भैँसी पालनबाट मनग्य कमाइ गरेका टोपेन्द्र भन्छन् –’मलाई कुवेत पनि यहीँ, दुबई पनि यहीँ छ’

पंखबहादुर शाही / सुर्खेत, असार ९ गते। अहिले धेरैजसो पढेलेखेका युवाहरूको रोजाई हुन्छ—कि सरकारी जागिर, कि त विदेश जाने । देशमा बस्ने वातावरण नभएको भन्दै धेरैजसो युवापुस्ता विदेश गइरहेका बेला कतिपय युवाले भने गाउँमै बसेर पनि उदाहरणीय कर्म गरिरहेका छन् । त्यसै मध्येका एक पात्र हुन्—भेरीगङ्गा नगरपालिका–११, चिप्ले गाउँका ३३ वर्षीय टोपेन्द्र राना ।

सुर्खेत बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा बिएडसम्मको पढाइ गरेका राना यतिबेला भैँसी पालनमा रमाइरहेका छन् । घरको आँगनमै उनको राना कृषि तथा पशुपन्क्षी पालन फर्म छ—जहाँबाट उनी मनग्य आम्दानी मात्रै गरेका छैनन्, केही गर्न चाहने युवाहरुका लागि प्रेरणाको स्रोत बनेका छन् । चार वर्षअघि दुई वटा भैँसीबाट व्यावसायिक भैँसी पालनमा अग्रसर भएका रानासँग अहिले २५ वटा भैँसी र ७ वटा गाई छन् । जसमा ११ वटा भैँसी र चार वटा गाई दुहुना छन् ।

युट्युब हेरेर व्यावसायिक भैँसी पालन

टोपेन्द्र राना गाउँमा रोजगारी सिर्जना नहुने देखेपछि ०७३ सालतिर कुवेत गए । २ लाख ८० हजार खर्चेर विदेश गएका उनलाई त्यहाँ काम गर्दा मान्छेले गर्ने व्यवहार र हेपाइबाट वाक्क लाग्न थाल्यो । उनी भन्छन्, ‘चर्को गर्मीमा निकै दुख गरेर काम गर्दा पनि मालिकबाट मिठो वचन कहिल्यै नसुनिने, हेप्ने, गाली गर्ने । त्यो मलाई मन पर्दैनथ्यो, अनि मनका अनेक कुराहरू खेल्थे ।’

त्यही बेला (०७६) कोराना भाइरस (कोभिड–१९)ले गर्दा लकडाउन भयो । कम्पनीको काम बन्द भएपछि कोठामा खाली बस्नुपर्ने भयो । कोठमा बस्दै गर्दा उनको मनमा अनेक कुरा खेल्न सुरु भयो, अब विदेशमा बसेर हुन्न, गाउँमै केही गर्नुपर्छ भन्ने सोचाइ आयो । अनि युट्युबमा विभिन्न खालका पशुपालन र कृषि सम्बन्धी ज्ञानमुलक भिडियोहरु हेर्न थालेको उनले बताए ।

उनी भन्छन्, ‘युट्युबमा पशुपालन कसरी गर्ने ? लगानी गरेर प्रतिफल कसरी प्राप्त गर्ने लगायतका विभिन्न ज्ञानमुलक कुराहरू हेरें । त्यसपछि गाउँ फर्केर भैँसी पालन र बङ्गुरपाल्ने योजना बन्यो । तर घरमा पहिलानै दुई वटा भैँसी भएकाले भैँसी नै पाल्ने योजनासहित ०७७ सालतिर नेपाल फर्किएँ ।’ घर आएपछि बुढाबुढीको सल्लाह भयो—अब भैँसीहरु थप गरेर व्यावसायिक रुपमै काम गर्ने ।

उनका अनुसार त्यही बेलामा नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि क्षेत्र विकास कार्यक्रमले किसानहरूलाई सहयोग गर्ने कार्यक्रम आयो । उनलाई थप काम गर्ने उत्साह थप्यो, उक्त कार्यक्रमले । सहलगानी (आधा–आधा) मा आधारित कार्यक्रम लागु भएपछि उनले कृषि विकास बैँकबाट ९ लाख ऋण लगे । उक्त रकमबाट चार लाख लगानी गरी दुग्ध सङ्कलन केन्द्र निर्माण गरे, तीन लाखका तीनवटा (प्रति लाख भैँसी) भैँसी थप गरे ।

कृषि क्षेत्र विकास कार्यक्रमले घाँस काट्ने मेसिन, भकारो निर्माण, दुध राख्ने क्यान, औषधी खरिद, नस्ल सुधार, उन्नत खाले धाँस खेतीदेखि प्राविधिक तालिममा सहयोग ग¥यो । कृषि विज्ञहरूबाट कसरी पशुपालनमा अग्रसर हुने भन्नेदेखि वित्तीय, व्यावसायिक साक्षरताका विषयमा ज्ञान सिप सिक्ने अवसर प्राप्त भएको उनले बताए । ‘हामीलाई खासै ज्ञान थिएन, कसरी व्यावसायिक भैँसी पालन गर्ने भन्ने विषयमा तालिमबाट उत्प्रेरणा मिल्यो,’राना भन्छन् ।

उनका अनुसार अहिलेसम्म संरचना निर्माण, भैँसी खरिददेखि सबैगरी करिब ५० लाख बराबरको लगानी भएको छ । केही दिनअघि हामी उनको फर्ममा पुग्दा उनी र उनकी श्रीमती भूमिका राना गाई–भैँसी रेखदेखमै व्यस्त थिए । भूमिका मेसिनमा घाँस काटिरहेकी थिइन् भने टोपेन्द्र गाई–भैँसीलाई पानी खुवाइरहेका थिए । यो उनीहरूको दैनिकी नै हो । बिहान चार बजेदेखि बेलुका ७ बजेसम्म राना दम्पती गाई–भैँसीको रेखदेखमै व्यस्त हुन्छन् ।

रानाका अनुसार बिहान चार बजेदेखि ६ बजेसम्म गाई–भैँसी दुहुने काम हुन्छ । त्यसपछि एक जना दुध लिएर घर नजिकैको डेरी (सङ्कलन केन्द्र)मा जान्छन् भने एक जना गोबर सोहर्नेदेखि पानी खुवाउने, भकारो सोर्ने काममा खटिन्छन् । ८ बजेसम्म सबै काम सकिसकेपछि टोपेन्द्र सङ्कलन केन्द्रमा खटिन्छन्—जो उनैले स्थापना गरेका हुन् । अहिले उक्त सङ्कलन केन्द्रमा गाउँभरिको दुध सङ्कलन भई वीरेन्द्रनगर बजार जान्छ । ९ बजे घर फर्की खाना खाने, त्यसपछि घाँस काट्ने, खुवाउने, कुँडो खुवाउने काम १२ बजेसम्म हुन्छ । त्यसपछि दिउँसो तीन बजेसम्म आराम गर्ने र त्यसपछि पुनः गोबर सोहोर्ने, भकारो सफा गर्ने कार्य हुन्छ ।

चार बजेदेखि पुनः गाई–भैँसी दुने र ६ बजे दुध सङ्कलन केन्द्रमा लिइन्छ । एक जना पुनः घाँस पानी दिई ७ बजे सबै काम सकिन्छ । रानाले अहिले एक जना सहयोगी पनि राखेका छन् । ‘दुधको बजारीकरणका लागि कुनै समस्या छैन, यहाँबाट सिधै वीरेन्द्रनगरमा जान्छ,’राना भन्छन्, ‘म मात्रै हैन गाउँभरिको दुध सङ्कलन हुन्छ ।’

दुध, पाडादेखि गोबरसम्म बिक्री

रानाको फर्मबाट अहिले दैनिक ८० लिटर बढीको दुध उत्पादन हुन्छ । अझ साउनदेखि फागुनसम्म १०५ लिटर भन्दा बढी दुध उत्पादन हुने गरेको राना दम्पती बताउँछन् । अहिले ७ वटा ब्याउने भैँसी छन् भने रानाले नस्ल सुधारका लागि भारतबाट ल्याइएको मुर्रा राँगो पनि पालिरहेका छन् । उक्त राँगा पनि कृषि क्षेत्र विकास कार्यक्रमको सहयोगमा ल्याइएको हो । उनका अन्सार दुध प्रति लिटर ६५–६८ रुपैयाँमा बिक्री हुन्छ । उक्त चिप्ले गाउँबाट दैनिक ५ सय लिटर दुध उत्पादन हुन्छ ।

राना दम्पतीले दुधबाट मात्रै मासिक १ लाख ५५ हजार जति आम्दानी गर्ने गरेको बताउँछन् । यद्यपि भैँसीका लागि दानपानी, घर खर्च गरी ५० हजार रकम खातामा जम्मा हुने गरेको भूमिका बताउँछिन् । राना दम्पतीले दुध मात्र होइन् घाँस, गाई–भैँसीको गोबरसम्म बिक्री गर्ने गरेको सुनाए । यो वर्ष १ लाख भन्दा बढीका त भैँसीका पाडाहरु मात्रै बिक्री गरेको छन्, उनीहरुले । १२ रोपनी आफ्नै जमिनमा उन्नत जातको घाँस खेती गरेका रानाले आफ्नो भैँसीलाई पुगेर पनि बिक्री गर्ने गरेको सुनाए । यस्तै घाँसको वीउ समेत बिक्री गर्ने गरेको उनको भनाइ छ ।

अचम्मको कुरा के छ भने राना दम्पतीले गाई–भैँसीको गोबर बेचेर पनि मनग्य आम्दानी गरिरहेको छ । टोपेन्द्रका अनुसार आफूले पालेको भैँसीबाट वर्षमा ४० ट्याक्टर बढीको गोबर उत्पादन हुन्छ । प्रति ट्याक्टर गोबर ७ हजारमा बिक्री हुने गरेको उनले बताए । ‘मेहनत र आइडिया भएपछि जताततै पैसा नै पैसा हुने रहेछ,’मुस्कुराउँदै उनी भन्छन्, ‘यो वर्ष १० ट्याक्टर गोबर बेचिसकेँ ।’ गोबरको माग अत्यधिक बढेको तर आफूले बारीमा प्रयोग गरेर बचेको गोबर मात्रै बिक्री गर्ने गरेको उनको भनाइ छ ।

मलाई कुवेत पनि यहीँ, दुबई , कतार पनि यहीँ

कुनै बेला रोजगारीका लागि कुवेत गएका टोपेन्द्र राना अहिले आफूलाई कुवेत, कतार सबै यहीँ भएको बताउँछन् । कुवेतमा उनको मासिक तलब ४५ हजार नेपालीसम्म हुन्थ्यो भने ४० हजार जति बचत हुन्थ्यो । तर अहिले उनले मासिक लाखौँ आम्दानी गरिरहेका छन् भने आफै मालिक पनि बनेका छन् । ‘अर्काको ठाउँमा भनाइ खानुपर्ने, जति गरेपनि नदेख्ने, अहिले सबैभन्दा ठुलो आफ्नो गाउँ अनि परिवार साथमा छ,’टोपेन्द्र भन्छन्, ‘मजाले दही, दुध खाइएको छ, परीवारसँगै रमाउन पाइएकै छ, मलाई अहिले कुवेत पनि यहीँ लागेको छ कतार पनि यहीँ छ ।’ राना दम्पतीका एक छोरा एक छोरी र बुबा–आमा गरी ६ जनाको परिवार छ । भैँसी पालनबाट नै उनीहरुले छोराछोरीलाई बोर्डिङ्ग स्कुल पढाएका छन् भने केही गरगहनादेखि जमिन समेत जोडेका छन् ।

रानाको युवाहरुलाई सन्देश छ—लगनशील भई विदेशमा गएर गर्ने मेहनत गरे आफ्नै देशमा मालामाल भइन्छ, विदेश जानु पर्दैन । विदेश जाँदा लाग्ने ३–४ लाख रकमले तीन वटा भैँसी खरिद गरेर व्यावसाय सुरु गरे मात्रै मासिक २०–४० हजार मजाले कमाउन सकिने उनको भनाइ छ । राना दम्पतीले अहिले भइरहेको व्यवसायलाई थप विस्तार गर्ने योजना सुनाए ।

भूमिका राना अहिले कोपिला भैँसी पालन समूहकी अध्यक्ष छिन् । ब्याचलरसम्मको अध्ययन गरेकी उनले अन्य महिला दिदीबहिनीहरुलाई पनि व्यावसायिक बन्न प्रेरणा दिइरहेकी छिन् । उनको समूहका २० जना छन् । उनी भन्छिन्, ‘अहिले त मेरा छोराछोरी पनि मम्मी हामी पनि हजुरहरू जस्तै भैँसी पालन गर्ने हो भन्न थालिसकेका छन् ।’ साभार ः रातोपाटी डट कम

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter