वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ, असार ५ गते। वैदेशिक रोजगारका क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको छ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले १० बुँदे ज्ञापनपत्र बुझाएको हो ।

व्यवसायी र कामदारका विरुद्ध हुने ढिलासुस्ती, एकाधिकार तथा सबै प्रकारका सिन्डिकेटहरूको अन्त्य गर्दै यो क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री समक्ष आग्रह गरेको हो ।

वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारमा जाने कामदारको हक हितको संरक्षण, वैदेशिक रोजगारमा ऐनमा सुधार, बजार प्रवर्द्धन र लागत खर्चको आधार कामदार पठाउँदा लिने सेवा शुल्कमा समयानुकूल बृद्धि लगायतका व्यवसायीहरूका जायज मागहरू सम्बोधन गर्न मञ्चले माग गरेको छ ।

व्यवसायीहरूको निरन्तरको आग्रहपछि समेत मागहरूको प्रभावकारी सुनुवाइ हुन नसकेको भन्दै मञ्चले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

वैदेशिक रोजगारमा जाँदा लाग्ने कामदारको खर्च शीर्षक निर्धारण गर्न मञ्चले माग गरेको छ । त्यस्तै वैदेशिक रोजगार ऐन २०६४ मा रहेका पूर्व र अन्तिम स्वीकृति जस्ता झन्झटिला कार्यविधि हटाई समय सापेक्ष परिवर्तन गर्न समेत माग गरिएको छ ।

व्यक्तिगत श्रम स्वीकृतिको नाममा अनधिकृत रूपमा स्वीकृति दिने कार्यले मानव तस्करी बढिरहेको मञ्चको ठहर छ । त्यसैले व्यक्तिगत श्रम स्वीकृतिको नाममा जोखिमयुक्त रूपमा विदेश पठाउने कार्यलाई तत्काल बन्दगरी संस्थागत रूपमा पठाउन निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउन मञ्चले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै महिला कामदारहरूलाई सहज ढङ्गबाट व्यवसायीहरू मार्फत मात्रै वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाउन समेत मञ्चको माग छ । युरोपका विभिन्न देशको भिसा लगाउन ठुलो रकम खर्च गरेर भारत जानुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न युरोपेली देशहरूको भिसा कन्सुलर शाखा नेपालमा स्थापना गर्न कूटनीतिक पहलका लागि ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले व्यवसायी र कामदारको हकहितको पक्षमा हुने कामहरू गरिने बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter