वन क्षेत्रबाट जडीबुटीका प्रजाति हराउँदै

बाबुराम कार्की / वराहक्षेत्र, असार २ गते । रामधुनी जङ्गल क्षेत्रबाट पछिल्लो समय विभिन्न प्रजातिका रुख बिरुवा लोप भएको पाइएको छ । वन क्षेत्रमा पाइने जडीबुटी, पोथ्रा लगायत ठुला रुखहरू लोप हुँदै गएको पाइएको हो ।

सुनसरीको उत्तरी क्षेत्रमा पर्ने रामधुनी वन क्षेत्र रामधुनी, इनरुवा, वराह क्षेत्र नगरपालिका र भोक्रहा नरसिंह गाउँपालिकाको सीमा क्षेत्रमा रहेको जङ्गल क्षेत्रमा पाइने विभिन्न प्रजातिका रुख बिरुवा लोप हुँदै गएका हुन् । वनमा जताततै पाउने गरेका रानीकुसुम, साज, करम, कुसुम, खयर, पलाँस, साँदन, चाँप, वेल राजवृक्ष, हर्रो, बर्रो, भोरला, फडिर, जामुन, अँगेरी, बनकेरा, बनआँप, लगायतका वनस्पतिहरू जङ्गल क्षेत्रमा भेटिन छाडेका छन् ।

वन क्षेत्रमा मानव अतिक्रमण बढेपछि पछिल्ला एक दशक यता साज, खिरोँ, टुनी, दबदबे, डुम्री, सिन्दुरे, तेजु, पलाँस, साँदन, टाँटरी, कुसुम, कुम्भी, बनकेरा, वनआँप लगायतका नयाँ बिरुवा देखिन छोडेको स्थानीयको भनाइ छ । अझ ठुलो रुख नहुने पोथ्रा प्रजातिका बुट्यान कुट्मिरो, औलिया, रनबाँस सङ्कटापन्न अवस्थामा छ ।

वन संरक्षणका लागि समुदायलाई हस्तान्तरण गरिँदै आए पनि वन क्षेत्रका ठुला रुखहरू मासिँदै जानु, बुढा भएर ढल्नु, डढेलो लाग्नु, घाँस दाउराको रूपमा प्रयोग हुनुजस्ता कारणले घना वन पातलिँदै गएको छ ।

राज्यले वन संरक्षण गर्ने नीति नियम ल्याए पनि वन मानव सिर्जित र प्रकृति प्रकोपका कारण पातलिँदै गएको छ । रामधुनी संरक्षित वन परिषद्का अध्यक्ष डिल्ली कार्कीका अनुसार जङ्गल क्षेत्रमा हुने आगलागी, चोरी पैठारी र रुखहरू घाँस दाउराका रूपमा काटिदा विभिन्न जातका रुख बिरुवाहरू वन क्षेत्रबाट लोप हुँदै गएका हुन् ।

आगोको ताप सहनशक्ति कम भएका बोटबिरुवा जङ्गलमा आगलागी मा परी मर्ने हुँदा त्यस्ता बिरुवाहरू वन क्षेत्रबाट मासिँदै गएका छन् । “मानिसको चाप वन क्षेत्रमा बढी भएकै कारण रुख बिरुवाहरू मासिँदै छन्” कार्कीले भन्नुभयो ।

बनसँग आश्रित बाख्रापालक किसानले साना बुट्यान हुर्किन नपाउँदै काटेर लान थालेपछि बनमा जडीबुटी र घाँस प्रजातिका बोट बिरुवाहरू मासिँदै गएका छन् । बिरुवा अवस्थामै घाँसको प्रयोगका लागि साना बोट बिरुवा काटिदा बीउ नपाक्ने र अरू नयाँ बिरुवा उम्रिन नपाउँदा घाँस र जडीबुटीका बिरुवा जङ्गल क्षेत्रबाट लोप हुने अवस्थामा पुगेको वन अधिकृत सुरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

“वनमा जताततै पाइने हर्रो, बर्रो, कुसुम, ऐसेलु, कोइरालो, अमलालगायतका जडीबुटी र फलफूलजन्य बोटबिरुवा आजकल देखिँदैनन्” वराह क्षेत्र १० का रामप्रकाश कोइरालाले भन्नुभयो । ५३ वर्षीय कोइरालाले विगत सम्झँदै रामधुनी मन्दिर जाँदा कुसुम, फँडिर खाने गरेको तर अव त रुख पनि देखिन छाडेको दुखेसो पोख्नुभयो ।

साना बुट्यान नै काटेर घाँसका रूपमा किसानले प्रयोग गर्दा बहुमूल्य प्रजातिका वनस्पति सकिँदै गएको छ । वनमा आश्रित किसानलाई सचेतना कार्यक्रम र लोपोन्मुख प्रजातिका बिरुवाको वृक्षारोपणमा जोड दिनु पर्ने वन अधिकृत कार्कीले बताउनुभयो । रामधुनी जङ्गल २२ सय हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा १५ सय हेक्टर क्षेत्रफलमा सामुदायिक वन र सातसय हेक्टर क्षेत्रफलमा वन परिषद् रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter