घट्यो महँगी, ११ महिनामा मुद्रास्फीति ४.१७ प्रतिशतमा सीमित; ११ महिनाको विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब

काठमाडौँ , असार २६ गते । चालू आर्थिक वर्ष २०८०–८१ को जेठ महिनामा मुद्रास्फीति घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालू वर्षको ११ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले अघिल्लो वर्षको सोही महिनाको अवधिमा मुद्रास्फीति घटेको जानकारी दिएको हो ।

तथ्यांकअनुसार यो ११ महिनामा मुद्रास्फीति ४.१७ प्रतिशत छ । जुन, अघिल्लो वर्षको सोही महिनामा ६.८३ प्रतिशत थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैह्र–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.०२ प्रतिशत छ ।

यस्तै दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैह्र–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ । यस्तै घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको छ ।

रेमिटेन्स आयात १९ प्रतिशतले बढ्यो, ११ महिनामा १३ खर्ब २७ अर्ब भित्रियो

चालू आर्थिक वर्षको ११ महिनामा विप्रेषण आप्रवाह (रेमिटेन्स) १९.३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४२२,९३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २६२,७०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४५९,४१५ र २६०,२६२ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई रु.१४४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भएको थियो ।

११ महिनाको विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब, डेढ वर्षको आयात धान्न पुग्ने

चालू आर्थिक वर्षको ११ महिनासम्मको विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा पछिल्लो ११ महिनामा २७.८ प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई रु.१७५२ अर्ब ७७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ ले वृद्धि भएको हो ।

चालु वर्षको ११ महिनाको आयातका आधारमा मौज्दात सञ्चितिले १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने केन्द्रीय बैंकले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter