बेरुजु फछ्र्यौट गर्न तदारुकता देखाइनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ, असार १५ गते । सङ्घीय संसद् प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारी बेरुजु बढ्दै जानु चिन्ताको विषय रहेको बताउनुभएको छ । महालेखापरीक्षकको कार्यालयको ६६औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले बेरुजु बढिरहेका विषयलाई सार्वजनिक निकायका जिम्मेवार पदाधिकारीले गम्भीररुपमा लिनुपर्छ भन्नुभयो ।

“प्रत्येक वर्ष बेरुजुको अङ्क बढ्दो रूपमा रहेको छ । सार्वजनिक निकायका जिम्मेवार पदाधिकारीले यसलाई गम्भीर रूपमा लिनुपर्छ । सकभर बेरुजु हुनै नपाउने गरी काम गर्नुपर्छ र हालसम्मको बेरुजुलाई समयमा नै फछ्र्यौट गर्न सबै निकायबाट तदारुकता देखाइनुपर्छ”, सभामुख घिमिरेले भन्नुभयो,“बेरुजु घटाउन महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमार्फत दिइएका सुझाव कार्यान्वयन गरी आर्थिक अनुशासन पालना र जबाफदेहिता कायम गर्न आग्रह गर्दछु ।” स्थानीय तहमा लेखासमितिको काम प्रभावकारी हुन नसकेको पनि उहाँले बताउनुभयो ।

बेरुजु हुनै नदिने र हालसम्म कायम बेरुजुको फछ्र्यौटलाई तीव्रता दिन पर्याप्त जनशक्ति व्यवस्थापनसँगै सम्बन्धित निकायका प्रमुख तथा लेखा उत्तरदायी अधिकारीले जिम्मेवारी बोध गर्नुपर्ने उहाँको भनाइ छ । संविधानले तोकेको जिम्मेवारी गम्भीरताका साथ पूरा महालेखापरीक्षकको कार्यालयलाई समेत उहाँले आग्रह गर्नुभयो । तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा आधारित महालेखापरीक्षक कार्यालयको ६१ औँ प्रतिवेदनअनुसार हालसम्मको बेरुजु ११ खर्ब ८३ अर्ब २६ करोड रहेको छ ।

गत आर्थिक वर्ष २०७९÷८० मा मात्रै अद्यावधिक बेरुजु ९५ अर्ब ६० करोड २१ लाख र कारबाही टुङ्गो लगाउनुपर्ने लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्नेलगायत रकम एक खर्ब ४० अर्ब ९५ करोड ३० लाख बराबर पुगेको छ । अर्थात् गत आर्थिक वर्षमा मात्र दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख बराबर बेरुजु थपिएको छ । गत आर्थिक वर्षमा महालेखाले तीनवटै तहका पाँच हजार छ सय पाँच वटा निकायको कूल रु ७८ खर्ब ८१ अर्ब ८० करोड बराबर लेखापरीक्षण भएको थियो ।

कार्यक्रममा सङ्घीय संसद्, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्न लेखा परीक्षकको कार्यालयले महत्त्वपूर्ण भूमिका खेलेको जनाउनुहुँदै कार्यालयको काम थप प्रभावकारी रूपमा अघि बढ्न सक्नुपर्छ भन्नुभयो ।

“तीनवटै तहका सरकारबिच समन्वयकारी भूमिका खेल्नसक्ने निकायका रूपमा पनि महालेखापरीक्षकको कार्यालय रहेको छ । अब हामी निरन्तरतामा रम्ने होइन, यसलाई बदल्नुपर्छ । परिवर्तिन कार्यशैलीले मात्रै प्रभावकारी नतिजा देखाउन सक्छ”, सभापति पोखरेलले भन्नुभयो, “यो संस्थालाई थप स्वायत्त बनाइनुपर्ने र सङ्घीय संरचनाअनुसार आफ्ना काम कारबाही अगाडि बढाउने गरी लैजानुपर्छ ।” महालेखापरीक्षकको कार्यालयले वार्षिक प्रतिवेदनमार्फत मात्रै सरकारलाई सुझाव दिने नभई आवश्यकताअनुसार अन्य बेला पनि प्रतिवेदन तयार गर्न सक्नुपर्ने र सार्वजनिक पदको पनि छानबिन गर्न सक्नुपर्ने उहाँको भनाइ छ ।

महालेखापरीक्षकको प्रतिवेदन लामो समयदेखि संसदीय समितिमा छलफल हुन नसकेको सभापति पोखरेलले बताउनुभयो । सार्वजनिक लेखा समितिमा अहिले ६० औँ प्रतिवेदन माथि छलफल भइरहेको उल्लेख गर्नुहुँदै उहाँले प्रतिवेदनमाथि समितिमा छलफलमा ढिलाइ हुँदा सुझाव कार्यान्वयन गर्न ढिला हुने र प्रतिवेदनका सुझावको औचित्यसमेत सकिने उहाँको भनाइ छ । अहिले सार्वजनिक निकायका कर्मचारी बेरुजु कायम गर्नेलाई दण्डित गर्नुको साटो भएको बेरुजु कसरी फछ्र्यौट गर्ने भन्नेतर्फ बढी केन्द्रित हुने गरेको उहाँले बताउनुभयो ।

बेरुजु हुनै नदिने र बेरुजु बढेमा सम्बन्धित लेखा उत्तरदायी अधिकारीलाई जिम्मेवार बनाइनुपर्ने पोखरेलको भनाइ छ । महालेखापरीक्षक तोयम रायाले आगामी दिनमा लेखापरीक्षण प्रणालीलाई थप परिष्कृत र प्रभावकारी बनाउँदै लगिने छ भन्नुभयो । महालेखापरीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमार्फत औँल्याएका समस्या समाधानका लागि संसद् र संसदीय समितिको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ ।

महालेखापरीक्षक रायाले तीनवटै तहअन्तर्गतका सरकारी कार्यालयको लेखा कानुनबमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको विचार गरी लेखापरीक्षण हुने गरेको छ भन्नुभयो । वार्षिकोत्सवका अवसरमा उत्कृष्ट हुने कर्मचारीलाई पुरस्कृत गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter