कृषि अनुसन्धानका लागि बजेटको अभाव

काठमाडौँ, जेठ ३१ गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले कृषि अनुसन्धानका लागि बजेटको अभाव भएको गुनासो गरेका छन् । कृषि अनुसन्धानका लागि बजेटमा वृद्धि नगरेसम्म खाद्यान्नमा आत्मनिर्भर हुन नसकिने उनीहरूको दाबी रहेको छ । देशको कुल बजेटमध्ये कृषिका लागि सरकारले ३.३७ प्रतिशत मात्र बजेट छुट्याएको छ । कृषि बजेटमध्ये नार्कका लागि ५.६६ प्रतिशत छुट्याएको छ ।

राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रका प्रमुख तथा कृषि वैज्ञानिक डा. टीकाराम चापागाईंले देशको कुल बजेटमध्ये नार्कका लागि ०.१९ प्रतिशत बजेट मात्र छुट्याएको छ, यो अनुसन्धानका लागि निकै नै कम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले हामीलाई दिएको बजेटबाट सानो स्केलमा काम गर्न सकिन्छ तर अन्तर्राष्ट्रिय रूपमै प्रतिस्पर्धा गर्ने गरी काम गर्न सकिँदैन ।”

देश खाद्यान्नमा परनिर्भर रहेको बताउँदै उहाँले आत्मनिर्भरका लागि नयाँ प्रविधिमा जानु पर्छ र नयाँ प्रविधिका लागि बजेटको आवश्यकता पर्छ जो नार्कसँग अभाव रहेको बताउनुभयो । बिहीबारदेखि सुरु हुने ११ औँ राष्ट्रिय बागवानी कार्यशाला गोष्ठीका बारेमा जानकारी गराउन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख चापागाईंले कृषिमा अनुसन्धान गर्नका लागि जनशक्ति र प्रविधिको अभाव रहेको बताउँदै अन्तर्राष्ट्रिय प्रविधि नभएका कारण अरूसँग प्रतिस्पर्धा गर्न नसकिएको बताउनुभयो ।

यद्यपि नार्कसँग भएको साधन स्रोतका आधारमा अनुसन्धानका क्षेत्रमा काम भइरहेका छन् तर त्यसले लक्ष्यमा पुग्न नसकिने बताउँदै उहाँले नार्कका लागि कम्तीमा तीन प्रतिशत बजेट आवश्यक रहेको बताउनुभयो ।

अर्का वैज्ञानिक अमर पुनले कृषि क्षेत्रका अध्ययन अनुसन्धान महँगो हुने भएकाले सरकारले बजेटमा वृद्धि गर्नुपर्ने बताउनुभयो । कतिपय अनुसन्धान बजेटको अभावमा अगाडि नबढेको अनुभव पनि नार्कसँग रहेको बताउँदै उहाँले कृषि विकासका लागि अनुसन्धान आवश्यक छ र त्यसका लागि सरकारले खर्च गर्नुपर्ने बताउनुभयो ।

परनिर्भरतालाई कम गर्नका लागि गोष्ठी तथा छलफल आवश्यक रहेको बताउँदै प्रमुख चापागाईंले ‘व्यावसायिकताका लागि बागवानी अनुसन्धान’ नाराका साथ ११ औँ राष्ट्रिय बागवानी कार्यशाला गोष्ठीको आयोजना गर्न लागिएको बताउनुभयो । नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको करिब एक चौथाइ हिस्सा छ भने बागवानीले कृषि क्षेत्रमा ३१ प्रतिशत योगदान पुर्‍याइरहेको छ ।

यद्यपि बागवानीमा सरकारले अपेक्षा अनुसार लगानी नगरेको गुनासो उहाँले गर्नुभयो । आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्ने प्रविधि विकास गर्नु बागवानी अनुसन्धानको प्रमुख लक्ष्य रहेको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter