नेपाल–चीन कूटनीतिक सम्बन्धको स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाइने

काठमाडौँ, असार ११ गते । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाइने भएको छ ।

मंगलबार बसेको नेपाल–चीन परराष्ट्र मन्त्रालय अन्तर्गत कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सन् २०२५ लाई नेपाल भ्रमण वर्ष मनाउने सन्दर्भमा चीनमा नेपालको पर्यटन सम्भावना, प्रवर्द्धनका साथै व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा बसेको सो बैठकमा दुवै पक्षले नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्धको समग्र पक्षको समीक्षा गर्नुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति र विगतमा भएका निर्णयहरूको मूल्याङ्कन र समीक्षासमेत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै देशले आपसी सहमति भएका क्षेत्रमा सहयोगलाई थप प्रवर्द्धन गर्ने, पारस्परिक लाभका लागि आर्थिक अवसरको प्राप्तिमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । दुवै प्रतिनिधिमण्डलले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका बलियो आधार, पञ्चशील, आपसी विश्वास, सद्भाव र समझदारीलाई नेपाल–चीन द्विपक्षीय सम्बन्धका प्रमुख विशेषता रहेको दोहोर्‍याएका छन् ।

बैठकलाई नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै परराष्ट्र सचिव सेवा लम्सालले सन् २०२६ मा नेपालको एलडीसी पास भएपछि विकास सहयोग अभिवृद्धि गर्न चिनियाँ पक्षको प्रतिबद्धताका लागि धन्यवाद दिएकी थिइन् ।

चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरे । दुवै पक्षले उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको परम्परालाई कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।

दुवै पक्षले विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र परराष्ट्र मन्त्रीस्तरमा संयुक्त आयोगलगायत नयाँ संयन्त्र बनाउनेमा पनि छलफल गरेका छन् । परराष्ट्र सचिव लम्सालले भ्रमणमा रहेका चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज आयोजना गरेकी थिइन् । चिनियाँ प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्किने बताइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter