राष्ट्रिय जनगणनाको प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक

काठमाडौँ, असार २० गते । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक गरेको छ । जनगणनाको पूर्वतयारीदेखि सम्पन्न हुँदासम्मको सम्पूर्ण प्रक्रियाको अभिलेखीकरण, कामको विस्तृतीकरण, जनशक्ति आकलन, जनगणनाको लागत र व्यवस्थापन, सार्वजनिक खरिद, जोखिम व्यवस्थापन, जनसहभागितालगायतका विषयहरू समेटेर पुस्तक तयार पारिएको कार्यालयले जनाएको छ ।

जनगणना सञ्चालन गर्दा प्रारम्भदेखि अन्त्यसम्म हासिल गरिएका अनुभव र सिकाइले भावी जनगणनाका लागि ऐतिहासिक आधार र नीति निर्माता एवम् निर्णयकर्ताका लागि पथ प्रदर्शन हुने भएकाले यो ऐतिहासिक दस्ताबेजका रूपमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेलले बताउनुभयो ।

“जनगणनाका क्रममा असल अभ्यास पछ्याउने र कमी कमजोरी हटाउँदै जानका लागि यो महत्त्वपूर्ण दस्ताबेज हो । हाम्रो संस्थागत संस्मरण (इन्सिच्युसनल मेमोरी) कमजोर भएको अवस्थामा भावी दिनमा काम गर्न सहयोग हुने अपेक्षा छ”, पोखरेलले भन्नुभयो, “मुलुकको समग्र विकास र सेवा प्रवाहका लागि जनसाङ्ख्यिक तथ्याङ्कले ठुलो योगदान गर्छ । नीति निर्माताका लागि तथ्याङ्क सबैभन्दा पहिलो र महत्त्वपूर्ण आधार हो ।”

नेपालको जनगणनासम्बन्धी संस्थागत सिकाइ र अध्ययन अनुसन्धानका लागि पनि यो पुस्तक उत्कृष्ट दस्ताबेज रहेको उहाँको भनाइ छ । जनगणनाका लागि प्रश्नावली निर्माण, तालिम सञ्चालन, स्थलगत तथ्याङ्क सङ्कलन, समय र लागतआदिको प्रभावकारिता मूल्याङ्कन गर्न र भविष्यमा सञ्चालन गरिने जनगणनाका लागि आधार दस्ताबेजको रूपमा रहने अपेक्षा कार्यालयले गरेको छ ।

त्यस्तै, जनगणनाको पैरवी र प्रचारप्रसारसम्बन्धी रणनीति, समन्वय संयन्त्र, विकास साझेदारहरूको संलग्नता, नतिजाको सार्वजनीकरणलगायत बारे यस पुस्तकले जानकारी दिनेछ । पुस्तक सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले नेपालको जनगणना २०७८ ले केही महत्त्वपूर्ण मानक स्थापित गरेको बताउनुभयो । “प्रविधिको प्रयोग र जनगणनाका लागि तयार पारिएको सामुदायिक प्रश्नावलीले तथ्याङ्क सङ्कलनमा फरक मानक बनाएको छ । यो ठुलो फड्को (डिपार्चर) हो”, उहाँले भन्नुभयो ।

जनगणनाबाट सङ्कलित तथ्याङ्क शासकीय प्रबन्धको महत्त्वपूर्ण औजार रहेको उहाँको भनाइ छ । जनगणना गर्दा राज्यलाई पार्ने आर्थिक भार र संवैधानिक मर्यादा तथा जिम्मेवारीबारे छुट्टै अध्ययन हुनुपर्ने आवश्यकता सचिव अर्यालले औँल्याउनुभयो । तथ्याङ्क सङ्कलन गर्दा विभिन्न प्रशासनिक निकायका अभिलेखलाई पनि हेर्नुपर्ने र त्यस्ता अभिलेखबाट तथ्याङ्क विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रिय जनगणना गर्नका लागि देशभित्रै जनशक्ति तथा क्षमता विकास भएको र अब बाह्य परामर्शदाताको सहयोग लिनुपर्ने अवस्थाको अन्त्य भएको अर्यालले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter