समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

काठमाडौँ, असार ६ गते । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । आज बसेको परिषद् बोर्डले बैठकको कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषद्का अध्यक्ष भगवती चौधरीको अध्यक्षतामा बसेको बैठकले सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने कार्य अगाडि बढाएको हो ।
उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोलीसमेत खटाएको छ । बैठकले परिषद्लाई थप व्यवस्थित गर्नका निम्ति डिजिटलाइजेशनमा लैजाने प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ । मन्त्री चौधरीको पहलमा परिषद्को कामकारबाही थप व्यवस्थित गर्न डिजिटलाइजेनशनमा लैजान यसअघि परिषद्लाई निर्देशन दिनुभएको थियो ।
साथै, बैठकले परिषद्का पदाधिकारीहरूको कार्य विभाजनसमेत परिवर्तन गरेको छ । जसअनुसार अध्यक्ष र सदस्य सचिवमा निहित अधिकारहरू उपाध्यक्ष, कोषाध्यक्ष र बोर्डका सदस्यहरूलाई अधिकार प्रत्यायोजन गर्न प्रक्रिया अगाडि बढाएको छ ।