातालसँग जोडिएका सिमसार क्षेत्रमा खेती गर्ने कृषकहरूलाई कुनै पनि रासायनिक पदार्थको प्रयोग नगर्नका लागि उत्प्रेरित गर्ने खालका कार्यक्रमहरू सञ्चालन गर्न गराउन पनि विपक्षीका नाममा आदेश जारी भएको छ । कामु मुख्य न्यायाधीश राजन भट्टराई र न्यायाधीश उमेश कोइरालाको इजलासले असार मसान्तभित्रै भित्रै कार्यतालिका बनाएर साउन १ गतेदेखि नै कार्यतालिका अनुसारको काम सुरु गर्न आदेश दिएको छ ।

उक्त कार्यतालिका सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय र उच्च अदालत पोखराको रजिस्ट्रारको कार्यालयमा अनिवार्य रूपमा पेश गर्न पनि भनिएको छ । फेवातालको पानीको स्रोतको रूपमा रहेको मुहान क्षेत्र र सम्पूर्ण जलाधार क्षेत्रको संरक्षण गर्ने तथा त्यस्ता क्षेत्रमा उपयोगी मानिने रुख बिरुवाहरू रोपेर पानीको स्रोत बढाउन आदेश दिएको छ ।

फेवातालको चार किल्ला, यसको सिमाना र समग्र प्रभावित क्षेत्रमा हुने क्रियाकलापहरूको निरीक्षण र अनुगमन गर्नका लागि सर्वपक्षीय सुरक्षा गस्ती टोली बनाएर हप्तामा १ पटक निरीक्षण तथा अनुगमन गर्न भनिएको छ । प्रत्येक २ महिनामा गस्ती टोलीको प्रतिवेदन सर्वोच्च र उच्च अदालतमा पठाउन आदेश गरिएको छ ।

अधिवक्ता मनोज घर्तीमगरले तालको सिमसार क्षेत्र पुर्ने निर्णयविरुद्ध उच्च अदालतमा २०८० जेठ १७ मा रिट दायर गरेका थिए । रिटको प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अघिल्लो वर्ष जेठ १८ मा अन्तरिम आदेश जारी गरेको थियो ।

रिटमा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पर्यटन मन्त्री ताल संरक्षण तथा विकास प्राधिकरण पोखरा र प्राधिकरणका प्रमुख, पोखरा महानगरपालिकाको कार्यालय र पोखरा महानगरपालिका तथा महानगरका प्रमुख धनराज आचार्यलाई विपक्षी बनाइएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter